|

काठमाडौं : पैसा तिरेर, टिकट काटेर, तीन घण्टा एउटा हलभित्र थुनिएर फिल्म हेर्नुअघि दर्शकले एकछिन त सोच्छन्- फिल्मबाट टिकटको मूल्यबराबर आनन्द दिन्छ कि दिँदैन? अर्थात् फिल्म पैसा असुल छ कि छैन? तीन घण्टामा फिल्मले निश्चित समय, स्थानको भ्रमण गराउँछ या गराउँदैन? फिल्म हेरेर फर्किदा पैसा र समयको सत्यानाश त हुने होइन? 

शुक्रबारदेखि प्रदर्शनमा आएको तेलेगु फिल्म आरआरआरको क्रेज नेपालमा पनि उत्तिकै छ। अधिकांश मल्टिप्लेक्समा सत प्रतिशत सो पाएको फिल्ममा लगातार तीन दिन सबै सो हाउसफुल रहे। त्यसपछिका सोमा पनि दर्शकको उपस्थिति उल्लेख्य छ। 

टिकट काट्नको लागि लामो लाइन, हलभरि दर्शक, हिरोको इन्ट्रीमा हुटिङ र सिट्टी यस्ता दृश्य नेपाली फिल्म हेर्दा कमै देखिन्छ। बाहिरकै कथा, बाहिरकै पात्र, बाहिरकै अभिनेता, बाहिरकै निर्माता, निर्देशक हुँदा पनि नेपालमा आरआरआर लगायतका थुप्रै विदेशी फिल्मको क्रेज अर्को लेभलमा हुने गर्छ। यसका प्रविधि, कथा वाचन शैली, अभिनय लगायतका विभिन्न कारणहरू छन्।

आरआरआरको क्रेज यो लेभलमा हुनुका पनि धेरै कारण छन्। यसका निर्देशकका अघिल्ला फिल्म, आरआरआरकै बजेट, प्रचारप्रसार, ट्रेलर, गीत आदिले बनाएको हाइटले नेपालमा पनि काम गर्‍यो। फिल्म भारतीय फिल्म इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बन्यो। सँगसँगै नेपालमा पनि धेरै कीर्तिमान बनाउन सफल रह्यो। 

बिहान साढे ६ बजेदेखि राति नौ बजेसम्मका सो सबै हाउसफुल हुनु सामान्य कुरा होइन। यसले हाम्रो ठाउँमा पनि फिल्मका दर्शक कति छन् भन्ने कुरा देखाउँछ। नेपाली फिल्मका लागि पनि यस्तो क्रेज देख्न पाए, कुनै दिन देखिएला कि कहिल्यै नदेखिएला, सो सुरु हुनुभन्दा अगाडि हल बाहिर फिल्मको पोस्टरसँग फोटो खिच्नेको भिड देख्दा मनमा यस्ता विचार आए। 

दिनको अन्तिम सो, टिकटमा फिल्म सुरु हुने भनेर लेखिएको समयसम्म हलमा मान्छे छिराउनसमेत सुरु गरिएको थिएन। त्यही हलमा भर्खरै त्यही फिल्म देखाइएको थियो, जुन फिल्म हेर्न बाहिर भिड जम्मा भएको थियो। त्यो सो पनि हाउसफुल थियो।

पोखिएका पपकर्न, पपकर्नका रित्ता प्याकेट, चिसो तातो खाएका भाँडाहरू त्यति नै होलान्, त्यही सफा गर्न समय लाग्यो अनि तोकिएको समयमा दर्शक छिर्न पाएनन्। मैले अनुमान लगाएँ। 

सबै दर्शक हलमा छिर्न, आफ्नो आफ्नो सिट पत्ता लगाएर बस्न पनि समय लाग्यो। एउटा सिट पनि खाली नभएको हाउसफुल हलमा बसेर धेरै पछि फिल्म हेर्दै थिएँ।

विज्ञापन सकिएर बत्ति बन्द हुँदादेखि नै दर्शक चिच्याउन, सिट्टी बजाउन सुरु गरे। फिल्मको नाम दिँदा अझ बेस्सरी चिच्याए, पहिलो सिन देखाउँदा अझ बढी चिच्याए, फिल्मका नायक देखाउँदा अझ बढी सिट्टी बज्‍यो, अझ चर्को हुटिङ सुनियो। 

फिल्ममा छिरौँ, आरआरआर दुई कथाको दोभान हो। फिल्ममा दुईवटा केन्द्रीय पात्र छन्, पहिलो अल्लुरी सीताराम राजु जसको भूमिकामा राम चरन देखिएका छन् भने दोस्रो कोमाराम भीम जसलाई जुनियर एनटिआरले निर्वाह गरेका छन्। दुवै पात्र फरक-फरक वेगमा आफ्ना आफ्ना घुम्ती घुम्दै बगेका छन् र भेटिएका छन्।

दुई नदी मिसिएपछिको नदी कस्तो हुन्छ? आरआरआरमा लेखक, निर्देशक एसएस राजामौलीले गर्न खोजेको पनि त्यही नै हो। आफूले गर्न खोजेको जस्तो काम निस्क्यो कि निस्केन, सफल भएँ कि विफल भएँ भनेर उनी आफै हिसाब गर्दै होलान्। 

फिल्मले दर्शकलाई सन १९२० को दशको भारतमा लैजान्छ। जतिबेला भारत बनिसकेको छैन। मानिसहरू पीडित छन्, कतिलाई त आफू पीडित छु भन्ने पनि थाहा छैन। एउटा मान्छेको भाउ बन्दुकबाट निस्किने एउटा गोलीको मूल्यभन्दा सस्तो छ, दुई सिक्कामा कला होइन कलाकार नै किनिएको छ।

त्यतिबेलै स्वतन्त्र भारतको सपना देखेका सीताराम राजु र उनीसँग भेटिएका भीमको कथाबाट प्रेरित भएर उनीहरूको कथामा कल्पनाको लेप लगाई राजामौलीले आरआरआर तयार गरेका हुन्।

राजामौलीले फिल्ममा दुई पात्रलाई आगो र पानीको नाम दिएका छन्। नाम मात्रै होइन ती पात्रको निर्माण नै त्यसरी गरिएको छ। उनीहरूको भूमिकामा पनि त्यो कुरालाई ध्यान दिइएको छ। एउटाको आँखामा आगो, अर्कोको आँखामा पानी नै देखाउन खोजिएको छ। 

फिल्मले सुरुदेखि नै दर्शकलाई बाँधेर राख्छ। यसले समयको त्यो कालखण्डमा पनि पुर्‍याउँछ, फिल्ममा भरपूर एक्सन छ, एक्सनमा सिर्जनात्मकता पनि देखिन्छ। एक्सनसँगै संवाद पनि बलिया छन्। 

निर्देशकले संगीत र नृत्यलाई पनि विशेष स्थान दिएका छन्। जसले फिल्मको कथालाई डोर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। सरसर्ती हेर्दा फिल्ममा पिरियड, एक्सन र ड्रामाको राम्रो संयोजन देख्न सकिन्छ। फिल्मको बजेट त्यति धेरै कसरी भयो भनेर दर्शकले बुझ्न सक्छन्।

स्पोइलर अलर्ट!
सबै थोक राम्रो हुँदा हुँदै पनि फिल्मको कथामा केही कमजोरी भेटिन सक्छ। राजु र भीमको दोस्ती त्यस्तो प्रगाढ कसरी भयो? भन्ने बुझिन्छ। उनीहरूले आफ्ना गोप्य कुरा एक–अर्कालाई किन भनेनन् भन्ने पनि बुझिन्छ तर राजुले खोजिरहेको मान्छेको फोटो भीमलाई किन देखाएन भन्ने कुरा बुझिँदैन।

त्यो पनि गोप्य राख्न खोजेको हुन्थ्यो भने स्वाभाविक लाग्थ्यो होला तर भीमसँगै हुँदा अरू मान्छेलाई सोधेर उसकै गल्लीमा हराएको मान्छेको फोटो उसैलाई देखाउने होस नआउनु राजुको चरित्रसँग मेल खाएको छैन।  

त्यस्तै, मल्लीको खोजीमा लामो यात्रा तय गरेर तयारीका साथ आएको भीम आफ्नो कारणले अरूलाई खतरा नहोस् भनेर सचेत हुन्छ। बाघ, बँदेल, जरायो जस्ता जंगली जनावरलाई आफ्नो आर्मी बनाएर भीम मल्लीलाई बचाउन गएको हुन्छ।

ती जनावर कसैको पक्षमा छैनन्, जसलाई पनि आक्रमण गर्न सक्छन् भन्ने जान्दा जान्दै पनि मल्ली भएकै ठाउँमा त्यसरी कसरी छोड्न सक्छ? त्यो पनि भीमको चरित्रसँग मेल नखाएको जस्तो लाग्छ।

फिल्मको मुख्य खलपात्र गभर्नर स्कट बक्सटनलाई बनाइएको छ। जसको भूमिकामा रे स्टेभनसन देखिएका छन्। वर्षौँ पहिले जतिबेला राजु बालक हुन्छ, उसका बाबु वेन्कटा रामा राजु (अजय देवगन)ले आफू पल्टनमा हुँदाको कथा सुनाउँदा गभर्नर बक्सटन देखिन्छ।

जुन फिल्ममा देखाइएको आजको समयभन्दा कम्तीमा पनि २२/२५ वर्ष पहिलेको त हुनैपर्छ। तर, त्यो बेलाको बक्सटन र आजको बक्सटनमा २२/२५ वर्षको फरक देखिँदैन। अब त्यो पात्र जस्ताको त्यस्तै भएर नै जस्ताको त्यस्तै देखाइएको हो भने अर्को कुरा भयो। 

फिल्ममा दर्शकले अहिलेसम्म नदेखेका, कल्पना पनि नगरेको एक्सन देख्न सक्छन्। एक्सन फिल्म हो भनेर साँझसम्म राम्रोसँग उभिन नसकेको राजुको शरीरमा एक रात पनि नबित्दै कसरी त्यो शक्ति, स्फूर्ति आयो भन्ने प्रश्न दबाउन सकिन्छ। तर, त्यसरी सोच्ने ठाउँ भने फिल्मका धेरै दृश्यमा भेटिन्छ। 

यी कमजोरीलाई कमजोरी मान्ने कि नमान्ने भन्ने अर्को प्रश्न भयो। यदि मान्ने हो भने, ठूलो बजेटमा बनेको फिल्मलाई यस्तै साना कमजोरीले अलिकति खल्लो बनाएको छ। 

अरू त फिल्म दोस्रोपटक, तेस्रोपटक हेर्ने, सो सकिएपछि पनि सिटबाट उठ्न नखोज्ने, भोलि फेरि आउनुपर्छ भनेर सल्लाह गर्ने दर्शक थुप्रै देखिए। एउटा फिल्मको लागि सबैभन्दा ठूलो सफलता त्यही हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.