पाठ्यक्रमका लागि यातायात व्यवस्था विभागले शिक्षा मन्त्रालयसँग छलफल गर्ने

|
फाइल तस्वीर

काठमाडौं : यातायात व्यवस्था विभागले विद्यालयको प्राथमिक तहदेखि नै ट्राफिकसम्बन्धी ज्ञान पाठ्यक्रममा समावेश गराउनुपर्नेमा जोड दिएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि पाठ्यक्रममा समावेश गराउन आवश्यक रहेको विभागले औंल्याएको हो।

विभागका महानिर्देशक नमराज घिमिरेले पाठ्यक्रम निर्माणका लागि सञ्चारमाध्यमबाट सकारात्मक सन्देश प्रचार गर्न आग्रह गरे। उनले थाहाखबरसँग भने, ‘हाम्रा बालबालिकालाई रातो बत्ति, सेतो बत्ति बल्दा के गर्ने, के हो भन्ने ज्ञान छैन, विद्यालयको प्राथमिक तहदेखिकाे पाठ्यक्रममै यस्ता सबै समावेश गरे सैद्धान्तिक ज्ञान पाउँछन्।’

उनले बाहिरी देशमा ट्राफिकसम्बन्धी ज्ञान स्कुल तहमै सिकाइने भएकाले यहाँ पनि त्यसो गर्नु आवश्यक रहेको बताए। ‘पाठ्यक्रममा समावेश गरिए विद्यार्थीहरू धैरै ज्ञान सिक्छन्, त्यसैले सरकारलाई यो एउटा मेरो सुझाव हो,’ उनले भने।

उनले यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग पनि छलफल गर्ने र आवश्यक परे लिखित रुपमै मन्त्रालयसँग माग गर्ने जानकारी दिए। उनका अनुसार काठमाडौंलगायत शहरहरूमा पछिल्लो समय ट्राफिक जामको समस्या मुख्य चोकमा मात्र नभई भित्री सडकमा समेत विकराल बन्दै गएको छ।

‘यसको मुख्य कारण ट्राफिक नियमको पालना नहुनु र दुईपांग्रे सवारी जथाभावी चलाउने तथा पार्किङ कारण छ,’ उनले भने। विभागले हाल मेट्रो एफएमसँग सहकार्य गरी प्रत्येक साता शुक्रबार बिहान ट्राफिक चेतनामूलक कार्यक्रम चलाएको उनले बताए।

 

​‘सवारी दुर्घटनाबाट बच्न सन्देशमूलक भिडियो पनि बनायौँ, तर यसले मात्र नहुने भयो, पाठ्यक्रममै यस्ता ज्ञान समावेश गराउँदा धेरै राम्रो हुन्छ,’ उनले भने।

‘पाठ्यक्रममा तीन चरणमा समावेश गराउनुपर्छ’

पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु ट्राफिकसम्बन्धी ज्ञान विद्यालयको पाठ्यक्रममा समावेश गर्न ढिला भइसकेको बताउँछन्। हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख रहेका उनी भन्छन्, ‘हामीकहाँ ट्राफिक चेतना कमी भएकै कारण दिनहुँ दुर्घटना बढेको छ, के गल्ती गर्दा कस्तो सजाय हुन्छ, त्यो नै हामीकहाँ चेतना छैन।’

उनले पाठ्यक्रममै यससम्बन्धी ज्ञान अनिवार्य समावेश गरिए ५० प्रतिशत सवारी दुर्घटना र सवारी जाम घट्ने बताए। तीन चरणमा ट्राफिकसम्बन्धी ज्ञान पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने उनी सुझाउँछन्।

‘कक्षा १ देखि ३ सम्म एउटा पार्ट, कक्षा ४ देखि ७ सम्म ट्राफिक ज्ञान र कक्षा ८ देखि १० सम्म लाइसेन्स, जरिवानालगायत ऐनहरू राख्नुपर्छ,’ उनले भने। अरु देशमा विद्यालय तहको पाठ्यक्रममा ट्राफिक ज्ञान राख्‍नेदेखि शुल्क नै तिरेर कक्षा लिने गरेको जानकारी दिँदै उनले भने, ‘मान्छे मारेर जेल जानुभन्दा हामी किन ज्ञान नबाँड्ने? सरकारले तुरुन्तै यस्तो व्यवस्था गर्नुपर्छ।’

दैनिक ७ जनाले गुमाउँछन् ज्यान 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिव शर्मा दासका अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै अहिले १८ लाखभन्दा बढी सवारीसाधन गुडिरहेका छन्। दैनिक डेढ सय सवारीसाधन थपिने गरेको छ। उनले दैनिक यहाँ १५ वटासम्म सवारीसाधन दुर्घटना हुने गरेको बताए।

पूर्वप्रहरी निरीक्षक हाछेथु देशभरि सवारी दुर्घटनाबाट दैनिक ७ जना र एक महिनामा सरदर २२ जनाको मृत्यु हुने गरेको यसअघिको तथ्यांकले देखाएको जानकारी दिन्छन्।

‘शहरी क्षेत्रमा चेतनाकाे कमी, चालकको लापरबाहीलगायत कारणले सवारी दुर्घटना हुन्छ,’ उनले भने, ‘गाउँघरमा बढी गाडी पल्टिने घट्ना घट्छ, त्यसैले विद्यालय तहमा पाठ्यक्रममा समावेश गरिए यस्ता घट्नाको संख्यामा धेरै कमी आउँछ।’ उनले कक्षा मात्र लिने मात्र नभई भिडियोमार्फत पनि जानकारी गराउँदा विद्यार्थीहरूलाई धेरै प्रभावकारी मिल्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.