|


काठमाडाैं : तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गन गाई, ताज पुरिया, माझीलगायतका आदिवासी जातिहरूले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन्।

तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ।

जसमध्ये पहिलो दिन बैशाख १ गते जल सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा खेल्ने गरिन्छ।

जल/पानी सिरुवा  

सिरुवाको पहिलाे दिन जल/पानी सिरुवा हो।

वैशाखको पहिलो दिन बाङला पात्रो अनुसार अन्तिम चैत्रमा आफू भन्दा सानालाई सिरुवा पर्वमा सुस्वास्थ्यको कामना गर्दै टाउकोमा पानी दिएर, ठूलाबडाहरूका पाउमा भक्ति भावले पानी हालेर र साथी सङ्गी एकआपसमा पानी छ्यापाछ्याप गरी वर्षभरिको लागि शरीरलाई ठन्डा, शीतलता मिलोस् भनी आर्शिवाद लिने र कामना गर्ने गरिन्छ।

साथै उक्त दिन पानी खेलेर आफ्ना शरीरलाई पवित्र गर्ने भन्ने चलन छ।

याे दिन धामीहरू जंगल गएर जडीबुटी खोजी जडिबुटीका विरुवा जगाउँछन्।

अरु मानिसहरु घरमा लसुन प्याज बाँधेर झुन्ड्याउँछन्।

यो दिन महिलाहरु साँझमा आ–आफ्नो घरमा सात किसिमका सागहरु मिलाएर सातसागी, बइसागी साग पकाउँछन्।

यो दिनलाई महा विसुवा संक्रान्ति पनि भन्ने गरिन्छ।​

काद/हिलाे सिरुवा 

सिरुवा  पर्वको दोस्रो दिन काद/हिलाे सिरुवा हो।

मानिसहरु विसुवाको राति (चैतको अन्तिम राति) पकाएको भातलाई पानी हालेर पन्ता बनाएर खान्छन्।

त्यसैले भनिन्छ, 'चैतमा पकाएको बैशाखमा खाने’।

यसै दिनबाट पन्ता भात खान सुरु हुन्छ। यो दिन राजवंशी समुदायका महिलाहरु घाटोसरी पूजाका रुपमा तिस्ताबुढी नदीमा गइ सेलाउँछन्।

किम्बदन्ती अनुसार तिस्ताबुढी रुपमा ठाक्रानी (देवी) साथीहरुसँग मिली ठाकुर (देउता)लाई खोज्दै जाँदा बस्त्र विहीन हिलोमाटो लेपिएको अवस्थामा भेटाउँछन्।

संगीहरु आपसमा कानेखुसी गर्दै हाँस्छन्। अनि ठाक्रानी (देवी)ले तिस्ताबुढीको रुप धारण गरी संगीहरुलाई हिलो माटो लगाइ दिन्छिन्।

त्यसैले यो दिनमा सबै मानिसहरु एक आपसमा हिलो खेल्ने प्रचलन रह्यो, काद सिरुवा मनाउन सुरु गरियाे।​ ​

त्यसपछि ठाकुरलाई भेटाएको खुसियालीमा ठाक्रानीले घाटमा स्नान गरी चना मुराई खाई आलाइ बालाइ गरी सबैलाई खुवाउँछिन्, आफू पनि खान्छिन्।

यो दिन राजवंशी महिलाहरु नदीमा गई तिस्ताबुरी बिसर्जन गरी घाटोसरी पूजा सकेर  फर्कन्छन्।

अनि घाटबाट फर्कने समयमा छाताको पानी गिलास बटुकामा लिएर घरमा आई घरका छानामा छर्कन्छन्।

यो दिनमा खासगरी घरका देवी-देवताको पूजा गर्ने गरिन्छ।

रंग सिरुवा

सिरुवा पर्वकाे अन्तिम दिन रंग सिरुवा हो।

उक्त दिन सबै मानिसहरु एक आपसमा रंग खेलेर पर्व मनाउँछन्।

विगतमा भएका रिस रागहरु सबै भुलेर खुशी र हर्ष उल्लासका साथ खुशी साटासाट गर्नका लागि यो दिनमा विभिन्न किसिमका रंगहरु खेल्ने गरिन्छ।

जीवन रंगहरुले भरिए जस्तै रंगिचंगी होस भन्ने कामनाका साथ रंग सिरुवा खेल्ने गरिन्छ।​

घाटोसरी पूजा

घाटोसरी देवीलाई स्वास्थ्य र दीर्घायु राख्न देवीको रुपमा पुजिन्छ।

घाटोसरीको मूर्ति कुमाल जातिका मानिसले काँचो माटोले बनाउँछन्।

अनि काद/हिलो सिरुवाको दिन नुवाई धुवाई गरी घरको एउटा कुनामा लिपपोत गरी घाटोसरीहरुलाई (माटाका साना घैँटा) बसाइन्छ ।

उक्त घाटोहरुलाई पूजा गर्दै नयाँ फलहरु आपा, घाटोसरीको फूल, काँचो चना, मुराइ, खीर, अठिया केरा चढाउने गरिन्छ।

सिरुवाको एउटा रमाइलो पक्ष घाटोसरी हो, नयाँ वर्षमा फलेका विभिन्न फलफूलहरूलाई पहिला घाटोलाई खुवाएर मात्र आफू खाने, अनि घाटासरीको जुठो खाएमा विभिन्न घाउ, खोस, ज्वरो र रोग व्याधीबाट बर्ष भरीका लागि मुक्त रहने कामना गर्दै घाटोसरीको पूजा गरिन्छ।

महिलाहरु गीत गाउँदै घाटोसरीहरुलाई साँझपख नदी, कुवाको छेउमा लगेर सेलाउँछन्। घाटोसरी सेलाउने समयमा अठिया केरा र मुराई खाँदै ‘लाए बालाए कालाए सरी’ भन्ने चलन छ।

यो साजी देउताको पूजा जो कोहीले गर्दैनन्।

यो पूजा राजवंशी महिलाहरुले मात्र गर्ने चलन छ। सिरुवा पर्वमा यो आदिवासी समुदायले घरका ठाकुर, ग्राम थान पुज्न अलवा आफ्नो घरको सुरक्षाका लागि चारकुने मन्त्रले बाँध्ने काम गर्दछन्।

चारकुना बाँध्दा खराब नजर, शत्रुहरूबाट बच्नका लागि आफ्नो घरको सुरक्षाको जस्तै काम गर्ने विश्वास गरिन्छ।

सातसागी वैशागी सिरुवा पर्वको एउटा महत्वपूर्ण पक्ष हो। चैतमा पकाएको वैशाखमा खानुपर्छ भन्ने मान्यता अनुसार महिलाहरुले सात किसिमका सागहरुलाई मिलाएर सातसागी वैशागी पकाउने र घाटोसरी पूजा सकेपछि खाने गर्दछन्।  

काठमाडौंमा विगत १० वर्षदेखि राजवंशी समाज क्षेत्रीय विकास उपत्यका समितिले प्रत्येक वर्ष सिरुवाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ।

यसवर्ष पनि काठमाडौंको खुल्लामञ्चमा उपत्यका समितिले काद सिरुवाको आयोजना गरेको हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.