|

काठमाडौं : काठमाडौंको मेयर पदका लागि स्वतन्त्र रूपमा उम्मेदवार दिएका र्‍यापर गायक तथा इन्जिनियर बालेन साहले सुरुदेखि नै अग्रता लिइरहेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस जस्ता ठूला दलको पकड क्षेत्र भएको महानगरमा बालेनले अग्रता लिएका हुन्।

२५ हजार मतगणना हुँदा बालेनले ९ हजार ६ सय ५ मत ल्याउँदै आफ्ना निकटतम प्रतिद्वन्द्वी केशव स्थापितलाई ४५ सयभन्दा बढी मतले पछि पारेका छन्। अझै ५० प्रतिशत मत पनि गणना भएको छैन तर बालेनको यो अग्रता र बढ्दै गएको मतान्तरले एउटा तरङ्ग भने ल्याएको छ। युवादेखि वृद्ध वृद्धासम्ममा उत्साह छाएको छ। 
मेयरको लागि उम्मेदवार दिनुअघि बालेनलाई नेपाली हिपहप संगीतका श्रोताभन्दा बाहेकले चिन्दैनथे। तर, बालेनले पाँच वर्षअघि नै आफू मूलधार राजनीतिमा प्रवेश गर्ने संकेत दिइसकेका थिए। यतिवेला उनको पाँच वर्ष अघिको एउटा फेसबुक पोस्ट भाइरल भइरहेको छ।अघिल्लो स्थानीय तहको निर्वाचन ताका लेखिएको स्टाटसमा आफूले भोट नहालेको बताएका छन्। 

उक्त स्टाटसमा उनले लेखेका छन्, 'मैले भोट दिइनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा ब्याचलर सकेँ। स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स सकिँदैछ। मलाई थाहा छ देश कसरी विकास गर्ने। अर्को पटक मैले भोट हाल्नेछु। आफैँलाई भोट हाल्नेछु। मेरो देश मैले बनाउनेछु। अरूको कसैको भर लाग्दैन।'

बालेनको समर्थनमा नेपाली सेलिब्रेटीहरू पनि खुलेर लागिरहेका छन्। निर्वाचन अघिदेखि नै बालेनको समर्थनमा बोलिरहेका निर्देशक तथा कलाकार निश्चल बस्नेत मतगणना स्थलमा पनि पुगेका थिए। त्यस्तै, कलाकार तथा निर्माता निर्मल शर्मा घरदैलो कार्यक्रमदेखि नै बालेनसँगै हिँडिरहेका छन्। त्यस्तै, स्वस्तिमा खड्का, विजय लामा, सविन राई लगायतका धेरै कलाकारले बालेनलाई खुलेर समर्थन गर्दै आएका छन्।

बालेनको उम्मेदवार र मतगणनालाई देशभरी र देश बाहिर रहेका नेपालीहरूले चासोका रूपमा हेरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.