कान्ति अस्पतालमा दुई बालबालिकाको भर्ना गरेर उपचार शुरु

|

काठमाडौं : टाइफाइडविरुद्ध खोप लगाएका केही बालबालिका विरामी पर्न थालेका छन्। टाइफाइडविरुद्धको खोप लगाएको केही समयपछि गम्भीर विरामी भएका दुई बालबालिकाको हाल कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।

खोप लाएको केही दिनमा ज्वरो सहित अन्य स्वास्थ्य समस्या आएपछि हाल सुर्खेतबाट आएका एक र उपत्यका बाहिरकै अर्को एक गरी दुईजना बालबालिकाको कान्ति अस्पतालमा भर्ना गरेर उपचार भइरहेको कान्ति अस्पतालका निर्देशक डा. युवानिधि बर्सोलाले बताए। उनले भने‚ ‘ खोप लगाएको केही समयपछि विरामी भएको भन्दै उपत्यका बाहिरबाट उपचारार्थ आएका दुईजना बालबालिका हाम्रोमा भर्ना भएका छन्, खोपकै कारण हो कि अन्य कारणले हो भन्ने कुरा अहिले नै पुष्टि भएको छैन।’

थप परीक्षण गराउन स्याम्पल बाहिर

खोप लगाएको केही दिनपछि बिरामी भएको भन्दै अस्पताल आएका र हाल भर्ना गरिएका २ जनामा गम्भीर प्रकृतिको समस्या देखिएको हुँदा थप परीक्षणका लागि उनीहरूको स्याम्पल बाहिर पठाइएको समेत डा. बर्सौलाले बताए।‘ भर्ना गरिएका दुई बालबालिकाको थप परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा स्याम्पल बाहिर पठाइएको छ, अब सो रिपोर्ट आएपछि खोपकै कारणले हो कि अन्य कारणले समस्या देखिएको रहेछ भन्ने थाहा हुन्छ’‚ उनले भने। दुईजना बालबालिकालाई भने खोप लगाएको केही घण्टापछि बेहोस भएको र हाल हातखुट्टा कमजोर हुने लक्षण देखिएको बताएको छ।

खोप अभियान शुरु भएपछि ज्वरोका बिरामी बालबालिका आउने क्रम बढ्यो

यस्तै डा. बर्सौलाका अनुसार पछिल्लो केही दिनयता अस्पतालमा ज्वरोसहित अन्य समस्या लिएर उपचार गर्न आउने बालबालिकाको संख्या पनि दैनिक १० देखि १५ जनासम्म आउने गरेको बताए। ‘टाइफाइड खोप अभियान शुरु भएदेखि ओपिडीमा ज्वरो आएर उपचार गराउन आउने बालबालिकाको संख्या बढ्दो छ, हुनत यो समय भाइरल ज्वरोको पनि हो, खोपकै कारणले हो कि अन्य कारणले हो भनेर छुट्याउन सकिएको छैन’‚ उनले भने। खोप लगाएपछि सामान्य ज्वरो आउने लक्षण सामान्य भएको समेत उनले बताए।

सरकारले गत चैत २५ गतेदेखि टाइफाइड खोप दिन शुरु गरिएको थियो। करिब ७५ लाख बालबालिकालाई यो खोप लगाउने सरकारको लक्ष्य रहेको थियो। दक्षिण एसियाको देशमा नेपालमा पहिलो पटक १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई यो खोप अभियान शुरु गरिएको थियो। नेपालमा वर्षेनि औसत ४ लाख ५० हजारजनामा टाइफाइड पुष्टि हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.