|

काठमाडौं : संसारको सबैभन्दा ठूलो फिल्म उद्योगमध्येमा गनिने भारतीय फिल्म उद्योग बलिउडले दक्षिण भारतीय फिल्म उद्योगका फिल्म रिमेक गर्न थालेको धेरै पहिलेदेखि हो। अमिताभ बच्चनको कालजयी फिल्म 'सूर्यवंशम'देखि, अनिल कपूर, श्री देवी र उर्मिलाको 'जुधाइ'देखि त्योभन्दा पनि अगाडि रेखा र जितेन्द्रको सन् १९८० को 'जुधाइ' सम्म सबै साउथ फिल्मका रिमेक हुन्। 

त्यति मात्र होइन‚ आमिर खानलाई नयाँ पहिचान दिने 'गजनी', सलमान खानको करिअर बचाउने 'वान्टेड', अजय देवगनको पहिचान बनेको 'सिंगम', अनिल कपूरको पर्यायवाची बनेको 'नायक' सबै साउथ फिल्मका रिमेक हुन् । 'बडी गार्ड', 'राउडी राठोर', 'भुल भुलैया', 'बिल्लु'देखि 'गरम मसला', 'हेरा फेरी', 'नो इन्ट्री' जस्ता बलिउडका लोकप्रिय कमेडी फिल्म पनि साउथकै रिमेक हुन्। यो लिस्ट लामो छ, फिल्म बनाउने भनेर कन्ट्र्याक्ट भइसकेका फिल्म पनि धेरै छन्। 

अब भने बलिउडले साउथका रिमेक बनाउने कि नबनाउने भनेर सोच्न थालेको छ। भर्खरै प्रदर्शनमा आएको शाहिद कपूर अभिनित 'जर्सी'को असफलताले बलिउडलाई सोच्न बाध्य बनाएको हो। यतिवेला बलिउडमा डेथ अफ रिमेकको ​ट्रेण्ड सुरु भएको छ। 

गौतम तिन्नानुरीले आफैँले निर्देशन गरेको तेलुगु फिल्म 'जर्सी' को हिन्दी रिमेक बनाएका थिए। शाहिद कपूर र क्रुणाल ठाकुरको मुख्य भूमिका रहेको फिल्मले दर्शकबाट प्रतिक्रिया त सकारात्मक पाइरहेको छ तर फिल्मलाई आफ्नो बजेट उठाउन समेत मुश्किल देखिएको छ। यसको एउटा मुख्य कारण हो 'केजिएफ च्याप्टर २' को क्रेज।

'केजिएफ २' सँग प्रदर्शन मिति जुधेपछि जर्सी एक हप्ता पछाडि सर्न बाध्य भएको थियो। एक हप्तापछि प्रदर्शनमा आउँदा पनि फिल्मले राम्रो प्रदर्शन भने गर्न सकेन। त्यति मात्रै होइन व्यावसायिक रूपमा घाटा व्यहोर्नुपर्ने डरले नै आमिर खानले आफ्नो फिल्म 'लाल सिंह चड्ढा'को प्रदर्शन मिति सारेका थिए। 

गत वर्ष डिसेम्बर १७ मा प्रदर्शनमा आएको तेलुगु फिल्म 'पुष्पाः द राइज'ले गर्दा ठूलाे बजेटमा बनेकाे, भारतकाे ऐतिहासिक जितकाे कथा रहेकाे '८३' को व्यापारमा प्रत्यक्ष असर पारेको थियो। २ अर्ब ८० कराेडमा बनेकाे फिल्मले लगानी समेत सुरक्षित गर्न सकेकाे थिएन। त्यस्तै गत मार्च २५ वरपरको मिति 'आरआरआर'का लागि खुला छोडिएको थियो। पछिल्लो चार महिनामा मात्रै यी तीन फिल्मका हिन्दी डबले गरेको बक्स अफिस कलेक्सन कुनै पनि बलिउड फिल्मले गर्न सकेका छैनन्। त्यसैले पनि राम्रो कन्टेन्ट भएको खण्डमा दर्शकले ओरिजिनल फिल्मकै डब भर्सन हेर्न रुचाउने निर्क्योलमा बलिउडकर्मी पुगेका छन्। 

निर्देशक तथा निर्माता रामगोपाल वर्माले सामाजिक सञ्जालमार्फत अब रिमेकको युग सकिएको बताएका छन्। फिल्मको रिमेक बनाउनुभन्दा डब गरेर रिलिज गर्नु बुद्धिमानी काम रहेको भन्दै उनले लेखेका छन्, 'अब यो क्लियर भइसकेको छ कि यदि दर्शकको चासो जोडिएको छ भने दर्शकलाई कुनै पनि अनुहार या कुनै पनि विषय राम्रो लाग्न सक्छ।' साथै बलिउडसँग सुपरहिट फिल्म बनाउने आइडिया पनि नरहेको र रिमेक गरेर उद्योग टिक्ने अवस्था पनि नरहेको उनले  जनाएका छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.