|

काठमाडौँ : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'ले दर्शकको उत्साहजनक साथ पाएको छ। पहिलो दिनमै ३ करोडभन्दा बढी कमाइ गरेको फिल्मले बक्स अफिसमा अरू धेरै कीर्तिमान बनाउने अनुमान गरिएको छ। 

सीमित बजेट, सीमित स्रोत साधनका साथ शुरु भएको कबड्डी यात्रा पहिलो फिल्म प्रदर्शनको ८ वर्षमा अहिलेको अवस्थामा आएको हो। चौथो फिल्मसम्म आइपुग्दा कबड्डी नेपाली फिल्म उद्योगको सबैभन्दा ठूलो ब्राण्ड बनेको छ भन्दा फरक नपर्ला। जुन फिल्मको एडभान्स बुकिङ र शुरुका दुई दिनमा दर्शकको साथले पनि देखाइसकेको छ।

रामबाबु गुरुङको निर्देशन शिल्प, फिल्मका कलाकारको अभिनय शिल्प, दर्शकको विश्वास र दर्शकको विश्वास नतोड्ने निर्माण टोलीको प्रयासले कबड्डी ४ को यो सफलता निर्धारण गरेको हो।

कबड्डी अर्थात् काजी अर्थात् काजीको प्रेम कहानी(असफल) अर्थात् काजीको प्रेममा अवरोध बन्न आउनेसँगको कबड्डी कबड्डी खेल चौथो फिल्ममा आएर टुंगिएको छ। यसअघिका फिल्ममा जस्तै कबड्डी ४ पनि काजीकै प्रेम र विवाहको वरिपरी घुमेको छ।

पहिलो फिल्मदेखि जारी रहेको काजीको असफल प्रेम कहानी शृंखला लगातार तेस्रो फिल्मसम्म चल्यो। २८/३० वर्षे जोशिलो  काजीको प्रेम गर्ने शैली फरक थियो जसले गर्दा उसले आफ्नो पहिलो प्रेम मैया सोल्टिनीलाई पाउन सकेन। मैयाको फोटो खोलामा बगाएर आफू काशी सोल्टिनीको प्रेममा बगेको काजी फेरि तिरैमा छुट्यो। 

जति गर्दा पनि नभएपछि थाकेको काजीको कथा कबड्डी ४ मा छ। जहाँ कथाकारले शान्ति सोल्टिनीको इन्ट्री गराएका छन्। काजी थाकेको छ, माया, प्रेम, विवाहदेखि विरक्तिएको छ तर दर्शक थाकेका छैनन्। काजीको बिहे नगरेसम्म शान्त हुने मुडमा छैनन्। चौथो फिल्ममा काजीलाई शान्तिसँग देख्दा दर्शकमा अलिकति शान्ति छाएको छ, काजीको जिन्दगी पनि शान्तिसँग बितोस् भन्ने चाहना दर्शकको छ।

अब्बल निर्देशकको छबि बनाएका रामबाबुबाट दर्शकले पनि राम्रै कामको अपेक्षा गर्ने गर्छन्। फिल्मको कथा बुन्ने तरिका, पात्रको संवाद र निर्देशकीय पाटो रामबाबुको आफ्नै शैलीको छ। जुन शैली कबड्डी ४ मा पनि देख्न सकिन्छ। 

स्याउ खाएर मात्रै पनि दर्शकलाई कसरी हसाउन सकिन्छ, सुर्ती खान्नँ भन्दा मात्रै पनि दर्शक कसरी हाँस्छन् भन्ने कुरा फिल्मका निर्देशकलाई राम्रै थाहा छ। 
एउटा मान्छे जीवनदेखि आजित भएर सन्न्यास लिँदा पनि, आफ्नो छोरोलाई फर्काउन आमाले रोइकराइ गर्दा पनि, कुन संवाद बोल्दा, कतिवेला नबोल्दा दर्शक कसरी हाँस्छन् निर्देशकलाई थाहा छ। 

केही नयाँ पात्रको आगमन र केही पुराना पात्रको पुनरागमनले फिल्मको कथामा नयाँ मोड र गति दिएको छ। कबड्डी कबड्डीबाट बमकाजी आएको छ, कबड्डी कबड्डीमै भागेको झाँक्रीले कबड्डी ४ मा फेरि स्थान पाएको छ। 

तर, पुराना पात्र कथाको मा भन्दा पनि अन्तिम म्याच अझ रोमाञ्चक बनाऊँ भन्ने उद्देश्यले कथाकारको करले आए जस्तो लाग्छ। जसको असर कथाको लयमा परेको हो कि जस्तो लाग्न सक्छ। नलाग्न पनि सक्छ।

काजी, बिके र छन्त्यालको मित्रताको डोरी यसपटक अलि खुकुलो भएको हो कि जस्तो लाग्न सक्छ। यो फिल्मलाई छुट्टाएर हेर्दा स्वभाविक लागे पनि यसले गर्दा अघिल्ला फिल्ममा देखिएको उनीहरूको मित्रतामा प्रश्न उठ्न सक्छ। काजी र बमकाजीमा बढी ध्यान केन्द्रित गर्दा अन्य पात्र बिके, छन्त्याल र शान्ति अलिकति अपूर्ण रहे कि भन्ने जिज्ञासा दर्शकको मनमा उठ्न सक्छ। नउठ्न पनि सक्छ।

फिल्म हेरिराख्दा काजी विरक्तिएको देखेर भाग्य लेख्ने विधाताहरू ऊप्रति अलिक उदार भए जस्तो लाग्न सक्छ। फिल्ममा मिस शान्तिको प्रवेशले कथालाई राम्रो मोड दिएको त छ तर शान्तिको झुकाव शुरुदेखि नै काजीतर्फ हुनुले खेल एकतर्फी भए जस्तो लाग्न सक्छ। 

अन्तिम खेलमा काजीलाई सजिलो बनाम्, बलियो बनाम् भन्ने कथाकारको चाहना हुन सक्छ। जुन जायज पनि हो, धेरै दर्शकको चाहना पनि हो तर त्यसले शान्तिको चरित्र निर्माण अलि खँदिलो नभएको हो कि जस्तो लाग्न पनि सक्छ। नलाग्न पनि सक्छ। अनि त्यो जरुरी छ कि छैन भन्ने अर्को प्रश्न रह्यो।

समग्रमा कबड्डी ४ ले निराश भने बनाउँदैन। फिल्मको अन्त्य भने दर्शकले अपेक्षा गरेअनुसारको नहुन सक्छ। काजीको बिहे र प्रेमको उत्तर खोज्न गएका दर्शक सन्तुष्ट नहुन पनि सक्छन्‚ हुन पनि सक्छन्।

कबड्डीकै अघिल्ला फिल्मसँग दाँज्ने हो भने तलमाथि लाग्न सक्छ तर फिल्मले भरपूर मनोरञ्जन भने दिन्छ। कबड्डी ४ को यो सफलताले कबड्डी फ्रेन्चाइजका चारवटै फिल्मले एकसाथ पुरस्कार पाएको मान्न पनि सकिन्छ।

कबड्डीको अन्तिम खेलपछि रामबाबु बमकाजी पात्रलाई लिएर अर्को मास्टर बमकाजी बनाउने तयारीमा छन्। जुन कबड्डीका दर्शकका लागि खुसीको खबर हो। साथै यो प्रयोग नेपाली फिल्म उद्योगकै लागि पनि नौलो प्रयोग हुनेछ। 

कोरोना कालपछि नेपाली फिल्म उद्योग पहिलेको लयमा पनि आउन सक्छ कि सक्दैन भन्ने शंका रहेका वेला नेपाली फिल्म इतिहासमै सबैभन्दा धेरै एडभान्स बुकिङ, पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म बनेर कबड्डी ४ ले शुभ संकेत गरेको छ। 

फिल्म हेर्ने दर्शकलाई किन हेर्ने भन्ने थाहा छ, आ-आफ्नै कारण छन्। हेर्ने नसोचेका दर्शकले पनि फिल्मको क्रेज देखेर हेर्ने मनस्थिति बनाइरहेका छन्। कबड्डी ४ को यो प्रदर्शनले नेपाली फिल्मका दर्शक उल्लेख्य रहेको तर त्यो अनुसारको फिल्म प्रदर्शन नभएको प्रमाणित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.