पार्किङ भरियो‚ बाहिर राख्नु बाध्यता : अदालत

|
तस्वीरहरू : शिला तिम्सिना

काठमाडौं : बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको फुटपाथमा लामो समयदेखि एउटा ठूलो बस र ट्रक राखिएको छ। ती बस र ट्रक करिब एक वर्षदेखि त्यहाँ थन्किएको हो।

ना ४ ख ४५१६ नम्बरको बसको झ्यालको सिसालाई फोहोरले ढाकेको छ। छतमा झार उम्रिएको छ। त्यसैको छेउमा रहेको भारतीय नम्बर एन बी २३ बी ५८८५ रहेको ट्रक छ। त्यसको पछाडि छरपस्ट तार बेरिएका छन्। ट्रकलाई छोप्न राखिएको त्रिपाल धुजाधुजा भइसकेको छ।

दिनहुँ सेवाग्राहीको घुइँचो हुने त्यस ठाउँको फुटपाथ नै ओगटेर राखिएका यदी दुई गाडी गर्दा पैदलयात्रीले सास्ती भोग्दै आएका छन्। नेत्रहीनहरू हिँड्न बनाइएको बाटो पनि ती गाडीले ओगटेको छ।

ती दुई गाडी किन यति लामो समयदेखि त्यसरी अदालतलाई नै कुरूप बनाउने गरी अगाडि नै राखियो? फुटपाथ नै ढाकिने गरी किन राखियो? अन्य कतै लगेर राख्न मिल्दैन भनी त्यस बाटो हुँदै हिँड्नेको मनमा जिज्ञासा आउँछ। त्यति मात्र होइन‚ राजधानीकै व्यवस्थित सडक छेउ रहेको र अदालतको सुन्दर बिल्डङअघि पुग्दा कुनै गाउँको हाटिया भर्न पुगे जस्तो  महसुस हुन्छ।

अदालतको सुन्दर बिल्डिङ र राजधानी शहरकै व्यवस्थित सडक छेउमा किन लामो समयदेखि दुई गाडी राखिएको भनी अदालतका सूचना अधिकारी दीपक दाहाललाई सोध्यौं। उनका अनुसार राजस्व चुहावटको मुद्दा र लागु औषध कारोबार मुद्दामा ट्रक २०७५ सालमा नियन्त्रणमा लिइएको छ। यी दुवै गाडी यहाँ ल्याउनुअघि सिंहदरबार परिसरमा पहिला राखिएको थियो। तर‚ त्यहाँ सर्वोच्च अदालतको भवन बन्न सुरू गरेपछि जिल्ला अदालतअगाडि राखिएको सूचना अधिकारी दाहालले जानकारी दिए।

शौचालयको रूपमा गाडी प्रयोग

गाडीले गर्दा पैदल यात्री र अदालतका सेवाग्राहीलाई समस्या भएको छ। सर्वसाधारणले गाडीमा छलिएर शौच गर्दा त्यहाँ दुर्गन्ध फेलिएको छ। दुर्गन्ध अदालत परिसरमै पुग्दा सेवाग्राही मर्कामा परेका छन्।

अदालत परिसरमा भेटिएका मैतीदेवीका योगेन्द्र राजकर्णिकारले ती गाडीहरू एक वर्षभन्दा बढी समयदेखि आफूले देखिरहेको बताए।

‘यो गाडी यहाँ राखेको देखेको एक वर्षभन्दा बढी भइसक्यो, यहाँ राख्दा साह्रै नराम्रो देखियो, हटाउनुपर्छ‚’ उनले भने, ‘यही गाडीले गर्दा यहाँ सवारीसाधन पार्किङ गर्न समस्या, पैदल यात्रुलाई पनि हिँडडुल गर्न समस्या भएको छ।’ 

अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू पनि गाडी छिट्टै हटाए सर्वसाधारणलाई सहज हुने र अदालतको वातावरण पनि शोभनीय देखिने बताउँछन्।

महानगरलाई टेर्दैन अदालत

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा अदालतअगाडि राखिएका गाडी हटाउन पटक–पटक आग्रह गरे पनि अदालतले अटेर गरेको बताउँछन्।

‘फुटपाथ ढाक्ने गरी गाडी राखेको एक वर्ष भइसक्यो,’ उनले भने‚ ‘हामीले हटाउन धेरै पटक भन्यौँ तर हटाइएन।’

अदालतले सेवाग्राहीका लागि पार्किङको व्यवस्था नगर्दा झनै समस्या खडा भएको नगर प्रहरी प्रमुख सापकोटा बताउँछन्। ‘पार्किङका महानगरले व्यवस्था गर्ने होइन, सम्बन्धित निकायले सेवाग्राहीको संख्याका आधारमा व्यवस्था गर्नुपर्छ‚’ उनले भने‚ ‘फुटपाथमा राखिएका सवारीसाधन हामीले उठाउँदा वकिलहरू नै हामीमाथि अधिकारका कुरा गर्छन्।’

अदालत भन्छ : राख्ने ठाउँ छैन

जिल्ला अदालतका सूचना अधिकारी दाहाल बरामद गरिएको गाडी राख्ने खाली ठाउँ नभएकाले समस्या भएको बताउँछन्। यद्यपि‚ गाडीको लिलामी प्रकृया सुरु भइसकेकाले चाँडै नै त्यहाँबाट हट्ने बताउँछन्। तर‚ समय भने यकिन नभएको उनको भनाइ छ।

‘गाडीको मुद्दा फैसला अन्तिम चरणमा पुगेको छ, लिलामीको प्रक्रिया सुरु भएको छ‚’ उनले भने‚ ‘इन्जिनियर आएर मूल्यांकन पनि भइसकेको छ।’

सूचना अधिकारी दाहालका अनुसार ती दुई गाडी मात्र होइन‚ अपराधिक क्रियाकलापमा संलग्न करिब ३०० मोटरसाइकल बरामद गरी अदालतकै अन्डरग्राउण्ड पार्किङमा राखिएको छ। करिब ६० वटा ट्रक, कारलगायत सवारीसाधन पनि त्यस्तै क्रियाकलाप गरेको अवस्थामा नियन्त्रण गरी मुद्दा चलाइएको छ।

‘अन्डरग्राउण्ड पार्किङमा सवारीसाधन राख्ने ठाउँ नै छैन,’ उनले भने‚ ‘त्यहाँ नअटाएकाले बरामद गरिएको साधन सडक मै राख्नुपर्ने बाध्यता आएको हो।’​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.