|

काठमाडौं : स्थानीय तहको निर्वाचन आज भइरहेको छ। ललितपुरमा ३ लाख ६० हजार भन्दा बढी मतदाताले सहभागीता जनाउँदैछन्। ललितपुरका ६ वटा स्थानीय तहमा गरी ३ लाख ६४ हजार ८ सय ७४ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ। ६ वटा पालिकामा ६२ प्रमुख र ३८ उपप्रमुख सहित १४ सय १५ उम्मेदवार चुनावी मैदानमा छन्।

सबैभन्दा बढी २९ वटा वडा रहेको ललितपुर महानगरपालिकामा २ लाख ४३ हजार ८ सय ८४ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले जानकारी दिए। उनका अनुसार १३ जना मेयर र ११ जना उपमेयरसहित वडा अध्यक्ष र सदस्यहरु सहित कुल ५ सय ८६ जना उम्मेदवार रहेका छन्। यहाँ १ सय ३७ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले जानकारी दिए।

जिल्लामा सबैभन्दा कम कोन्ज्योसोम गाउँपालिकामा मतदाता रहेका छन्। ५ वटा वडा रहेको यहाँ ८ हजार ५ सय ८८ जना मतदाता रहेको निर्वाचन अधिकृत देवकुमारी चौधरीले जानकारी दिइन्। उनका अनुसार ३–३ जना प्रमुख र उपप्रमुखसहित कुल ७९ जना उम्मेदवार यहाँ रहेका छन्। वडा नम्बर १ र ४ मा दलित महिला सदस्यको एकल उम्मेदवारी पर्दा त्यहाँ निर्विरोध भइसकेको छ। १ मा एमाले र ४ मा माओबादीले बाजी मारेको हो। कोन्जोसोममा १२ मतदान केन्द्र तोकिएको छ। 

यस्तै, गोदावरी नगरपालिकामा ५४ हजार ३ सय ९९ मतदाताले ६६ वटा मतदान केन्द्रमा गएर भोट हाल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन अधिकृत शारदा रिजालका अनुसार २१ जना मेयर र १० जना उपमेयरमा सहित नगर र वडामा गरी कुल ३ सय २३ जनाको उम्मेदवारी परेको छ। गोदावरीमा १४ वटा वडा छन्।

३६ हजार ६ सय ६३ मतदाता रहेको महालक्ष्मी नगरपालिकामा ९  जना मेयर , ४ जना उपमेयर सहित कुल २ सय २९ उम्मेदवार रहेको निर्वाचन अधिकृत शारदा फुँयालले जानकारी दिइन्। उनका अनुसार १० वटा वडा रहेको सो नगरमा ४३ वटा मतदान केन्द्र रहेको छ।

यसैगरी ९ हजार १२ मतदाता रहेको महाङ्काल गाउँपालिकामा ९ जना प्रमुख र ४ जना उपप्रमुख सहित कुल १ सय ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शुशीला ज्ञावलीले जानकारी दिइन्। मतदानका लागि १३ वटा मतदान केन्द्र तोकिएको छ। 

यस्तै १२ हजार ३ सय २८ मतदाता रहेको बागमती गाउापालिकामा ७ जना प्रमुख र ३ जना उपप्रमु्ख सहित ९३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नगेन्द्र केशरी पोखरेलले जानकारी दिए। उनका अनुसार ७ वटा वडा रहेको यहाँ १७ वटा मतदान केन्द्र रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.