|

म्याग्दी : जिल्लाको मंगला गाउँपालिका ५ अर्मनका किसानले यस वर्ष रु ८० लाखको सुन्तला गाउँबाट नै बिक्री गरे। यस अघिका वर्षमा ३० देखि ५० लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्ने गरेका अर्मनेली किसानहरूले सुन्तलाका बोटमा मल र विषादीको रूपमा मानव मूत्रको प्रयोग गर्न थालेछि उत्पादन बढेको र मुनाफा बढी भएको बताए।

मंगला गाउँपालिकाको अर्मन,  आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानव मूत्रको प्रयोग गरी खेती गर्न सुरु गरेपछि यहाँ मानव मूत्रको पनि खरिद बिक्री सुरु भएको छ।

अर्मनमा विशेष गरी सुन्तला खेतीमा मानव मूत्रको प्रयोग गर्ने क्रम बढ्दै गएको छ।  गाउँबाट गएको वर्ष करिब ५० लाख रुपैयाँको सुन्तला बिक्री गरिएको र यस वर्ष उत्पादन राम्रो भएकाले करिब ८० लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य रहेको अर्मन सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष धनबहादुर रोकाले जानकारी दिए।

रोकाका अनुसार मानव मूत्रको प्रयोगले सुन्तला मात्रै होइन खाद्यान्न बालीमा समेत राम्रो प्रभाव परेको र उत्पादनमा वृद्धि भएको छ।

अर्मनमा करिब ६० घरधुरी कृषकले व्यावसायिक रूपमा सुन्तला खेती गरेका छन्। उनीहरुले खाद्यान्न बाली,तरकार खेती, पशुपालनका साथै सुन्तला खेती पनि गरेकाले यहाँका कृषकहरुको आम्दानीको स्रोत बढ्दै गएको स्थानीय वुद्धिजीवि टेकप्रसाद सापकोटाले बताए।

यहाँका सबै घरका शौचालयमा मानवमूत्र संकलनका लागि ट्यांकी बनाइनुका साथै ड्रम वा ग्यालिन राखिएको छ। सुन्तला र खाद्यान्न विक्रि गरेर यसवर्ष यहाँका सबै किसानले गएको वर्षको भन्दा राम्रो आम्दानी गरेका छन्।

सुन्तला बगैचामा मलको रुपमा मानव मूत्रको प्रयोग गरेपछि गएको वर्षको भन्दा यस वर्ष दोब्बरले सुन्तला उत्पादन वृद्धि भएको मंगला गाउँ कार्यपालिका सदस्यसमेत रहेका खोलखर्कका सुन्तला उत्पादक कृषक रत्नबहादुर विश्वकर्माले बताए। सुन्तला उत्पादन राम्रो भएपछि बर्सेनि यहाँका कृषकले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती विस्तार गर्न थालेको उनले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्लामै पहिलोपटक अर्मनमा तीन वर्षअघि २०७५ सालदेखि मानवमूत्र संकलन गर्न थालिएको थियो।

अहिले यो अभियान उपलब्धिमूलक बनेको छ। विद्यालय र सार्वजनिक स्थानमा मानवमुत्र संकलनका लागि प्लाष्टिकको ग्यालिन (जर्किन) राखेको छ।

 शौचालयमा मूत्र विर्सजन गर्नुका साटो स्थानिय र बटुवाहरुले समेत जर्किन (ग्यालिन)मा गर्ने गरेका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

एकलिटर पिसाबमा ३ लिटर पानी मिसाएर बोटविरुवा र बालीमा राख्न सकिने उनले जानकारी दिए।

पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको अध्यक्ष रोकाले बताए।

 ‘अर्मनको शिशुकल्याण माविमा संकलन गरिएको मानवमूत्र प्रतिलिटर २५ रुपैयाँमा खरिद गरी सुन्तला खेतीमा प्रयोग गर्यौ, यसले उत्पादन राम्रो दियो सबै कृषक खुसी छौं,’ गाउँपालिका अध्यक्ष रोकाले भने।

उनका अनुसार अर्मनका प्रत्येक घरघरमा मानव मूत्रको खरिद बिक्री हुने गरेको छ। आवश्यकता परेको वा कम मानवमूत्र संकलन भएको घरका कृषकले अर्को घरबाट मानवमूत्र खरिद गरेर खेतबारीमा प्रयोग गर्ने गरेका छन्। 

सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि यहाँका कृषक थप उत्साहित बनेका छन्। समुद्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाई मंगला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरी विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। 

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको बताए।

‘मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ,’ बानियाँले भने। प्राविधिक बानियाँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस हुने भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ।

एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ। 

घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मूत्र संकलन गर्दा राम्रो हुने भएपछि पालिकाले समेत यो अभियानलाई प्राथमिकता दिएको कृषि प्राविधिक बानियाँले बताए। ‘कोरोनाको कारण विस्तारमा समस्या भएको थियो, अब सबै बस्तीलाई यो प्रविधिका बारेमा जानकारी दिन्छौँ,’ बानियाँले भने।

पहिलो चरणमा सामुदायिक विद्यालय, दोस्रो सामुदायको चहलपहल हुने स्थान र तेस्रोमा हरेक स्थानीयको घरदैलोमै संकलन केन्द्र बनाउने पालिकाको योजना रहेको छ। हरेक वडाभित्र मानवमूत्रको प्रयोगमा सघाउने गरी समिति बनाउने तथा समय समयमा प्राविधिक तालिम समेत प्रदान गर्ने गाउँपालिकाले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.