भोलि र पर्सि मतदानस्थलबाटै मतदाता परिचयपत्र वितरण

|

काठमाडौं : स्थानीय तहको दोस्रो ५ वर्षे कार्यकालका लागि विभिन्न राजनीतिक दलका ३ सय ५५ जना उम्मेदवार निर्विरोध भएका छन्। ६ जना वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले भोलि र पर्सि प्रत्येक मतदानस्थलमा खटिएका टोलीहरूबाट मतदानस्थलमै मतदाता परिचयपत्र वितरण गरिने जनाएको छ। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित निर्वाचन कार्यालयहरूमा निवेदन दिएकाहरूलाई वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने भएको हो।

आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम भएका मतदाताले नागरिकताका आधारमा पनि भोट हाल्न पाउने भएका छन्। आयोगले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भइ नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए।

मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्।

स्थानीय तह निर्वाचनका लागि दर्ता गराएका ७९ दलमध्ये ६५ दल निर्वाचनमा होमिएका छन् भने स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.