ठेकेदार भन्छन्, ठेक्का दिने कम्पनीले पैसा दिएन

|

दाङ : बबई गाउँपालिका-४ की करुणा परियार घरमा साना बच्चा छोडेर करिब ५ वर्षअघि मजदुरी गर्न सल्यानको लेखपोखरा भन्ने ठाउँमा पुगिन्। उनले त्यहाँ दैनिक ५ सयका दरले करिब १२ महिना काम गरिन्। लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि पेटी ठेक्का बबई गाउँपालिका-५ बस्ने निर्माण व्यवसायी कृष्णबहादुर खत्रीले लिएका थिए।

 उनले दैनिक ५ सयका दरले काम गरेको भन्दै अहिले करिब ५ वर्ष हुन लाग्दा १० महिनाको पैसा नभएको गुनासो गरिन्।

उनले भनिन्, ‘मैले १२ महिना ५ सयका दरले काम गरेकी थिएँ। २ महिनाको मात्र पाएँ। अझै १० महिनाको बाँकी छ। घरमा साना छोराछोरी छोडेर काम गर्न गएँ। अहिलेसम्म पैसा नपाउँदा समस्या भएको छ।’ त्यस्तै उनले आफूले स्थानीय ठेकेदारसँग पैसा माग्दै आए पनि उनले पनि जिम्मा दिएको मान्छेले पैसा नदिएको भन्दै आउने गरेको गुनासो गरिन्।

बबईबाट त्यहाँ काम गर्न करुणा मात्र नभई ६८ जना मजदुर सल्यान गएका थिए। उनीहरूले पनि अहिलेसम्म पैसा पाएका छैनन्। गाउँबाट ६८ जना  मजदुरलाई लिएर  बबई गाउँपालिका-४ का नरबहादुर सुनार गएका थिए। सुनारको पनि उस्तै गुनासो रहेको छ। आफूले जिम्मेवारी लिएर मजदुरहरूलाई काम गर्न लगे पनि अहिलेसम्म पैसा नपाउँदा उनीहरू दैनिक पैसा माग्न आउने गरेको चिन्ता व्यक्त गरे।

उनले  भने, ‘गाउँकै चिनेका व्यक्तिले कामको जिम्मा लिनुभएको थियो। त्यसैले मैले ६८ जना मजदुर लगेर गएँ तर ५ वर्ष भयो पैसा आएको छैन। मैले  केही मजदुरलाई आफ्नो व्यक्तिगत रूपमा पैसा दिएको छु। उनीहरूलाई दिएको र मैले काम गरेको गरि करिब ८–१० लाख पाउनु पर्नेछ।’

त्यस्तै उनले  ठेकेदार खत्रीसँग आफूले काम गरेको पैसा माग्दै आए पनि अहिलेसम्म पैसा नदिएको भन्दै गुनासो गरे।

उनले भने, ‘मैले यहाँका ठेकेदारसँग पैसा माग्दै आएको छु तर उहाँले आफूलाई जिम्मा दिएको रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले पैसा नदिएको भन्दै आउनु भएको छ। उहाँको अवस्था पनि अहिले नाजुक छ। हामीलाई काम गरेको पैसा चाहिन्छ।’

त्यस्तै उनले आफूहरूले ५ वर्षसम्म पर्खेर बसेको भन्दै अब पनि पैसा नदिए रसुवा कम्पनीले काम गर्न लागेको ठाउँमा गएर काम रोक्ने चेतावनी दिए।

त्यस्तै सोही ठाउँका तेजबहादुर वलीले लेखपोखरामा १४ महिनासम्म दैनिक एक हजारका दरले काम गरेको बताए। उनले पनि अहिलेसम्म ५  हजारभन्दा बढी पैसा नपाएको भन्दै तत्काल आफ्नो परिश्रमको पैसा पाउनुपर्ने बताए।

उनले भने, ‘ज्याला मजदुरी गरेर हामीले घरपरिवार हेर्नुपर्छ। काम गरेको ५ वर्षसम्म पैसा पाएको छैन। अब हामीलाई ठेकेदार कृष्णबहादुरले पैसा दिनुपर्‍यो नत्र रसुवा कम्पनीका ठेकेदारसँग भेट गराउनु पर्‍यो। कृष्णबहादुरले पैसा पाएको छैन भन्नुहुन्छ। हामीले काम गरेको पैसा जहाँबाट पनि चाहिन्छ।’

त्यस्तै काम गरेको पैसा नपाउने मजदुर रेशमबहादुर थापा पनि हुन्। उनले पनि करिब १० महिना काम गरेका र अझै करिब साढे ३ लाख रुपैयाँ पाउन बाँकी रहेको बताए।

स्थानीय खलवीर घर्तीमगरले पनि काम गरेको  साढे ३ लाखभन्दा बढी रुपैयाँ लिनुपर्ने छ। उनले पनि स्थानीय ठेकेदार कृष्णबहादुरलाई पैसा दिन पटक पटक आग्रह गर्दै आएका छन् तर अहिलेसम्म पैसा नभएको गुनासो गर्दै आफू जस्ता मजदुरहरूलाई नठग्न आग्रह गरे।

उनले भने, ‘हामीले पैसा माग्ने यहीँका ठेकेदारसँग हो तर उहाँले आफूलाई कामको जिम्मा दिएको कम्पनीले पैसा नदिएर त्यहाँका कारोबार मिलाउन घरवास सबै बिक्री गर्नु भएको छ। अहिले हामीलाई पैसा दिनसक्ने उहाँको उपाय नै छैन।'

त्यस्तै घरपरिवार पाल्न आफूहरूले मजदुरी गर्ने गरे पनि सल्यानमा काम गरेको रकम अहिलेसम्म नपाउँदा अब टाढा गरेर काम गर्न पनि शंका लाग्ने गरेको बताए।

रसुवा कम्पनीबाट खत्री अन्यायमा परेका छन् : स्थानीय

बबई गाउँपालिका-५ का स्थानीय डिल्ली पौडेलका अनुसार खत्रीलाई सल्यानमा काम गर्न जिम्मा दिएको रसुवा कम्पनीले पैसा नदिएर मजदुरहरूले अहिलेसम्म पैसा नपाएको बताए। खत्रीले सल्यानमा काम गरेपछि बबईमा रहेको पक्की २ वटा घर जग्गा समेत विक्री गरेर उनी अहिले सडकमा आइपुगेको समेत उनले बताए।

उनले भने, ‘अहिले खत्रीसँग केही सम्पत्ति छैन। अहिले उहाँसँग आफ्नो बस्ने वास समेत छैन। उहाँले पहिला पनि निर्माणका धेरै काम गर्नु भएको थियो तर सल्यानमा काम गरेको अहिलेसम्म उहाँ र मजदुरहरूले पैसा नपाएको कुरा सत्य हो।'

रसुवाले एक करोड २३ लाखभन्दा बढी पैसा दिन बाँकी छ :  ठेकेदार खत्री

२०७९ साल २७ गते रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेकेदार कृष्णबहादुर खत्रीलाई सल्यानको लेखपोखरामा स्वास्थ्यचौकीको भवन निर्माण गर्न अख्तियारी दिएको थियो। बबई गाउँपालिका-५ निवासी ठेकेदार खत्रीलाई  कम्पनीका सञ्चालक उपाध्यक्षले मोहन आचार्यले अख्तियारी दिएका थिए। भवन डिभिजन कार्यालय दाङमार्फत प्रालिले ठेक्का पाएको उक्त काम खत्रीलाई पेटी ठेकेदारका रूपमा दिएको थियो। काम गरिरहेको अवस्थामै २०७१ साल जेठ ७ गते खत्रीबाट कम्पनीले काम खोसेर आफैँले भवन निर्माण कार्य सम्पन्न गरेको थियो।

त्यसपछि बाँकी काम रसुवाले २०७३ तिर पूरा गर्‍यो। त्यति वेलासम्म खत्रीको १ करोड ९३ लाख ५९ हजार ६८३ खर्च भइसकेको थियो। तीमध्ये  ६९ लाख ८६ हजार ९६७ रुपैयाँ पाएको र अब एक करोड २३ लाख ७२ हजार ७१६ रुपैयाँ पाउनुपर्ने रहेको खत्रीले बताए।

 ३ करोड ७१ लाखमा उक्त भवनको ठेक्का थियो। निर्माण पूरा भएपछि खत्रीले खर्च गरेको रकम दिने भन्ने सहमति भएपनि त्यो रकम दिएन। त्यस्तै आफू पैसा माग्ने क्रममा एकपटक २०७३ असारमा पोखरा गएको बताए। उनले कम्पनीका सहायक बाबुकाजी श्रेष्ठको घरमा गएको र त्यहाँ पाउनुपर्ने रकमका बारेमा कुरा गर्दा आफूलाई कुटपिट गरे पनि आरोप लगाएका छन्। 

‘मेरो घरवास सबै बैंकमा छ। त्यो वेला मैले किस्ता नहालेको भए मेरो घरवास सबै लिलाम हुन्थ्यो। श्रेष्ठले डेढ लाख दिएर बैंकमा किस्ता हालेर आयौँ। पछि सबै पैसा लिएको कागज गर्न आग्रह गरे', उनले भने, 'मैले यसरी हुँदैन भन्दा केटाहरू बोलाएर जबरजस्ती कोठामा लगेर मलाई सबै पैसा लिएको कागज गराए। अहिले म सडकमा आएको छु।’

आफूलाई जबरजस्ती यसरी कागज गराएपछि जिल्ला प्रशासन कार्यालय दाङ, भवन डिभिजन कार्यालय दाङमा बिल रोक्का गरी पाऊँ भनी दिएको निवेदन पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे। उनले दाङका तत्कालीन कांग्रेस सभापति कृतिबहादुर खड्का लगायतका नेताहरूलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। 

त्यस्तै खत्रीले आफूले भवन निर्माणमा गरेको कामको लेबर, मिस्त्री खर्चबापतको ४५ लाख ८६ हजार २५०, ट्याक्टर ढुवानीबापतको ३८ लाख ९७ हजार, काठ चिरानबापतको ४ लाख ४५ हजार, गिट्टी फोड्ने मजदुरलाई दिनुपर्ने खर्च ९ लाख ५२ हजार, खोलामा बालुवा चालेर निकाल्नेहरूका लागि दिन बाँकी १० लाख ३२ हजार, अम्बे स्टिल भैरहवाबाट छड खरिद गरेबापतको २६ लाख ७९ हजार ७२१, सपना इन्टरप्राइजेज घोराहीबाट छड, सिमेन्ट खरिद गरेको १४ लाख ७० हजार ४९२ र अन्य आवश्यक सामग्री खरिद गर्दा भएको खर्च १५ लाख १९ हजारमध्येको रकम नपाएको बताएका छन्।

उनले आफूले जिम्मा पाएपछि ६८ जना भवन निर्माण गर्ने मजदुर‚ ३२ जना गिट्टी बालुवा संकलन गर्ने मानिस, २४ जना काठ मिस्त्री, २१ जना ढुंगा निकालेर रोडमा ल्याउने लेबर, ढुवानी गर्ने ६ वटा ट्याक्टर गरी १ करोड ९३ लाख ५९ हजार ६८३ रुपैयाँ तिरेका छन्। तर त्यो रकम आफूले माग गर्दा नपाएपछि अहिले घरवासविहीन भएको समेत बताए।

उनले रसुवा कन्स्ट्रक्सनले अहिले सल्यानको दम्दवालीस्थित शारदा नदीमा पुल निर्माण गर्न लागेको भन्दै उक्त रकम नपाएमा आफूहरूले त्यहाँबाट सामग्री जफत गर्ने समेत चेतावनी दिएका छन्। उनले त्यसका लागि जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय खिलतपुर, सल्यान कालिमाटी लगायतका प्रहरीचौकीमा निवेदन दिएको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.