२ हजारभन्दा बढी परीक्षा केन्द्र

|

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि शुक्रबारबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरि २ हजार ७ वटा परीक्षा केन्द्र तोकिएको छ। यस वर्षको एसइईमा ५ लाख १४ हजारभन्दा बढी सहभागी हुँदै छन्।

परीक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मर्यादित ढंगबाट परीक्षा सञ्चालन गर्न सबैलाई आग्रह गरे। उनले भने, ‘परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न विद्यालय, शिक्षकलगायत सम्बन्धित सबैलाई निर्देशन पनि दिएका छौँ।’

उनका अनुसार प्रश्नपत्र सम्बन्धित निकायमा सुरक्षित राखिएको छ। परीक्षा शुरु हुनुभन्दा ठिक १ घण्टाअगाडि विद्यालयमा प्रश्नपत्र पुर्‍याइनेछ।

प्रदेशमातहत परीक्षा सञ्चालन

सरकारले यस वर्षदेखि नै एसइई परीक्षा सञ्चालन प्रदेश सरकारलाई जिम्मा दिइसकेको छ। बोर्डको समन्वयमा प्रदेशले परीक्षा सञ्चालन गर्नेछ। बोर्डका अनुसार परीक्षा सञ्चालनको जिम्मा प्रदेशले पाए पनि प्रश्नपत्र निर्माण र नतिजा प्रकाशन भने बोर्डबाटै हुनेछ। प्रदेशले उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, उत्तरपुस्तिका संपरीक्षण गर्नेछ।

बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र एसइई परीक्षा दिन पाउने व्यवस्था पनि हटाएको छ। जतिसुकै उमेरकाले परीक्षा दिन पाउने छन्। यसअघि १४ वर्ष उमेर पुगेकाले मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो।

साउन अगावै नतिजा प्रकाशन गर्ने बोर्डको योजना 

एसइई नतिजा साउन अगावै प्रकाशित गर्ने बोर्डको योजना छ। ‘साउनबाट कक्षा ११ को नयाँ शैक्षिक सत्र शुरु हुन्छ, यसअघि नै नतिजा प्रकाशन गर्ने भनेका छौँ, हेरौँ के हुन्छ,’ उनले भने। यसअघिका २ वर्षको एसइई परीक्षा कोरोनाका कारण भौतिक उपस्थितिमा सञ्चालन भएको थिएन।

जसकारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन भएको थियो। तर विद्यालयले आफूखुशी बढी नम्बर चढाएको भन्दै विवाद पनि भयो। यस वर्ष भने भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुँदै छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.