तनहुँ : तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको हो।
गाउँपालिकाका अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए।
उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार ४८१ मत प्राप्त गरी विजयी भएका हुन्। कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले दुई हजार ७४७ मत प्राप्त गरेका छन्।
घिरिङ गाउँपालिकाका पाँचवटा वडामध्ये तीनवटामा एमाले र दुईवटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। कांग्रेसबाट घिरिङ–१ का अध्यक्षमा रविचन्द्र घोरासैनी र ५ का अध्यक्षमा विष्णुवीर आले विजयी भएका छन् भने एमालेबाट २ नं का वडाध्यक्षमा नरबहादुर थापा, ३ का वडाध्यक्षमा तहलसिं थापा र ४ का वडाध्यक्षमा भीमबहादुर कुमालले विजय हासिल गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।