|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकामा मंगलबार संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रमलाई एमाले नेता कार्यकर्ताले बिथोल्ने प्रयास गरेको आरोप गठबन्धनले लगाएको छ।

गठबन्धनले महालक्ष्मी नगरपालिका वडा नं २ मा कोणसभा गरिरहेको ठाउँमा आएर एमाले नेता कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेको गठबन्धनका नेता कार्यकर्ताले बताएका छन्। त्यसरी कार्यक्रम बिथोल्न आएका एमाले नेता कार्यकर्तालाई सम्झाइ बुझाइ पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यता गठबन्धनतर्फका महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार कांग्रेस नेता ध्रुवराज रायले आफूहरूले कार्यक्रम सञ्चालन गरिरहेको ठाउँमा एमाले कार्यकर्ता नियोजित रुपमा आएर कार्यक्रम बिथोल्न खोजेको बताए।

उनले भने‚ ‘नगरमा एमालेको पनि मोटरसाइकल र्‍याली रहेछ। र्‍यालीमा हिँडिरहेका एमाले नेता कार्यकर्ता हामीले कार्यक्रम गरिरहेको स्थलभन्दा केही पर आएर एकछिन रोकिएर मैले कार्यक्रमलाई सम्बोधन गर्न थालेपछि आएर बिथोल्न खोजे।’ 

कार्यक्रम बिथोल्ने प्रयास गरेका एमाले कार्यकर्ताले दाउरा टिपेर प्रहार गर्न खोजेको गठबन्धन नेता कार्यकर्ताले आरोप लगाएका छन्। जुन भिडियो आफूहरूसँग रहेको उनीहरूको भनाइ छ।

यता नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रमणि पराजुलीले भने यो आरोप गलत भएको बताए। उनले गठबन्धनले बाटो अवरोध गरेर कार्यक्रम गरेको र सोही बाटो भएर एमाले कार्यकर्ता पनि मोटरसाइकल र्‍याली लिएर आउँदै गर्दा बाटो अवरोध गरेकै निहुँमा सामान्य ठेलमठेल भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.