|

धनकुटा : धनकुटामा स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनबाट सर्वाधिक लाभ नेपाली कांग्रेसले उठाएको छ। केन्द्रमा सत्ता गठबन्धनका अन्य दलको साथ लिएर कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेलाई धनकुटा दोस्रोमा धकेलिदिएको मात्र छैन, एमालेको लालकिल्ला रहेको धनकुटा तोड्न सफल भएको छ।

धनकुटाका सातवटै स्थानीय तहमा गठबन्धन गरेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीमा गठबन्धनकै कारण कांग्रेसले मात्रै फाइदा लिएको देखिएको छ।

तालमेल नभएको भए कांग्रेसले यसै अनुपातको नतिजा प्राप्त गर्न नसक्नेमा आशंका पनि कायमै छ। धनकुटामा कांग्रेसबाट निर्वाचितले गठबन्धनकै बलमा नतिजा आफ्नो पक्षमा पारेका छन्।

छथर गाउँपालिकामा कांग्रेसका उम्मेदवारले झिनो मतले निर्वाचित भए। पाख्रिवास, महालक्ष्मी, साँगुरीगढीमा पनि विजयी भएको कांग्रेसले थोरै अन्तरले एमालेलाई पराजित गरेको छ। विजयी उम्मेदवारको मतान्तर विश्लेषण गर्दा तालमेल नभएको भए कांग्रेसले पुनः पराजय भोग्ने अवस्था देखिन्छ। २०७४ को स्थानीय निर्वाचनमा एमालेले धनकुटा सातवटै स्थानीय तहको प्रमुख र उपप्रमुख जितेको थियो।

गठबन्धनकै कारण कांग्रेसले धनकुटाका २६ वटा वडा जितेको छ। २०७४ को स्थानीय निर्वाचनमा ९ वटा वडाअध्यक्ष कांग्रेसले जितेको थियो।

धनकुटामा गठबन्धनको अर्को दल माओवादीलाई गठबन्धन गर्दा खासै फाइदा भएको देखिँदैन। २०७४ को स्थानीय तह निर्वाचनमा ५ वटा वडा जितेको माओवादी केन्द्रले यो पटक ३ वटा वडा मात्रै जितेको छ भने गठबन्धनका कारण छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष जितेको छ।

कांग्रेसले जितेको महालक्ष्मी, पाख्रिवास नगरपालिकामा उपप्रमुख माओवादीले पाएको भए पनि उपप्रमुख पराजित भएका छन्।

यस्तै, साँगुरीगढीमा कांग्रेस प्रमुख र उपप्रमुख जनता समाजवादी पार्टीका उम्मेदवार थिए। त्यहाँ पनि कांग्रेशले मात्रै जितेको छ। छथर जोरपाटी गाउँपालिकामा मात्रै गठबन्धनले प्रमुख उपप्रमुख जितेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ वटा वडा जितेको जनता समाजवादी पार्टी योपटक एउटा पनि वडा जित्न सकेन। एकीकृत समाजवादी पनि जनता समाजवादी जस्तै अवस्थामा रहेको छ।

माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीले वडाअध्यक्ष पाएको ठाउँका कांग्रेसले उम्मेदवारी दिएको थियो। सत्ता गठबन्धनका दलहरु वीच अघिल्लो चुनावमा आफू विजयी भएका स्थान र दोस्रो भएको भए सोही दलबाट उम्मेदवार बनाउने सहमति बनेको थियो। तर, सत्तारुढ दलहरूबीच धनकुटाका धेरै वडाहरुमा तालमेल हुन सकेन। धनकुटामा एमालेले जितेका स्थानमा सत्ता गठबन्धनबाट प्रतिस्पर्धा गर्ने गरी तालमेल गरिएको थियो।

हुन त धनकुटाका कतिपयमा उम्मेदवारको मनोनयन फिर्ता लिने समय सकिएपछि पनि एकले अर्कालाई सहयोग गर्ने गरी वचनबद्धता गरी उम्मेदवारी निष्क्रिय गराएका थिए। धनकुटामा सत्ता गठबन्धनको तालमेल र एमाले विभाजित भएको प्रत्यक्ष लाभको भरपुर उपयोग कांग्रेसले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.