धनगढी मोडेल स्थापित गर्ने घोषणा

|

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले आफ्नो पहिलो प्राथमिकता सचिवालय सुदृढ गर्ने रहेको बताएका छन्। आइतबार बिहान निर्वाचनको अन्तिम मत परिणाम घोषणापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयर हमालले यस्तो बताएका हुन्।  

‘मेरो पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने हो किनभने सचिवालय सुदृढीकरण नगरेसम्म कुनै पनि योजना सही तरिकाले कार्यान्वयन हुँदैन’, उनले भने, ‘यहाँ जति सचिवालय छन्, त्यसलाई पारदर्शी, चुस्त, दुरुस्त र जनमुखी कसरी बनाउनेबारे कार्यालय प्रमुख, शाखा प्रमुखसँग बसेर, सल्लाह गरेर अगाडि बढ्छौँ।’

उनले इमान्दारीपूर्वक धनगढीलाई विकास गर्ने बताउँदै यो आर्थिक वर्षमा पूरा नभएका योजनालाई सम्पन्न गर्नेतिर ध्यान दिने उल्लेख गरे। उनले भने, ‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजना छन् तिनलाई समयसीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान दिन्छौं।’

साथै उनले धनगढीलाई योजनाबद्ध विकासतर्फ अगाडि बढाउने प्रतिबद्धता समेत गरेका छन्। ‘चुनौतीलाई अवसरमा बदल्ने भनेर आएको हुँ’, उनले भने, ‘धनगढी बनाउनका लागि सबैले समान दायित्व निर्वाह गर्ने वातावरण सृजना गर्न समन्वयकर्ताको रूपमा म मेयर निर्वाचित भएको छु। मैले यहाँका सबै सम्भावनालाई जोडेर धनगढीलाई योजनाबद्ध विकासतर्फ अगाडि बढाउने अवसरका रूपमा लिएको छु।’

हमाल सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका निवर्तमान मेयर नृपबहादुर वडलाई १२ हजार ४८ मतले हराउँदै विजयी भएका हुन्। हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन्।

को हुन् गोपाल हमाल ?

२०२० साल जेठ १६ गते कैलालीको तत्कालीन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका हमाल कृष्णप्रसाद र झरेन्द्रदेवीका माइला छोरा हुन्। उनले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरे। उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसबाट हासिल गरे।

भारोत्तोलनका राष्ट्रिय खेलाडी रहेका हमाल खेलकुदका विभिन्न संस्थामा पनि लामो समय आबद्ध रहे। युवा उमेरदेखि नै हमालले धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरे। ०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाका लागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ आयोजना भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए।

त्यसयता उनले कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए। उक्त अभियानमार्फत हमालको नेतृत्वमा सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास भएको थियो। त्यसअघि सुदूरपश्चिम अभावै अभावको क्षेत्र हो, त्यहाँ देउकी प्रथा छ, छाउपडी प्रथा छ, सामाजिक कुरीति छन्, दलित गैरदलितमा भेदभाव छ भनेर नकारात्मक कुराको बढी प्रचार हुन्थ्यो।

त्यसलाई चिर्न सुन्दर सुदूरपश्चिम अभियान चलाइएको थियो। सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिर देशव्यापी रूपमा प्रदर्शनीमा लगिएपछि उक्त अभियान चर्चामा आएको थियो। त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार)का रूपमा पनि लिइन्छ।

डेढ दशकअगाडि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा संघले सर्वोत्कृष्ट शाखाको पुरस्कार पायो। उनकै नेतृत्वमा सुदूरपश्चिममा पुग्ने केन्द्रका प्रभावशाली नेतालाई यहाँका समस्या सम्झाउन लागि मागका बुँदा बराबर तौल भएको माला लगाउने अभियान शुरु गरियो। धनगढीमा महोत्सवको शुरुवात गरेर २१ बुँदे मागसहित २१ किलोको माला शेरबहादुर देउवाले त्यही अभियानअन्तर्गत पाएका थिए।

हमालले धनगढी उपमहानगरमा कपडा बैंक र निःशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरेका छन्। दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सयभन्दा बढीले रोजगारी पाएका छन्।

हमालले व्यवसाय भने टिनको बाकस बनाउन शुरु गरेर थालेका थिए। मेयरमा निर्वाचित भएका उनले उपमहानगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई धनगढी मोडेल स्थापित गर्ने घोषणा गरिसकेका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.