औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनामा सघाउन नेपालको आग्रह

|

काठमाडौं : नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा महानिर्देशक डा. टेड्रोस एड्नम ग्रेब्रेससले दोस्रो कार्यकालका लागि दिएको मनोनयनमा नेपालले समर्थन गरेको छ।

नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका डा. टेड्रोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको दोस्रो कार्यकालका लागि नेपालले समर्थन गरेको बताएका छन्।

मन्त्री खतिवडाले नेपाल सन् १९५३ मा डब्लुएचओमा आबद्ध भएदेखि नेपालको उत्कृष्ट कार्यात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालीको स्वास्थ्य आवश्यकता सम्बोधन गर्न गरेको सहयोगको लागि धन्यवाद दिनुका साथै प्रशंशा पनि गरे।

मन्त्री खतिवडाले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धानका क्षेत्रमा सहयोग माग्नुका साथै अत्यावश्यक औषधि उत्पादन र शल्य चिकित्सासम्बन्धी औषधि उद्योग स्थापना गर्न सघाउन डब्लुएचओ प्रमुख टेड्रोससँग आग्रह गरेको बताए।

सन् २०१५ को भूकम्पपछि स्वास्थ्य आपतकालको अवस्थामा समेत विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य सम्मेलन—२०१५ को साइड इभेन्ट गर्न दिएकोमा पनि नेपालले डब्लुएचओको प्रशंशा गरेको छ।

भेटमा महानिर्देशक डा. टेड्रोसले कोरोना महामारी नियन्त्रणमा नेपालले गरेको कामको प्रशंशा गरेका थिए। उनले कोरोनाविरुद्धको खोपमा नेपालले पाएको सफलताको पनि प्रशंशा गर्नुका साथै बधाईसमेत दिएको बताइएको छ।

मन्त्रालयमा भएको भेटमा डा. टेड्रोससँग आएको डब्लुएचओको टोली र स्वास्थ्य मन्त्रालयका अधिकारी पनि उपस्थित थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.