|

बागलुङ :  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिह्न प्रदान भइसकेको छ। उम्मेदवारले चुनावी चिन्ह पाएपछि बागलुङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल उस्तै छ। चिया पसलदेखि चौतारासम्म पनि चुनावकै चर्चा छ। दलहरू प्रचारप्रसारमा लागेका छन्।

घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरि रहेका छन्। बागलुङमा पाँच दलीय गठबन्धन, एमाले–राप्रपा गठबन्धनले चुनावी अभियान सुरु गरेको छ। एमालेले मनोनयन दर्ता गरेदेखिनै चुनावी अभियानमा लागेको छ भने पाँच दलीय गठबन्धनले शनिबारदेखि मात्रै अभियान सुरु गरेको छ। मनोनयन दर्ता गर्दा नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई मिलाउन केही समय लागेको थियो।

स्वतन्त्र उम्मेदवारी दिएका कार्यकर्ताको उम्मेदवारी फिर्ता गराएपछि उनीहरु पनि तीव्र गतिमा चुनाव प्रचारमा लागेका छन्। बागलुङमा एमालेले पाँच दिनदेखि अभियान सुरु गरेकोमा गठबन्धनले शनिबारदेखि मात्रै थालनी गरेको छ।

गठबन्धनले बागलुङ नगरपालिकामा वडा नम्बर १४ नारायणस्थानबाट चुनावी प्रचार अभियान सुरु गरेको कांग्रेस बागलुङ नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिए। उनले नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरूको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने बताए।

गठबन्धनले जिल्लाको काठेखोला गाउँपालिकामा पनि शनिबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ। वडा नम्बर ३ धम्जामा आयोजित चुनावी सभामा पाँच दलका जिल्लास्तरीय नेता सहभागी भएका थिए। काठेखोलामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापा अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक पुन चुनावी मैदानमा छन्।

गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, बरेङ र निसीखोलामा पनि चुनावी अभियान तीव्र पारिएको गठबन्धनले जनाएको छ। जैमिनी नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली कांग्रेस जैमिनी नगरका सभापति प्रेम सापकोटाले जानकारी दिए।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ नगर समितिले पनि आइतबार प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ। आ–आफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारले आइतबारदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन्। यसका लागि उनीहरुले वडागत रूपमा समयतालिका तयार गरेका छन्। मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन्।

जिल्लाका अन्य स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पारेको छ। सत्ता साझेदार पाँच दल दशै स्थानीय तहमा गठबन्धन बनाएर चुनावमा होमिएका छन्। एमालेले पनि बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’सँग चुनावी तालमेल गरेको छ।

गठबन्धनतर्फ  कांग्रेसले बागलुङ, गलकोट नगरपालिकासहित काठेखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका पाएको छ। नेकपा (माओवादी केन्द्र)ले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पाएको छ। एमालेले भने दशै स्थानीय तहको प्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ।

एमालेले तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा राप्रपा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा  राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’लाई छाडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.