|

काठमाडाै‌‌ ः ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारका संस्थाले फोटो प्रदर्शनी गरेका छन्। मंगलबार वसन्तपुरमा पिजे क्लब (फोटो जर्नालिष्ट) र नेपाल फोटो पत्रकार मञ्चले खुला फोटो प्रदर्शनी गरेका हुन्। 

प्रदर्शनीमा फोटो पत्रकारहरूले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख र जोखिमलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटो राखिएका छन्। प्रदर्शनी आज एकदिन चल्ने नेपाल पिजे क्लबकी अध्यक्ष श्रुति श्रेष्ठले बताइन्। प्रदर्शनीमा फोटो पत्रकारहरूले काम गर्ने क्रममा कत्तिको जोखिम, संघर्ष र चुनौती मोलेर काम गरिरहेका हुन्छन् भन्ने देखाउने गरी फोटो प्रदर्शन गरिएको उनले जानकारी दिइन्। ​

त्यसैगरी फोटो पत्रकारिताको इतिहासको बारेमा पनि सर्वसाधारणलाई जानकारी गराउने हिसाबले खुला रूपमा प्रदर्शनी गरिएको उनले उल्लेख गरिन्।

उनले भनिन्‚ ‘सबैले नेपालको फोटो पत्रकारिता कुन दिनदेखि शुरु भएको र कसरी शुरु भएको भन्ने सर्वसाधारणलाई पनि ज्ञान होस् भनेर हामीले प्रदर्शनी आयोजना गरेका हौँ।’

यसैगरी राष्ट्रिय फोटो पत्रकार मञ्चले राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरेको थियो। भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी सहिदगेट‚ सुन्धारा, नयाँसडक हुँदै हनुमानढोका पुगेर समापन भएको थियो। फोटो पत्रकार मञ्चले भने प्रदर्शनी बुधबारसम्म जारी रहने जनाएको छ। ​

नेपालमा पहिलोपटक फोटोलाई समाचारका रूपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो।​
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.