|

बागलुङ : यतिबेला देशभर चुनावी रौनक छ। वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा जित आफ्नो पोल्टामा पार्ने उम्मेदवारहरू चुनाव सभा तथा घरदैलो अभियानमा छन्।

करेसाबारीदेखि खेतबारीसम्म पुगेर उम्मेदवारहरूले मतदातालाई रिझाउने गरी रहेका छन्। बागलुङमा पनि यो अभियान जारी नै छ।

बागलुङको तमानखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जोकलाल बुढा मगर पनि चुनावी अभियानमै छन्। उनले यसभन्दा अगाडि पाँच वर्ष तमानखोलाको नेतृत्व गरेर पुनः अध्यक्षका लागि उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उम्मेदवार भएका बुढा मगरले अघिल्लो कार्यकालमा तमानखोलालाई जिल्लामै उत्कृष्ट गाउँपालिकाका रुपमा दर्ज गराउन सफल भएका छन्।

एक कार्यकाल राम्रै काम गरेका बुढा मगर पुनः अध्यक्षका लागि किन चुनावी मैदानमा उत्रिए? उनलाई जनताले केका लागि जिताउने? के–के एजेण्डा लिएर मतदाता समक्ष पुगेका छन्? पहिलो कार्यकालमा के–के गरे? र आगामी योजनाका बारेमा तमानखोला गाउँपालिकाका अध्यक्षका उम्मेदवार जोकलाल बुढा मगरसँग थाहाकर्मी डम्मर बुढा मगरले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं तमानखोला गाउँपालिकाको अध्यक्ष भएर एक कार्यकाल सकाउनुभयो, फेरि पनि चुनावी मैदानमा आउनुभएको छ, तयारी कस्तो छ?

हो म तमानखोला गाउपालिकाको अध्यक्ष भएर काम गरि पहिलो कार्यकाल सकिएको छ। फेरि दोस्रो कार्यकालको लागि वैशाख ३० गते हुने निर्वाचनमा नेपाली कांग्रेस पार्टीले फेरि अध्यक्ष पदको उमेदवारीको लागि सिफारिस गरी जिम्मेवारी दिएको छ।

लोकतन्त्रको सुन्दर पक्ष नागरिकको मतदानबाट छनोट भएर नागरिक र राज्यको निम्ति काम गर्ने स्वच्छ चुनावी प्रतिस्पर्धा हो। अहिले म पाँच वर्षको कार्यसम्पादनको समीक्षा र मूल्याङ्कन गर्दै आगामी पाँच वर्षमा गाउँपालिकाको समृद्धि र विकासका योजना लिएर नागरिकको घरदैलोमा गइरहेको छु।

तपाईंलाई फेरि जनताले केका लागि जिताउने?

समग्र तमानखोलाको आम नागरिकको समस्या, आवश्यकता पूरा गर्दै नागरिकको दुख र सुखमा साथ दिँदै तमानखोलाको परिवर्तन, विकास र समृद्धिको लागि पहिलो पाँच वर्षको कार्यकालमा थालनी गरेका कामलाई निरन्तरता दिँदै र आधारभूत विकासका कामहरू नियमित हुने नै छन्।

तर, तमानखोला गाउँपालिकाको नागरिकको सामाजिक सुरक्षा – तमानखोलाको साझा घर निर्माण गर्न, जीविकोपार्जन र आम्दानीमा परिवर्तन, सुधार र वृद्धि गर्न (स्वरोजगार र उद्यमशिलताको विकास गर्न), स्थानीय परम्परागत सिप, अनुभव, ज्ञानलाई विज्ञान र प्रविधिसँग जोडेर खोज अनुसन्धान, विकास गर्न तमानखोला

आविस्कार केन्द्र बनाउन), तमानखोलाको शैक्षिक संस्थाहरूलाई कृषि र पशुपालन संग जोडन (विद्यालय एकिकृत कृषि संचालन गर्न), तमानखोलाको स्रोत र साधनको पहिचान, उपयोग, प्रयोग गरी दिगो विकासको लक्ष्य प्राप्तिको लागि फेरि एकपटक मलाई तमानखोलाका मतदाताहरूले मतदान गर्नुहुनेछ भन्ने विश्वास छ।

पहिलो कार्यकालमा केके गर्नुभयो?

पहिलो कार्यकालमा समग्र तमानखोलाको वस्तु स्थितिको अवस्था पहिचान गरिएको छ। यहाँ अधिकांश दलित र जनजाति समुदायको बाहुल्य बसोबास भएको हुनाले शिक्षा, चेतना र क्षमताको हिसाबले तुलनात्मक रुपमा अलि पछाडि परेकोले यहाँको बालबालिकाको लागि शैक्षिक गुणस्तर वृद्धि गर्न (विद्यार्थीहरूको

अतिरिक्त कार्यक्रम, स्थानिय पाठ्यक्रम), शैक्षिक वातावरण निर्माण गर्न काम गरिरहेको छ। भने विद्यालय स्थापना भए पश्चात बनेका जीर्ण भवनलगायत भौतिक संरचनामा पाच वर्षमा ६० प्रतिशत सुधार तथा निर्माण गरिएको छ। तमानखोलाको नागरिकको स्वास्थ्य उपचारको लागि ६ वटा स्वास्थ्य संस्था थपिएको छ। ल्याव सेवा, एक्सरे सेवा, अध्यक्ष फार्मेसी, दुईवटा वर्थिङ सेन्टरलगायत स्वास्थ्यको ५० प्रतिशत भौतिक संरचनाको काम गरिएको छ।

तमानखोला गाउँपालिकाको नागरिकलाई स्वच्छ खानेपानीको लागि एकघर एकधाराको अभियानमा ८० प्रतिशत खानेपानीको काम भएको छ। करिब १३०० धारा निर्माण गरिएको छ। तमानखोला गाउपालिकाको वडा, बस्तीहरूमा कच्ची सडक सञ्जाल जोड्न करिब १३५ किमी सडक विस्तार गरि सवै वडा र टोलमा सडक जोडने काम भएको छ।

पर्यटन क्षेत्रको पहिचान, पुर्वाधार निर्माण तथा विकासका काम भएको छ। तमानखोला गाउँपालिकाका किसानहरू आम्दानी र आयआर्जनसँग जोडेर व्यावसायिक, आधुनिक, यान्त्रीकरण गरी कृषि तथा पशुपालनको काममा विकास तथा टेवा पुग्ने काम गरिएको छ।

तमानखोला गाउँपालिकाको युवा र महिलाहरूलाई उद्यमी, व्यवसायी बनाउन तालिम, सहयोग, विकास गरिएको छ।

अघिल्लोपटक एक्लै जित्नु भएको थियो, यसपटक गठबन्धनमा  कत्तिको विश्वास छ?

देशैभरि, जिल्ला भरिको ९ वटा पालिकामा गठबन्धनको समिकरणबाट निर्वाचनमा होमिएको बेला तमानखोला गाउँपालिकाको राजनीति अलि पृथक् बनिरहेको छ। यो पालिकाका सबै क्रियाशील दलहरू सिंगल–सिंगल स्वच्छ प्रतिस्पर्धा चुनावी मैदानमा छौँ। यो पालिकामा गठबन्धन गरिएको छैन।

तपाईंले चुनाव जित्ने आधार के हो?

तमानखोला गाउपालिकामा नेपाली कांग्रेसको बलियो संगठन हो। इमान्दार, जुझारु, सक्रिय नेता कार्यकर्ता पनि आधार हो। त्यस्तै, यहाँका नागरिक, मतदाताहरू धेरैले लोकतन्त्रमा विश्वास गर्दछ।

पहिलो कार्यकालमा सुशासन, जवाफ देहिताका साथ तमानखोलाको आम नागरिकको दुख , सुखमा साथ दिँदै समस्या, आवश्यकता  र समग्र तमानखोलाको विकास र समृद्धिको लागि गरेको कार्यसम्पादनको मूल्यांकनको आधारमा पनि यो पटक फेरी तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसको जित सुनिश्चित छ।

फेरि तमानखोलाको अध्यक्ष बन्नुभयो भने केके गर्ने योजना बनाउनुभएको छ?

तमानखोला गाउँपालिकाको नागरिकको समस्या, आवश्यकताको समाधान गर्दै, तमानखोला गाउँपालिकाको विकास, समृद्धिको लागि दिगो विकासको काम पहिलो कार्यकालमा सुरुवात गरेको छु। ती योजनालाई पूरा गर्दै यहाँका जनताको आधारभूत आवश्यकताको परिपूर्ति गर्ने लक्ष्य छ। पहिलो कार्यकालमा नीति नियम र योजनाको थालनी भइसकेको हुँदा अब जनताको गुनासो, आवश्यकतालाई शिरोधार्य गरेर अगाडि बढ्नेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.