|

काठमाडौं : पछिल्लो दुई हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ।

बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक ५० अंकभन्दा बढीले बढे पनि कारोबार रकममा भने खासै सुधार भएको छैन। बुधवार २ अर्ब ३५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। जसमा वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०६ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत र लगानीको ४.२ प्रतिशत बढेको छ।  व्यापार, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

बिहीबार कारोबारमा आएको इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलोपर्स, प्रोग्रेशिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। 

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। नेपाल टेलिकम र एनआइसी एशियाको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.