|

काठमाडौं : मुलुकमा संघीयता कार्यान्वयन पछिको दोस्रो स्थानीय तहको चुनावमा मधेशवादी दलहरु खुम्चिएका छन्।

मधेशी समुदायका मुद्दालाई राजनीतिक एजेण्डा बोकेका दल विभाजन हुने तथा असन्तुष्ट नेताहरू पार्टी परित्याग गरी अन्य पार्टी प्रवेश गरेका कारण ती दलहरूको प्रभावसमेत खुम्चिन पुगेको छ।

गत स्थानीय तहको निर्वाचनमा मधेशी मुद्धा बोकेर मैदान उत्रिएका दलका प्रतिनिधिले मधेशी जनताको भावना अनुसार काम गर्न नसक्दा ती दलहरु प्रति आकर्षण कम भएको राजनीतिज्ञहरू बताउँछन्।

यसैगरी पार्टीका स्थानीय रुपमा प्रभावशाली मानिएका नेताहरु नै रुष्ट बनेर ठूला तथा राष्ट्रिय दलमा समाहित भएका कारण पनि यिनीहरु खुम्चिएका हुन्। मधेशवादी दलहरु खुम्चिँदा मधेश प्रदेशमा राष्ट्रिय दलको वर्चश्व देखिएको छ।

मधेशका जनताहरूले पनि मधेशी दलहरूलाई भन्दा बढी ठूला दलहरूलाई नै भरोसा गर्न थालेको मधेश प्रदेशका थाहाकर्मी निरञ्जन कुमार साहले बताए। उनका अनुसार अहिलेको स्थानीय चुनावमा सवैभन्दा कम मत लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई आएकाे छ।​

मधेशवादी दलहरुले परिवार तथा जातिवादमा लागेका कारण जनमत गुमाउन पुगेको पत्रकार साहको बुझाई छ। मधेश प्रदेशका जनताको बुझाइमा अहिले सबैभन्दा राम्रा पार्टी कांग्रेस र एमाले भएकाे विश्लेषण गरिएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा मधेशवादी दल संघीय समाजवादी फोरम नेपालले २६ पालिका प्रमुख र २५ मा जितेको थियो। अर्काे दल नेपाल लोकतान्त्रिक फोरमले ३/३ स्थानीय पालिकामा प्रमुख र उपप्रमुख जितेको थियो।

पाँच वर्षे कार्यकालका बीचमा पार्टी एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल जसपाले यस पटकको निर्वाचनमा शनिबारसम्मको मत परिणाम अनुसार मधेश प्रदेशका २० स्थानीय तहको प्रमुख र २२ पालिकामा उपप्रमुख पदमा विजय हाँसिल गरेको छ।

पार्टीको आन्तरिक विवादका कारण जसपा बाटै अलग भएर दर्ता भएकाे लोसपाले ६ नगरपालिका प्रमुख र ४ गाउँपालिका अध्यक्षमा जित हात पार्दा ८ उपाध्यक्ष जितेको छ।

एक मात्र गाउँपालिका अध्यक्ष जितेको तराई मधेश लोकतान्त्रिक पार्टीका ३ उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। तमलोपाले महोत्तरीका महोत्तरी गाउँपालिका अध्यक्ष र वडा नम्बर ३ र ४ मा जित हात पारेको छ भने जनकपुरधाम उपमहानगरपालिका ३ को वडाध्यक्षमा पनि तमलोपाकै उम्मेदवार निर्वाचित भएका छन्।

यो पटक निर्वाचनको मैदानमा पहिलो पटक उत्रिएको सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका प्रमुख र वलान वहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नै जिते। जनमत पार्टीका उम्मेदवार सप्तरीका १० महोत्तरी १ र धनुषामा १ गरी जम्मा १३ वडामा अध्यक्ष निर्वाचित भएका छन्।

अर्का साना दल नेपाल जनता पार्टीले धनुषा कमला नगरपालिका ९ को वडा अध्यक्ष जितेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय दलहरुमा पनि सबैभन्दा बढी मत नेपाली कांग्रेसको पक्षमा परेको छ। मधेश प्रदेशका ८ जिल्लाका ४१ पालिका प्रमुख र ४६ उपाध्यक्ष कांग्रेसको पोल्टामा परिसकेको छ।

कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार २२ पालिका प्रमुख र २१ उपाध्यक्ष पदमा जितेको छ। माओवादीले ७ नगरपालिका सहित ९ प्रमुख र ८ उपप्रमुखमा जित्न सफल भएको छ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले मधेश प्रदेशका ६ वडाध्यक्ष पदमा विजय हाँसिल गरेको छ। गत स्थानीय तहको चुनावपछि मधेशी दलका नेताहरुले मधेशी समुदायका मूल मुद्दाहरु उठाउन नसक्दा पनि यी दलहरु प्रति जनताको आकर्षण कम भएको माओवादी केन्द्रका मधेश इन्चार्ज गणेश साहको तर्क छ।

‘मधेशका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरु उठाउन नसकेको र निर्वाचनमा राजनीति भन्दा पनि पैसाको धेरै ठूलो प्रभाव भएकोले यस्तो भएको हो।’ उनले भने, ‘तर पनि निर्वाचनमा गइसकेपछि परिणाम स्वीकार्नु पर्छ र आगामी दिनमा आ आफ्ना पार्टीका मुद्धा र जनतामा आएको चेतनाको समीक्षा गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.