|

काठमाडौ : कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी  भएका छन्।  
  

कार्कीले ११ हजार ३२२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याएको निर्वाचन अधिकृत शारदा राउतले  बताइन्। 
    
विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगरप्रमुख पदमा कृष्णहरि थापा निर्वाचित भएका थिए। एमाले फुटेपछि उनी नेकपा (एकीकृत समाजवादी)मा लागेका थिए। यसपटक पनि समाजवादीका तर्फबाट नगर प्रमुख पदमा लडेका तेस्रो भए। 
  
यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले नौ हजार ९७५ मतका साथ विजय हासिल गरेकी छन्। उनलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र)का भोला चापागाईंले पाँच हजार ४२२ मत पाए।

नगरपालिकाको वडा नं १, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन्। वडा नं ६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जित्न सफल भएको नगर निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेस वडा नं २, ५, ७, ८ र ९ मा वडाध्यक्ष जित्न सफल भएको छ।
 
 नगरपालिकामा कुल ३५ हजार ४९३ मतदाता छन्। त्यसमध्ये २६ हजार ९२८ मत खसेको थियो। यो कुल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो। सो निर्वाचनमा एमाले ६ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो। कांग्रेसले तीनवटा वडामा मात्र जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.