नेपालमा स्थानीयभन्दा आयातित औलोका रोगी बढी

|

काठमाडौं: विभिन्न कार्यक्रम गर्दै आज सोमबार नेपालमा पनि विश्व औलौ दिवस मनाईँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि एक हो।

नेपालमा पनि सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्‍याउने लक्ष्य लिएको छ।  मलेरिया एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको संक्रामक रोग हो औलो।
औलोको लक्षण देखिन साथ रगत परिक्षण गरेमा औलो पत्ता लगाउन सकिन्छ। नेपालमा स्थानीय देखि संघ सम्ममा सबै सरकारी निकायमा औलोको परिक्षण र नि:शुल्क उपचार गरिन्छ। 

यस्ता छन औलोको लक्षण
१० देखि १५ दिनसम्म लगातार ज्वरो आउने,टाउको दुख्ने,शरीरका भित्रि अंग सुन्निने,जोर्नी दुख्ने शरीरमा रगतको मात्रा कम हुने,थकित महसुस हुने जस्ता लक्षण देखिए औलोको परिक्षण गर्नु पर्छ। 

यसरी बच्न सकिन्छ औलोबाट

औलो रोगबाट बच्ने सबै भन्दा उपयुक्त उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने नै हो। जसको लागि झुल टाँगेर सुत्ने,घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने,लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न चिकित्सकहरुले सुझाब दिएका छन्।

लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउन पनि उनीहरुले आग्रह गरेका छन्। ।

यस्तै लामखुट्टेबाट जोगिन घर वरिपरि कार्यालय विद्यालयमा टायर खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने गर्नु पर्छ।

विशेष गरि नेपालका तराईका जिल्लाहरुमा औलो व्यापक रहेको मानिन्थ्यो तर पछिल्ला दिनहरुमा पहाडि जिल्लाहरुमा पनि लामखुट्टे फैलिएपछि औलोको संक्रमण छिटफुट जताततै देखिने गरेको छ। 

 नेपालमा औलो नियन्त्रणका लागि अमेरिकी सहायता परियोजना युएसएडले सन् १९५४ देखि धेरै बर्ष लगातार अनुदान उपलब्ध गराएको थियो । जसका कारण फाटफुट औलो देखिएपनि आमरुपमा भने यो नियन्त्रणको घेरा भित्रै रहेको मानिन्छ। हाल सन् २०२५ सम्ममा नेपालबाट औलो उन्मुलन गर्ने लक्ष राखि काम भइरहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वमा सन् २०१८ मा मात्र  ४ लाख ५  हजार मानिसको औलोका कारण मृत्यु भएको थियो भने २२ करोड ८० लाख मानिस संक्रमित भएका थिए। मृत्यु हुने मध्ये ६७ प्रतिशत बालबालिका रहेका छन्। 

सन् २०१९ को शुक्ष्मस्तरीकरण अनुसार उच्च जोखिम वडाहरु १५ वटा जिल्लाहरूमा, मध्यम जोखिम वडाहरू १८ वटा जिल्लाहरूमा र कम जोखिम वडाहरु ६७ वटा जिल्लाहरूमा रहेका छन् ।  २,६८६ वडाहरूमा बसोबास गर्ने १२,४८५,५८४ जनसंख्या औलोको जोखिममा छन्। 

सन् २०१९ को कुल औलोका बिरामीहरू मध्ये १३१ औलोका बिरामीहरूलाई मात्र स्थानीय संक्रमित औलोको रुपमा वर्गीकरण गरिएको थियो भने ५७९ औलोका बिरामीहरूलाई आयातित अर्थात भारत लगायतका देशहरुबाट आएका व्यक्तिमा देखिएको औलोको रुपमा वर्गीकरण गरिएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.