जसपाका नेम्बाङ उपाध्यक्ष निर्वाचन

|

इलाम : माङसेबुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई विजयी भएका हुन्।  राईले तीन हजार ८१८ मत ल्याउँदा इदिङ्गोले ३ हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए। 

मंगोल नेसनल अर्गनाइजेसनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए। इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए। ५ वर्षपछि राईले इदिङ्गोलाई हराए ।

राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन्। 

त्यस्तै एमालेकी सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्बाङ उपाध्यक्ष पदमा विजयी भए। नेम्बाङले ३ हजार ७२९ मत पाउँदा सुब्बाले ३ हजार ४६ मत पाइन्।

सुब्बा निवर्तमान उपाध्यक्ष हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी थिए। सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन् । यसपटक नेम्बाङ निर्वाचित भए। तत्कालीन संघीय समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष रहेका नेम्बाङ हाल जनता समाजवादी पार्टी नेपालका प्रदेश कोषाध्यक्ष हुन्।

माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो। वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३०७ मत खसेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.