|

काठमाडाैं : स्थानीय तहकाे निर्वाचन २०७९ मा राजनीतिक दलले भाग लिँदा यसपालि मात्र उदाएका केही दलले स्थानीय तहको प्रमुख जित्न नसकेपछि वडा अध्यक्ष र वडा सदस्य मात्रै जितेर भएपनि आफ्नो अस्तित्व जोगाएका छन्।

४ सय ८६ स्थानीय तहको अन्तिम मत परिणाम आइसक्दा यसपालि मात्र चुनावमा भाग लिएको एकीकृत समाजवादी ९ स्थानीय तहमा विजयी भइसकेको छ। ५ दलीय गठबन्धनभित्र रहेको सो दलले ९४ वटा वडा अध्यक्ष पनि जितेको छ।

अघिल्ला चुनावमा पनि भाग लिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ नेतृत्वको साथ पाएर चुनावमा होमिँदा २ स्थानीय तहमा बाजि मारिसकेको छ।

राप्रपा काठमाडौंको शंखरापुर नगरपालिकाको मेयर र हल्दीबारी गाउँपालिकामा विजयी भएको छ। अघिल्लो चुनावमा राजपा र सद्भावना पार्टी रहेपनि दुवै पार्टी मिलेर बनेको जसपा यसपालि १० स्थानीय तहमा विजयी भइसकेको छ।

केही महिना अघि मात्र जसपाबाट टुक्रिएको लोसपाले अहिलेसम्म पालिका प्रमुख या अध्यक्ष नजिते पनि २६ वटा वडा अध्यक्ष जितेको छ। यसैगरी सिके राउतको जनमत पार्टीले हनुमान नगर कंकालिनी नगरपालिकाको प्रमुखमा विजयी भएको छ।

यस्तै गैडहवा गाउँपालिकाको २ वटा वडामा पनि यो पार्टी विजयी भएको छ। रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलालीका ४ स्थानीय तहमा अग्रता लिएको छ। टीकापुर, जोशीपुर, भजनी सहितका ती स्थानीय तहका केही वडाहरूमा यो पार्टी विजयी भएको छ।

मंगोल नेशनल अर्गनाइजेसनले ३ वटा पालिकाको वडा अध्यक्ष जितेको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र चापाकोट नगरपालिकाका वडा अध्यक्ष सो पार्टीले जितेको हो। नेशनल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकाको  वडा नम्बर ९ मा जितेको छ।

नेपालका लागि नेपाली पार्टीले लालबन्दी नगरपालिका वडा नम्बर १७ मा दलित महिला सदस्य पद जितेको छ।

नयाँ नभएतापनि राष्टिय जनमुक्ति पार्टीले इलामको माङ्सेबुङ गाउँपालिकाको एउटा वडा अध्यक्ष जितेको छ।

यसैबीच, साना पार्टीहरु राष्ट्रिय जनमोर्चाले ४ तथा नेमकिपाले १ स्थानीय तहमा जित हाँसिल गरेका छन्। वीपी कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाकै डडेलधुरा स्थित गृह वडामै विजयी भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.