साधारण सदस्यतासमेत नरहने गरि अढाई सय नेता कार्यकर्ताले छाडे पार्टी

|

जनकपुरधाम : नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरका नगर सभापति मनोज साहले पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिँदै मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। नगर सभापति साह लगायतका नेताहरूले शुक्रबार  जनकपुरमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएका छन्।

नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, वडा नम्बर १५ का सभापति नन्दलाल साहसहित कांग्रेसका साढे २ सय सक्रिय सदस्यले राजीनामा दिएको नगर सभापति साहले बताए। सत्तारुढ गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व गर्ने जिम्मा जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्र विद्रोह शुरु भएको छ।

जसपाले जनकपुरधाममा मेयर र कांग्रेसले उपमेयर उम्मेदवारी दिने गठबन्धनको सहमतिपश्चात कांग्रेसका सयौँ असन्तुष्ट नेता–कार्यकर्ताले शुक्रबार सामूहिक राजीनामा दिएका छन्। गठबन्धनमा कांग्रेसलाई जनकपुरधामको मेयर नपरेपछि यहाँका स्थानीय नेता तथा कार्यकर्ताहरू विरोधमा उत्रिएका हुन्।

पार्टीलाई २४ घण्टे अल्टिमेटम दिएको समय पुगेपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी साहसहित सयौँको संख्यामा नेता–कार्यकर्ताहरूले राजीनामा दिए। जनकपुरधाम उपमहानगरको २५ वटै वडाका सभापतिको सल्लाहमा आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको साहले पत्रकार सम्मेलनमा बताए। कांग्रेसको भागमा परेको १० वटा वडामा पनि स्वतन्त्र उम्मेदवारी पर्ने उनले जानकारी गराए।

जनकपुरमा कांग्रेस एक्लैले जित्नसक्ने अवस्था रहेको ठाउँमा गठबन्धन गरेर सभापति शेरबहादुर देउवाले ठूलो गल्ती गरेको आक्रोश उनले पोखे। उनले जनकपुरधाममा कांग्रेस बलियो हुँदाहुँदै पनि पार्टीलाई सिध्याउन सभापति देउवाले यस्तो निर्णय लिएको आरोपसमेत लगाएका छन्।

गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन नमान्ने पार्टी कार्यकर्तालाई कारबाही हुने धम्की दिएकाले साधारण सदस्यबाट समेत राजीनामा दिएर उम्मेदवारी घोषणा गरेको साहले  बताए।

०७४ सालको चुनावमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९ सय ३ मत ल्याएर निर्वाचित भएका थिए। साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १ सय ६४ मत प्राप्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.