|

काठमाडौं : जीवनमा अगाडि बढ्न र सफल हुन धेरै मिहिनेत र समर्पण चाहिन्छ। कडा परिश्रमबिना सफलता प्राप्त गर्ने व्यक्ति शायदै होलान्। सफलता पाएपछि त्यसमा अडिइरहन पनि उत्तिकै कडा मिहिनेत अपरिहार्य हुन्छ।

भारतका १९ वर्षीय प्रदीप मेहराले आफ्नो रोचक कथाले करोडौंको मन जितेका छन्। भारतीय फिल्म निर्माता विनोद काप्रीले केही दिनअघि उनको भिडियो आफ्नो ट्विटरमा पोस्ट गरेका थिए।

सैनिक बन्ने सपना देखेर मेहनत गरिरहेका मेहरा काम सकिएपछि अफिसबाट मध्यरातमा डेरा फर्कन दैनिक १० किलोमिटर दौडिने गर्छन्। मेहराको घर भने उत्तराखण्ड राज्यको अल्मोडामा छ।

मध्यरातमा उनी दौडिएको देखेर विनोदकाप्रीले उनलाई आफ्नो गाडीमा डेरासम्म पुर्‍याइदिन्छु भनेका थिए। तर मेहराले उनको प्रस्ताव नकार्दै भनेका थिए, 'म सैनिक बन्न चाहन्छु। मसँग बिहान र दिउँसो व्यायाम गर्ने समय हुँदैन। त्यसैले राति दौडिने गरेको हुँ। तपाईंको कारमा यात्रा गरेँ भने मेरो रुटिन नै गोलमाल हुनेछ। जुन म चाहँदिन।’

उनको मिहिनेती बानी, प्रष्ट कुरा गराइ र लक्ष्यप्रतिको ध्याउन्नले करोडौंको मन जित्न सफल भएको छ। जीवनमा सफलता पाउन मिहिनेत, धैर्य र लगनशीलताका साथ काम गर्न आवश्यक छ भन्ने कुरा अभिभावकले आफ्ना बच्चालाई सिकाउनुपर्छ। यसले पक्कै पनि तपाईं हाम्रा सन्तानलाई एक दिन अवश्य पनि सफलता दिलाउनेछ। बालबालिकालाई केही मिहिनेती र लगनशील भएर काम गर्ने व्यक्तिहरूबारे बताउन र भन्न आवश्यक छ।

 

बालबालिकालाई प्रेरणा दिनु उत्तिकै आवश्यक हुन्छ। त्यस्तै प्रेरक तर सामान्य मानिस हुन् मेहरा। उनी केही दिनयता सामाजिक सञ्जालमा सबैका लागि प्रेरणाका स्रोत बनेका छन्। उनीबाट अभिभावकले आफ्ना बालबालिकालाई सिकाउनुपर्ने तीन महत्वपूर्ण पाठ :

लक्ष्यमा ध्यानकेन्द्रित गर्नुहोस्

मेहरा आफ्नो लक्ष्यमा पूर्णतः समर्पित छन्। उनी आफू जीवनमा के बन्ने भन्नेमा पूर्णरुपमा जानकार छन्। १९ वर्षको उमेरमा उनी जीवनका हरेक चुनौतीको सामना गर्दै आफ्नो सपना पूरा गर्न चाहन्छन्। हाल उनी म्याकडोनल्ड रेस्टुराँमा काम गर्छन् र भारतीय सेनामा भर्ना हुन चाहन्छन्। आफ्नो लक्ष्यलाई सम्मान गरौं र त्यसमा आफ्नो ध्यानकेन्द्रित गरौं। यो मेहराले सिकाएको पहिलो पाठ हो। 

लगातार प्रयास जारी राख्नुहोस्

मेहरा आफ्नो दैनिकीलाई पूर्ण रुपले पछ्याउँछन्। उनी बिहान ८ बजे उठ्छन्, खाना पकाउँछन् र त्यसपछि काममा जान्छन्। हरेक रात उनी रेस्टुराँदेखि डेरासम्म १० किलोमिटर दौडिन्छन्। उनले आफ्नो दिनचर्या तलमाथि नहोस् भनेर फिल्म निर्माताले गरेको प्रस्तावसमेत अस्वीकार गरे। यसबाट बुझ्न सकिन्छ कि उनी आफ्नो लक्ष्यमा कति समर्पित छन्। आफ्नो सपना पूरा गर्न प्रयासरत छन्। प्रयासबिना कुनै पनि लक्ष्य हासिल गर्न सकिँदैन भन्ने उनले सिकाएको दोस्रो पाठ हो। 

कडा परिश्रम गर्न नडराउनुहोस्

जब मेहराले आफ्नो भिडियो भाइरल भइरहेको थाहा पाए, मानिसहरूले उनलाई शुभकामना दिन थाले। उनले एक सन्देश दिए, 'परिश्रम गर्न नडराउनुस, परिश्रमको अगाडि संसार झुक्छ। यो दुनियाँमा सफल व्यक्तिले कडा मिहिनेत गरिरहेका छन्। कडा मिहिनेतबिना सफलता हात पार्ने थोरै छन्।' यो उनले दिएको तेस्रो पाठ हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.