|

म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्यायलाई डेढ दशक अघिसम्म  गाउँको जलकुनीमा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले कुरुङदीमा घर बनाएको याद ताजै छ।

सोही गाउँका ७६ वर्षीय टेकबहादुर कार्कीलाई पनि घरको सिरानमा रहेको पाखो र खहरेखोलामा रहेका तीन वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको झलझली सम्झना आउँछ।  तर आजभोलि न जलकुनीमा पानीको कुवा छ न त पाखो र खहरेखोलामा पोखरी नै छन्।

पहिले पहिले पानीको छेलोखेलो हुने बगरफाँट गाउँ हिजोआज एक गाग्री पानीको लागि कि त म्याग्दी नदीमा जानुपर्ने कि खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छ। गाउँका टोलटोलमा खानेपानीका धारा त छन् तर ती धारामा हप्ताको दुईदिन पानी खस्यो भने पाँच दिन सुख्खा हुन्छन्।

गर्मी सुरु भएसँगै बगरफाँटमा खानेपानीको हाहाकार सुरु भएको छ। बगरफाँटमा मात्रै होइन जिल्लाका दुई दर्जनबढी गाउँहरुमा खानेपानीको समस्या सुरु भइसकेको स्थानीयले बताएका छन्।

जलवायु परिवर्तन, वनजङ्गल विनास र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ। कतिपय खोला त मुहान सुकेर सुक्खा बनेका छन्।

पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढ्दै गएको छ। खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ। वर्षौंदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कदै गएको हो।

वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मैसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय बासिन्दा काकाकुल बन्ने अवस्था रहेको बेनी नगरपालिका ३ तोराखेतका पदम सापकोटाले बताए।

‘गर्मी सुरु भएको छैन, गाउँमा खानेपानीको समस्या सुरु भइसक्यो, अबको ४ महिना हामीलाई निकै सकस हुन्छ।’

बगरफाँट र तोराखेतमा मात्रै होइन बेनपा– ६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत म्याग्दीमा दर्जनौं गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको समस्या झेल्दै आएका छन्। पानीका मुहान सुक्न थालेपछि स्थानीयवासी पानीका लागि घण्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन्।

अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीयवासी खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन्। जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले स्थानीयवासी समस्यामा परेका हुन्।

केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा पनि अप्राकृतिक समस्या देखिन थालेका वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन्। खासगरी २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा भरत दाहालले बताए।

त्यसैगरी दुईवर्ष अघिको बाढीपहिरो र खडेरीले पनि मूल सुक्दै गएपछि यहाँ पानीको समस्या उत्पन्न भएको उनको भनाइ छ। मूलहरु पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन् उनले भने।

कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौं पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्।

खानेपानीको मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीहरुको भनाइ छ। उनीहरुका अनुसार वनजङ्गल विनास र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ।

डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका उनीहरुको भनाइ छ।

विकासको नाममा स्थानीय तहले डोजर आतंक मच्चाएका छन्। सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्। मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन्।

जहाँ पानीका मूल र वन क्षेत्र छ, त्यही सडक लगेका छन्। यही गतिले सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको प्रवल सम्भावना रहेको स्थानीयवसीको भनाइ छ।

जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना छैनन्। भएका योजना पनि मर्मत संभार र मुहान सुक्दा बन्द भएका छन्। अधिकांश विद्यालयमा समेत पानी छैन। डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुँदा बालबालिका घरबाटै बोकेर पानी लैजानुपर्ने बाध्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.