|

आमाको गौरव र मातृ शक्ति सर्वाधिक छ त्यसैले आमा सृष्‍टिमा आदरणीय छन्। सबैभन्दा सुन्दर छन। सबै भन्दा महान छन् । त्यसैले हाम्रो परम्परा धर्म संस्कार संस्कृति समाजले आमाको भुमिकामा अनेक ढंगले महिमा गाएको छ। मातातीर्थ औँसी यसको सबैभन्दा पुरानो लेख्य इतिहास हो हाम्रो।

हिजो मात्र हामीले यसलाई फेरि एकपटक मनन गर्यौं। हाम्रो जस्तै विश्वका हरेक देश समाज धर्म र संस्कृतिले आमालाई उत्तिकै श्रद्धाका साथ स्विकार गरेको पाइन्छ।

भनिन्छ नि -

माता गरियसी यच्च तेनैतां मन्यते जन:।

मानव जगतमा आमा जस्तो प्रिय व्यक्ति सृष्टि भएकोले नै सुन्दर र गतिशील बनेको छ पृथ्वी। सबैलाई थाहा छ एउटी आमाले सन्तानको जन्म दिंदा ज्यान समेत जान्छ। कयौं आमाले सन्तान दिनकै लागि जीवनको महत्त्व ठान्दाठान्दै ज्यान गुमाएका छन्।

सन्तान जन्माउन नसकेर मृत्यू हुने आमाको तथ्यांक खोजौं त ? समाचार सुनेर एकछिन आत्तिन्छन्,डराउँछन् तैपनि आमाहरू हरेश खादैनन् मृत्यूदेखि। अनि त यो सृष्टि चलेको छ। किनकी, मृत्यू हुने धेरै बिरामीका कारण र रोगका लक्षण छन् । तर मातृ शक्तिले आफ्नो ज्यानको पर्वाह नगरी आमा हुने इच्छा मनमा बचाईराखेको कारण आज संसार गतिशील रूपमा चलेको छ र अरू हजारौं वर्ष चल्नेछ। त्यसै शब्दमा मात्र सृष्टिकर्ता होइनन् आमा जगत जननी र रचयिता हुन् आमा।

सुखमा आमा दुःखमा आमा  

प्रत्येक सन्तानले अनुभव गरेकै हो कुरा हो, बाटोमा हिँड्दा ठेस लाग्यो ऐया आमा शब्द निस्किन्छ मुखबाट अनायासै। कुनै नराम्रो घटना र दृश्य हाम्रो आँखाले देख्न पुग्यो भने पनि लौन आमा के देख्नुपर्यो भन्न त्यो दृश्यले बाध्य गराएकै हुन्छ ।

कुनै पनि असहज काम गर्नुपरेको बेलामा, कुनै चुनौतीको समयमा आमाको याद गर्दा आफ्नो कार्यसम्पादनमा हौसला मिलेको हुन्छ । कुनै कष्ट पर्यो रून मन लाग्यो याद आउँछ आमाको र सम्झी सम्झी आँसु खसालेर हल्का हुन मन लाग्छ।

बहादुर पुरुष पनि आफ्ना साथीभाई या कसैसँग झगडा पर्दा उसले आत्मविश्वासका साथ आफूलाई शक्तिशाली देखाउँछ र भन्छ–म पनि आमाले जन्माएको छोरो हूँ।

त्यति मात्र कहाँ हो र अबोध बालक पनि भोक लागोस् या चोट लागोस् रुँदा आमालाई नै सम्झेको हुन्छ। भोकमा खाना र चोटमा ध्यान जानुपर्ने तर ध्यान जान्छ आमामा किन होला ? किनकी आमा सबै समस्याको समाधान हुन्।

आमा ऊर्जा हुन्, साहस हुन्, साथी हुन्, प्रेम हुन् र दृश्यमा ममता अनि अदृश्य शक्ति हुन्।  मानिसको मात्र होइन चराचुरुङ्गी, पशुपन्छीको समेत जन्मनासाथ आमाको स्याहार, आमाको न्यानोमा लुटुपुटु गरेर आफूलाई हुर्काएका हुन्छन्। आमाको ममता हरेक प्राणीमा उत्तिकै हुन्छ जसले आफ्ना सन्तानको रक्षार्थ जस्तोसुकै शक्ति उत्पन्न गरेर सुरक्षा दिएकी हुन्छिन्।

हामीले याद गर्यौं भने धेरै चर्चित विद्वान, साहित्यकार र बरिष्ठ व्यक्तिहरूले आफ्नो सफलतामा आमाको योगदान बारेमा कविता, किताब र उपन्यास नै लेखेका छन्।

विश्वका चर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफनो प्रसिद्ध उपन्यासको नाम नै ‘आमा’ राखेका छन् । उपन्यासको नाम मात्र होइन  मुख्य पात्र नै आमालाई बनाएर आमाको क्रान्तिकारी भूमिका दर्शाएका छन् । उपन्यासकै आधारमा कारखानामा काम गर्ने सबैले उनलाई आमा भनी सम्बोधन गर्न थाले । क्रान्तिको बिगुल फुकेर सबै मजदुरहरूलाई एकजुट हुन आह्वान गर्ने काम पनि तिनै आमाबाट सुरु भएको थियो ।

त्यसैगरी, विश्व साहित्यमा नोबेल पुरस्कार बिजेता पर्लस् एस बकले लेखेको गुड अर्थ भन्ने उपन्यासमा पनि अनिकाल र भोकमरीले आक्रान्त पारेको समयमा पनि वृद्ध आमाले भविष्यको लागि बीउ लुकाएर जोगाइराखेको कथा निकै रोचक छ । पछि त्यही बिउले खेतीपाती गरेर भोकमरीबाट जोगिन पुगेको कुरा निकै मार्मिक रूपमा उल्लेख छ ।

जे.के. रोलिङले, ह्यारी पोटर र जादूगरको ढुङ्गा कृतिमा उल्लेख गरेका छन्–तिम्रो आमा तिमीलाई बचाउन मर्नुभयो। भोल्डेमोर्ट तिमीले अरू केहि नबुझेपनि आमाको प्रेमलाई बुझ, जुन आमाको मृत्यूपछि पनि तिमीलाई सुरक्षा दिन शसक्त मद्दत पुग्छ।

जे.एम. ब्यारीको द एडभेन्चर अफ पीटर प्यान पुस्तकमा उल्लेख गरेका छन्– बिहान उठेदेखि साँझ सुत्नु अगाडिसम्म आमाले तिम्रो लागि खाना, खाजा, सरसफाई, भोलि पल्टको लागि आवश्यक सामग्रीको तयारी कति कति काममा व्यस्त भई रहदा, तिम्रै आँखाले देखेर पनि तिमीलाई खासै महत्त्व नलाग्न सक्छ।

जब आमाको अभाव हुन्छ तब बुझ्नेछौँ आमाको योगदान।  मिच अल्बोमको, एक दिनको लागि कथा संग्रहमा उल्लेख गरिएको मार्मिक वाक्यांशले सबैका आँखा रसाउँछन्। उनी लेख्छन्–तिम्रा सबै कथाको पछाडि तिम्री आमाको कथा छ, उहाँको कथा र संघर्षबाट नै तिम्रो कथा सुरु हुन्छ।

माया एन्जेलोको आमा र म र आमा नामक कृतिमा आमाको भूमिका उल्लेख गरिएको छ– तिम्रो लागि म सबैको हेरचाह गर्दछु, सबैलाई प्रेम गर्दछु र आफ्नो भूमिका निर्वाह गर्दछु किनकी म तिम्रो आमा हुँ।

अर्को कृति, 'मलाई थाहा छ किन पिँजडामा चरा गाउँछ'मा उनले उल्लेख गरेकी छन– मेरी आमाको वर्णन गरेर लेख्नु भनेको आधिबेहेरी शब्दको वर्षात् गराउनु र इन्द्रेणीको रंग बारेमा वर्णन गर्नु जस्तै हो। कुनै शब्दले आमाको वर्णनलाई पूर्णता दिन सक्दैनन्। जो मोयेसको वन प्लस वन कृतिमा भनिएको छ–सारा संसारले तिमीलाई ढुंगा बर्साए पनि डराउनु पर्दैन किनकी तिम्रो पछाडि तिम्री आमा छन्। सारा संसारले तिमी माथि फालेको ढुंगा उनले थेग्ने छिन्।

ईएम फोर्स्टरले आफ्नो पुस्तक हावर्डको अन्त्यमा उल्लेख गरेका छन्–विश्वका सारा आमा एक ठाउँमा भेट हुन सक्ने हो भने विश्वमा कहीं कतै युद्ध नै हुने थिएन।

कयौं सडक दुर्घटनामा आमाले काखमा रहेको बच्चालाई पाखामा फालेर सन्तान बचाएको र आफ्नो ज्यान गुमाएको समाचार पढेका छौं। बाँदरले समेत आफ्नो सन्तानको मृत्यू हुँदा नजिकै बसेर आँखाबाट आँसु खसाल्दै ममताले ओतप्रोत भएको दृश्य देख्दा अहिले नै आँखा रसाएर आउँछ।

हाम्रो धर्म, संस्कृति, शास्त्रमा पनि आमालाई महत्वपूर्ण स्थान दिइएको छ – मातृ देवो भवः पितृ देवो भवः को मर्म नै मातृ शक्तिको महिमा र उच्च आदर भावलाई झल्काउँछ। जुन सन्तान आफ्नी आमाको प्रेम र आदरको संस्कारमा हुर्केको छ उसलाई समाजमा अराजक कर्म गर्न सक्दैन ।

तर, सबै सन्तान त्यस्ता छैनन् जो समाजमा छलकपट, दुष्टतामा अल्झेका छन्। त्यसैले त भनिन्छ–  कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती। पुत्र कपुत निस्किन सक्छ तर आमा कपुत हुन सक्दिनन्। सन्तानले जस्तोसुकै अपराध गर्दा माफ गर्न सक्ने व्यक्ति आमा बाहेक अरू हुनै सक्दैन।

आफ्नो सन्तानको लागि कठोर निर्णय लिन नसक्ने आमालाई कमजोरीको संज्ञा दिनु मूर्खता बाहेक के होला र ? मातृत्व समान कुनै रक्षक छैनन् र मातृत्व समान कुनै प्रिय चीज पनि छैन । आज नेपालमा र खासगरी विश्वभरी नै नारीहरूलाई दोस्रो कोटिमा राखेर हेर्ने संस्कार भएको हुनाले नारीहरूले आफ्नो सम्मान र हक अधिकार, पुरुष सरह हुनुपर्यो भन्दै कानुनत माग गर्नुपर्ने र विभिन्न अभियान चलाउनुपर्ने स्थिति दुःखद स्थिति हो ।

जहाँ सृष्‍टिको सम्मान हुँदैन, सृष्‍टि माथि नै दुर्व्यवहार, उपेक्षा, अपराध, हीनताबोध हुने कर्म र व्यवहार देखाइन्छ त्यहाँ शान्ति र समृद्धिको अनुभूति कसरी होला ? महिला माथिको हिंसा र अराजकता तिनै छोराहरूबाट सृजना हुने हुँदा सबैले केन्द्रमा मातृत्व श्रद्धा र आदर भाव विकसित गर्न सक्ने हो भने सबैतिर प्रेम नै प्रेम फैलिन सक्छ। जहाँ प्रेम र सौहार्दताको अभाव हुन्छ त्यहाँ न असमानता,अशान्ति सृजना हुने हो।

आजको परिस्थितिमा जहाँजहाँ जे अभाव छ त्यहाँ मातृत्वको कदरको अभाव कै कारण हो। किनकी अत्याचार, हिंसा, अराजकता भनेको प्रेमको अभाव हो, माधुर्य, सौन्दर्यको अभाव हो र त्यो अभावलाई निर्मूल गर्ने शक्ति केवल मातृत्वमा छ।

आमाको मुहारको हाँसो

त्यहि व्यक्ति खुसी, सम्पन्न र आनन्दित रहन सक्छ जसले मातृत्वको आदर गर्दछ। संसार जित्नु भन्दा सजिलो छ आमाको मन जित्नु किनकी संसार जित्न अनेक युद्द र कलह भोग्नुपर्ने हुन्छ। तर आमालाई प्रेमले जित्न सकिन्छ।

कहिल्यै हामीलाई रोएको देख्न नसक्ने आमालाई खुसी बनाउने तरिका हो प्रेम, भक्ति र श्रद्दा । त्यो प्रेम जुन कर्तव्यमा मात्र सिमित नरहोस्। त्यस्तो भक्ति जुन हृदयबाट प्रस्फुटन होस्।

मिठो बोलीवचन गर्ने, उहाँको कुरालाई सुनिदिने। व्यस्तताका बाबजुद उहाँलाई पनि समय दिने, के खानुभयो, के गर्नुभयो उहाँलाई नजिकबाट बुझ्न कोशिस गर्ने। कहाँ जान मन छ कि ? केहि गर्ने मन छ कि ? कसैलाई भेट्ने इच्छा छ कि ?यिनै सानातिना कुरामा उहाँलाई साथ दिन सके पुग्छ। तर बिडम्बना आजकल हामी आधुनिक र सभ्य बन्दै गएपछि वृद्धाश्रम बढ्दै गएका छन।

गरिव र नसक्नेले भन्दा हुनेखानेहरुले आमालाई लगेर वृद्धाश्रम राख्ने प्रचलन बढ्दै गएको तितो यथार्थ छर्लंग देखिन थालेको छ। भोलि हाम्रा सन्तानले हामीलाई वृद्धाश्रम लिएर जानुपर्ने संस्कार नसिकुन् भन्ने  चाहने हो भने आज आफ्नो व्यवहार र संस्कारमा परिवर्तन ल्याउनु जरुरी छ।

अस्तित्वको लीला हाम्रा आमाहरू भोलि रहन्नन् र हामी पनि रहदैनौं। त्यसैले यो संसारबाट बिदा लिनु अगाडी नै सतप्रतिसत सेवा र प्रेम गर्ने सन्तानले पछुताउनु पर्दैन।

हाम्रो मुहारमा खुसी चाहने आमाको मुहारमा खुसी भर्ने जिम्मेवारी पनि हाम्रै हो। आमाको मुहारमा हाँसो र हृदयमा प्रेम भर्न सक्नु जत्ति को उपहार सन्तानको तर्फबाट अरु के होला र !  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.