|

दाङ : तुलसीपुर उपमहानगरपालिका-१७ मा ४ हजार ३३९ मत खसेको छ। उक्त वडामा ६ हजार १७० मतदाता थिए। वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैसाख ३० गते स्थगित भएको तुलसीपुर-१७ मा मंगलबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

मतदान स्थलमा ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, बिरामी तथा सुत्केरीहरूलाई बिना लाइन मतदानको व्यवस्था गरिएको थियो। दिनभर वडाका दुई वटा बुथमा वडाध्यक्षका उम्मेदवार मात्र नभएर सबै राजनीतिक दलका मेयर तथा उपमेयरका उम्मेदवारहरू तथा जिल्लाका अन्य वडाका राजनीतिकर्मीको समेत बाक्लो उपस्थिति देखिएको थियो।

त्यसैगरी निर्वाचन सुरक्षित एवं भयरहित प्रमुख बनाउन निर्वाचन सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख सुरेश काफ्ले, अनुसन्धान प्रमुख, नेपाली सेनाका वाहिनी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायत इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी श्याम अर्यालसहितको टोलीले व्यापक सुरक्षा प्रबन्ध मिलाएको थियो।

नेपाली कांग्रेस, नेकपा एमाले तथा स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। मतदान प्रक्रियामा वडाध्यक्षका प्रत्यासीहरूमा नेपाली कांग्रेसका थलराज पुरी, एमालेका प्रदिप चौधरी र स्वतन्त्रका डिल्लीराज शर्मा रहेका छन्।

जनकल्याण माध्यमिक विद्यालय दुधरास बुथबाट १ हजार ९ सय २५ जनाले मतदान गरेका थिए भने दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथबाट २ हजार ४ सय १४ जनाले मतदान गरेको त्यहाँका निर्वाचन अधिकृतहरूले जनाएका छन्।

तुलसीपुरको मतगणना शुरु

यसैबीच तुलसीपुर-१७ मा मतदान सकिएलगत्तै सबै मतपेटिका तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा लगिएको छ। त्यहीँ मतगणना शुरु गर्ने अन्तिम तयारी भएको छ। मंगलबार रातिदेखि नै मतगणना स्थलका ५ स्थानमा मतगणना शुरु गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ।

मंगलबार बसेको सर्वदलीय बोर्ड बैठकले राति मतगणना शुरु गर्ने निर्णय गर्दै एजेन्टसमेत खटाइसकेको बताइएको छ। मतगणना स्थलमा सिसी क्यामेरासहित आवश्यक सुरक्षाकर्मी सहितको सुरक्षा व्यवस्थापन गरिएको निर्वाचन सुरक्षा समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.