|

काठमाडौं : नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको छ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइनबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको भन्दै प्रेस काउन्सिलले ती अनलाइनलाई देशैभरि प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन गरेको पत्राचारबाट संघ आश्चर्यचकित भएको आज संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

‘प्रेस काउन्सिलले निर्णय नै गरेर अनलाइन सञ्चार माध्यम बन्द गर्नु गराउनु आफैँमा असंवैधानिक कार्य हो‚‘ संघका अध्यक्ष डिल्लिप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा ’कुनै सञ्चारमाध्यमले प्रकाशन र प्रशारण गरेको सामग्रीले पत्रकार आचारसंहिता उल्लङ्घन भएमा सो अनुसार कारबाही गर्ने गराउने तथा विद्यमान प्रचलित अन्य कुनै पनि कानुनको बर्खिलाप हुने सामग्री प्रकाशन र प्रशारण गरेमा सोही कानुनको व्यवस्था अनुसार कसूरदार ठहर गरी कानुनी कारबाही गर्न सकिने व्यवस्था रहेको स्पष्ट गरिएको छ।

प्रेस काउन्सिलले प्रशासनिक र न्यायिक निकायको जस्तो व्यवहार गरी सञ्चार माध्यम बन्द गर्न गराउन अग्रसर हुनु नेपालको प्रेस स्वतन्त्रता आन्दोलनकै लागि गम्भीर धक्का हो भन्ने अनलाइन पत्रकार संघको धारणा रहेको पनि बताइएको छ।

निर्वाचन आचारसंहिता, २०७८ को उल्लंघन गरेको भन्दै मौका छोपेर पत्रकारितामाथि गरिएको यस्तो प्रहार संघलाई सह्य नहुने बताउँदै कुनै पनि बहानामा अनलाइन सञ्चारमाध्यम बन्द गर्ने गराउने कामको संघले निन्दा र भर्त्सना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.