|
तस्वीर सौजन्य : न्युयोर्क टाइम्स

वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘म गलेको छु, म थाकेको छु। हामीले केही कदम उठाउनै पर्छ।’

टेक्ससको प्राथमिक विद्यालयमा गोलीकाण्डपछि बाइडेनले उक्त टिप्पणी गरेका छन्।

‘हामी बन्दुकलाई समर्थन गर्नेहरूविरुद्ध कहिले खडा हुने?’‚ एशिया भ्रमणबाट फर्केको केही समयपछि ह्वाइट हाउसमा बाइडेनले भने।

देशमा हतियार बिक्रीमा नयाँ प्रतिबन्ध लगाउन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

अमेरिकाको टेक्सस राज्यको एक प्राथमिक विद्यालयमा निर्दोष बालबालिकामाथि अन्धाधुन्ध गोली प्रहारको घटनाले सिंगो देशलाई हल्लायो। यो घटना सुन्ने जो कोहीले पत्याउन सकेनन्। कसरी एक १८ वर्षीय किशोरले विद्यालयमा पसी गोली चलाएर १९ बालबालिकासहित २१ जनाको हत्या गरे।

त्यसपछि प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएका थिए। आक्रमणकारी विद्यालयको पुरानो विद्यार्थी भएको एक प्रहरी अधिकारीले बताए। आक्रमणकारीले विद्यालयमा प्रवेश गर्नेबित्तिकै बन्दुकले अन्धाधुन्ध गोली चलाउन थाले। यो घटना सान एन्टोनियोबाट ८० किलोमिटर पश्चिममा रहेको उभाल्डेमा भएको हो।

 

यस घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दुःख व्यक्त गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अब पहल गर्ने वेला आएको बताए।

बाइडेन एशिया जानुअघि न्यूयोर्कमा किराना पसलमा भएको गोलीकाण्डमा १० जना अश्वेत व्यक्ति मारिएका थिए।

एकपछि अर्का यस्ता घटनाले अमेरिकामा बन्दुक हिंसा भयावह रहेको स्पष्ट देखिन्छ। बाइडेनले भने, ‘यस्तो सामूहिक गोलीकाण्डका घटना विश्वमा कतै विरलै हुन्छन्। किन ?’

भगवान्‌को नाममा ‘बन्दुकको पक्ष’मा कहिलेसम्म उभिने र त्यसको विरुद्धमा के गर्न सक्छौँ भन्ने प्रश्न राष्ट्रका सामु रहेको उनले बताए। आफ्ना सन्तानलाई फेरि कहिल्यै भेट्न नपाउने बावुआमाका बारेमा सोच्नुपर्छ। अमेरिकी नागरिकलाई दुई जी (गड र गन)ले मात्रै बचाउँछन् भन्ने धारणा प्रचलित छ।

 

हामी तिनीहरूलाई माफ गर्दैनौं

अमेरिकी राष्ट्रपतिले अब कारबाही गर्ने समय आएको बताएका छन्। हामीले कानुनको विरुद्धमा जाने र बन्दुक उठाउनेहरूलाई भन्नु पर्छ, हामी तिनीहरूलाई माफ गर्दैनौं। यसअघि अमेरिकी राष्ट्रपतिले टेक्ससका गभर्नर ग्रेग एबोटसँग कुराकानी गरेका थिए। उनले आफूसँग विद्यालयमा भएको घटनाबारे जानकारी लिनुका साथै सक्दो सहयोग गर्ने आश्वासन दिए।

राष्ट्रिय शोक घोषणा

टेक्ससमा भएको आक्रमणपछि राष्ट्रिय शोकको घोषणा गरिएको छ। ह्वाइट हाउसमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति बाइडेनको निर्देशनमा सबै सरकारी कार्यालयमा झण्डा आधा झुकाइएको छ।

सन् २०२० मा १ करोड १० बन्दुक बनाइयो

अमेरिकी बन्दुक निर्माताहरूले सन् २०२० मा १ करोड १० लाखभन्दा बढी बन्दुक बनाए। प्रतिवेदनअनुसार अमेरिकामा सन् २००० मा ३९ लाख ३२ हजार ७३४ बन्दुक उत्पादन भएको थियो। सन् २०२० मा यो संख्या बढेर १ करोड १० लाख ६३ हजार ९१० पुगेको थियो।

सन् २०१६ देखि २०२१ सम्म ४५ हजारभन्दा बढी बन्दुक अवैध रूपमा बनाइएको अमेरिकी प्रशासनको अनुमान छ। अवैध बनाइएका यस्ता बन्दुकलाई भूत बन्दुक अर्थात् ‘गोस्ट गन’ भनिन्छ। त्यस्ता बन्दुक विभिन्न ठाउँबाट बरामद गरिएको हो। सन् २०२१ मा मात्रै यस्ता २० हजार बन्दुक बरामद गरिएको थियो।

५० वर्षअघि राष्ट्रपति लिन्डनको चेतावनी

तत्कालीन अमेरिकी राष्ट्रपति लिन्डन बेन्स जन्सन (सन् १९६३-१९६९)ले अमेरिकामा हुने अपराधहरूमा बन्दुक प्राथमिक उपकरण भएको घोषणा गरेका थिए। उनले अमेरिकीको बन्दुके संस्कारका कारण दुःखद परिणाम उत्पन्न भएको बताएका थिए।

उनले सन् १९६८ अक्टोबर २२ तारिखमा उनले ‘गन कन्ट्रोल एक्ट’मा हस्ताक्षर गरेका पनि थिए। अमेरिकी इतिहासमै बन्दुक नियन्त्रणका लागि यो निकै शक्तिशाली कानुन थियो। उनले त्यतिखेरै जोन एफ केनडी, रबर्ट एफ केनडी‚ मार्टिन लुथर किङ जुनियरको हत्या भएको भन्दै उनले अमेरिकामा बन्दुके संस्कार भयावह हुने चेतावनी दिएका थिए।

‘गन कन्ट्रोल एक्ट १९६८’मा राइफल वा कुनै पनि हतियार किन्न कम्तीमा १८ वर्ष र ह्यान्डगन किन्न २१ वर्ष पुग्नुपर्छ। मानसिक रोगी, दुर्व्यसनी, गुण्डा, दुई वर्षभन्दा बढी सजाय पाएकाले बन्दुक किन्न पाउँदैनन्।

५० वर्षअघि राष्ट्रपति लिन्डनको भनाइ आज अमेरिकामा पनि उत्तिकै सान्दर्भिक छ। अमेरिकामा ‘सशस्त्र, आत्मनिर्भर नागरिक’ को संख्या अहिले लगातार बढिरहेको छ।

यति मात्र होइन, बन्दुके संस्कृतिलाई बढावा दिँदै अमेरिकाका धेरै राज्यले नागरिकलाई अनुमतिवना वा तालिमबिना ह्यान्डगन बोक्न अनुमति दिएका छन्। सन् २०१७ मा अमेरिकामा मानिसभन्दा बन्दुकको संख्या बढी पुगेको थियो। वासिङ्टन पोस्टले एक अध्ययनलाई उद्धृत गर्दै अमेरिकामा प्रति १०० नागरिकमा १२०.५ बन्दुक रहेको बताएको छ। यो विश्वकै उच्च संख्या हो।

विनाशकारी बन्दुके संस्कार

अमेरिकाको इतिहासमा सबैभन्दा क्रूर हत्यामध्येको एक यो गोलीकाण्डका लागि जिम्मेवार आक्रमणकारी साल्भान्डर रामोसले स्कुलमा आक्रमण गर्नुअघि आफ्नी हजुरआमालाई गोली हानेर हत्या गरेका थिए।

अमेरिकी राष्ट्रपति बाइडेनले हत्याको लागि 'बन्दुके समर्थन'लाई दोष दिएका छन्। अब यसको विरुद्धमा कारबाही गर्ने वेला आएको उनले बताए। बाइडेनले जेसुकै दाबी गरे पनि अमेरिकामा बन्दुक लबी यति शक्तिशाली छ कि कसैले यसको विरोध गर्ने आँट गर्दैन। यही कारण अमेरिकामा बन्दुक संस्कृति ‘महामारी’ का रूपमा परिणत भएको छ।

अमेरिकामा मानिसहरूले तरकारी किने जस्तै गरी बन्दुक किन्न सक्छन्। यसमा एआर-१५ जस्ता अर्ध-स्वचालित राइफलहरू पनि समावेश छन्। यही कारणले गर्दा अमेरिकामा बारम्बार गोलीबारीमा सामूहिक हत्या हुने गरेको छ। युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार सन् २०२० मा ४५,२२२ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो। सोही अवधिमा सडक दुर्घटनामा ४० हजार ६९८ जनाको मात्रै मृत्यु भयो। 

यति मात्र होइन, तथ्यांक हेर्दा सन् २०१० पछि अमेरिकामा बन्दुकको गोली लागेर मृत्यु हुनेको संख्या ४३ प्रतिशतले बढेको छ। ४५,२२२ बन्दुक प्रहार गरी भएका मृत्युमध्ये, ५४ प्रतिशत आत्महत्या र ४३ प्रतिशत हत्या थिए।

शक्तिशाली बन्दुकका व्यापारी

वास्तवमा अमेरिकामा बन्दुके संस्कृतिका कारण हतियार कम्पनीहरूले अकुत कमाउँछन् र यसलाई अन्य उद्योगहरू जस्तै नाफाको व्यापार मानिन्छ। यी कम्पनीले अमेरिकी राष्ट्रपतिको चुनावका वेला अत्यधिक चन्दा दिन्छन्, जसले गर्दा कुनै पनि राष्ट्रपतिले उनीहरूविरुद्ध ठोस कारबाही गर्न सक्दैनन्। अमेरिकामा बन्दुक बेच्नेहरूको स‌ंगठन नेशनल राइफल एशोशिएशन निकै शक्तिशाली मानिन्छ। अमेरिकी सरकारमा उनीहरूको वर्चस्व रहेको हुन्छ। यति मात्र होइन, बन्दुक संस्कृति मन पराउने अमेरिकीको ठूलो संख्या छ। यही कारण अमेरिकामा बन्दुके संस्कार शक्तिशाली छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.