|

काठमाडौं : नेपालमा पछिल्ला दिनमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरूले सुझाएका छन्।

सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्डअनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उनले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए। नेपालमा केही दिन यसको सम्भावना भएकाले सतर्क रहनुपर्नेमा उनले जोड दिए। तातो हावा चलेको अवस्थामा पर्यावरण सुक्खा रहने, कम पानी पर्ने हुँदा प्रदूषण बढ्ने र ठूलो वेगको हावा चल्दा भौतिक संरचनामा क्षति पुग्नसक्ने उनले बताए। 

उनले भने‚ ‘यो समयमा हावाहुरी बढी चल्ने तातो हावा चल्ने तापक्रम ३० डिग्री ४० डिग्रीभन्दा माथिको अवस्थामा रहने त्यसले गर्दा वातावरण पर्यावरण सुक्खा हुनाले आगलागीको सिजन, पानी कम पर्ने हुँदा प्रदूषणको मात्रा बढ्छ। जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार नेपालका ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको छ भने नवलपुरको केन्द्रमा ४० डिग्री रेकर्ड भइरहेको अवस्था छ।’

उनले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्वसूचना दिनु आवश्यक रहेको बताए। तापक्रम वृद्धि भई अत्यधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उनले बताए। जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखा परिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.