|

काठमाडाैं : राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरिरहेको ‘अविरल जन साहित्य यात्रा’को ६७ औँ शृङ्खला सम्पन्न भएको छ।

यो शृङ्खलामा वरिष्ठ भाषाविद्, लोकसाहित्यका अन्वेषक, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन गीत/कविता गुन्जिएका छन्।

राष्ट्रिय जन साहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा अग्रज साहित्यकार एवं एमाले नेता रघुजी पन्त प्रमुख अतिथिका रूपमा रहेका थिए।

पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा.मधुसूदन गिरी, प्रा.डा. ध्रुव प्रसाद घिमिरे, डा.फणीन्द्रराज निरौला, आर.सी.न्यौपाने लगायतका साहित्यकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे थियाे।

समारोहमा प्रा.डा.जीवेन्द्र देव गिरीको व्यक्तित्वमाथि जन साहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालले प्रकाश पारे।

प्रा.डा.जीवेन्द्र देव गिरीले सुरु सुरुमा कविता निकै लेखिएको भए पनि तत्कालीन निरङ्कुश सत्ताका त्रासले ती सामग्री नष्ट भएका र राजनीतिक जीवनकै सिलसिलामा एक वर्ष बाँकेमा बिताएकाे बताए।

उनले समारोहमा ‘किसानको गीत’, ‘बज्यै’ (शिखरिणी छन्दको), ‘श्रद्धाञ्जली त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका प्रखर कविता वाचन गरे भने सहयोगी कविहरू नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको (राम विनय कोरोनाको चपेटामा परी अस्पतालमा जीवनसँग सङ्घर्ष गरिरहेको अवस्थामा लेखिएको) र ‘बाबा विदेश जानु भो’ शीर्षकको बाल कविता वाचन वाचन गरे।

समारोहमा सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ शीर्षकको बाल कविता वाचन गरिन। ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको शार्दूल विक्रीडित छन्दको कविता वाचन गरे।

देवु लुइटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप् छन्दको कविता वाचन गरे भने जितेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारु भाषामा अनुवाद गरिएको गीत गाए। आकाश थापाले ‘जाँदै छ रातको कालो’ बोलको गीत गाए भने प्राज्ञ माधव प्रधानले ‘झुल्के घाम’ बोलको गीत गाएर सुनाए। 

प्रमुख अतिथि रघुजी पन्तले कवि जीवेन्द्र देव गिरीका बाल कविता, छन्दोबद्ध कविता, गीतिकविता, गद्य कविता साह्रै सुन्दर रहेका र अब सिर्जनाले केकस्ता विषय उठाउनुपर्छ भन्ने तहमा पनि सोचिनुपर्छ त्यसबाट नै यस्ता समारोहहरू सार्थक हुने बताए।
        

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.