हेटौंडा : मकवानपुरको पाँचवटा मतदान केन्द्रको मतपेटिका जिल्लाभित्रकै निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन अरू तीनवटा जिल्ला पार गर्नुपर्ने भएको छ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाको तीन र बकैया गाउँपालिकाको दुईवटा मतदान केन्द्रको मतपेटिका सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउन अन्य तीनवटा जिल्ला पार गर्नुपर्ने भएको हो। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उक्त मतदान केन्द्रमा बाटोको पहुँच नहुँदा सिधै सम्बधित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन सक्ने अवस्था नरहेको बताए।
पाण्डेले राक्सिराङ गाउँपालिकाका ६, ७ र ८ गरी तीनवटा वडाका मतपेटिका सोही पालिकाको निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन चितवनको भण्डारा पुग्नुपर्ने बताए। राक्सिराङको गाविस भवन काँकडा, राष्ट्रिय मावी सिलिङ्गे र श्री निमावि ठूलो टोड्केको मतपेटिका चितवनको भण्डाराबाट मकवानपुरको मनहरी हुँदै रािक्सराङको निर्वाचन अधिकृतको कार्यालयमा गणना गर्न लैजानुपर्ने प्रजिअ पाण्डेले बताए।
‘त्यहाँबाट सिधै निर्वाचन अधिकृतको कार्यालयमा आउने बाटो नहुँदा मतपेटिका बोकेर अर्कै जिल्ला जानुपर्ने बाध्यता छ’, उनले भने। प्रजिअ पाण्डेले बकैयाको १ र २ नम्बर वडामा रहेको सरस्वती प्रावि मोरङ्गे र बालविकास निमावि सरस्वती भमराको मतपेटिका रौतहट र बारा हुँदै मकवानपुर ल्याउनुपर्ने बाध्यता रहेको सुनाए।
‘त्यहाँ अहिलेसम्म बाटो नै पुगेको छैन। त्यसैले बकैयाका दुईवटा मतदान केन्द्रको मतपेटिका सोही पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गणनाका लागि ल्याउन रौतहटको चन्द्रनिगाहपुर, बाराको निजगढ हुँदै हेटौंडा आइपुगेर फेरि बकैया जानुपर्छ’, उनले भने। पाण्डेले जिल्लाभित्रको मतपेटिका अर्को जिल्ला हुँदै ल्याउदा जोखिम हुने समेत बताए।
उनले उक्त स्थानको मतपेटिकालाई नेपाली सेनाले सुरक्षा दिने जानकारी दिए। ‘आफ्नो जिल्ला छोडेर अर्को जिल्ला जानुपर्ने भएपछि जोखिम हुन्छ नै। त्यसैले ती मतपेटिकालाई नेपाली सेनाले सुरक्षा दिनेछ’, पाण्डेले थपे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।