आमिरको ‘दंगल’ सहित सबै बलिउड फिल्म पछाडि

|

काठमाडौं : प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' को हिन्दी डब ४ अर्ब नजिक पुगेको छ। शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले ३ सय ९० करोड को आँकडा पार गरेको हो। 

'केजिएफ २' को हिन्दी डबले गरेको ३ अर्ब ९१ करोडको कमाइ हिन्दी फिल्मको इतिहासमा दोस्रो सबैभन्दा ठूलो कलेक्सन हो। यसअघि २०१७ मा प्रदर्शनमा आएको तेलुगु फिल्म 'बाहुबली २' को हिन्दी डबले ५ अर्ब १० करोडभन्दा बढी कमाइ गरेको थियो। 'केजिएफ २' ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म 'दंगल'लाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिएको हो। 

आमिर खान अभिनीत दंगलले ३ अर्ब ८७ करोडभन्दा बढी कमाइ गरेको थियो। जुन बक्स अफिस कलेक्सनका आधारमा बलिउडको सबैभन्दा ठूलो फिल्म पनि हो। 

त्यस्तै भारतमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पनि 'केजिएफ २' दोस्रो स्थानमा छ। सबै भाषामा भारतबाट मात्रै ९ अर्ब २२ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गरेको फिल्म 'बाहुबली २' भन्दा पछाडि छ। बाहुबली २ को कमाइ १४ अर्ब २९ करोड रहेको छ। भारतमा केजिएफ २ ले गत मार्चमा प्रदर्शनमा आएको एसएस राजामौली निर्देशित 'आरआरआर'लाई पनि पछाडी पारेको छ। तेस्रो नम्बरमा रहेको 'आरआरआर'ले भारतमा मात्रै ७ अर्ब ५० करोड कलेक्सन गरेको छ। 

विश्वव्यापी कलेक्सनमा भने तेस्रो नम्बरमा रहेको 'आरआरआर' चौथो नम्बरको केजिएफ २ भन्दा ३८ करोड रूपैयाँले अगाडि छ। 'आरआरआर'को कमाइ ११ अर्ब २२ करोड रहेको छ भने 'केजिएफ २' को कमाइ १० अर्ब ८४ करोड रहेको छ। अहिलेसम्म १० अर्बभन्दा बढीको कमाइ गर्ने भारतीय फिल्म चारवटा मात्र छन्। जसमा पहिलो नम्बरमा 'दंगल' छ भने दोस्रो नम्बरमा 'बाहुबली २' रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.