संकटमा-दार्जीलिङको चिया

|

इलाम : भारतीय चिया अन्तरराष्ट्रिय बजारबाट फिर्ता आउन थालेको छ। भारतीय टी एक्सपोर्टर्स एसोसिएसन (आईटीईए) का अध्यक्ष अंशुमान कनोरियाले कीटनाशक र रसायनको मात्रा बढी पाइएपछि अन्तरराष्ट्रिय बजार र आन्तरिक खरिदकर्ताले भारतीय चिया फिर्ता गरिरहेको बताए।

विश्व चिया बजारमा श्रीलंकाको स्थिति कमजोर हुँदा भारतको चिया बोर्डले निर्यात बढाउन खोजिरहेको छ। गुणस्तरमा ह्रास र पेस्टिसाइडको प्रयोग उच्च पाइएपछि चिया फिर्ता आइरहेको छ। कनोरियाले चियाका लागि धेरै देशले कडा नियम पालना गरिरहेको बताए। धेरै देशले युरोपियन युनियन (ईयु) मापदण्डहरू पछ्याउँछन् जुन एफएसएसआई नियमहरू भन्दा कडा छन्।

नेपाली चियामा किटनाशक र रासायनिक पदार्थ बढी मात्रामा भेटिएको भन्दै भारतले वर्षेनि सीमानाकामा सातासम्म तयारी चिया रोकेर राख्ने गरेको थियो। तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फूड ल्याबोरेटरी’ मा नमुना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने व्यवस्था भारतले ल्याएपछि मुख्य सिजनको उत्पादन चियाले समयमा बजार पुग्न समस्या हुँदै आएको थियो।

भारत निर्यात हुने चिया मात्रै होइन, तेस्रो देश निकासीका लागि भारतीय भन्सार पुगेका चियाका ट्रक पनि रोकिन्थे। भारतीय व्यवसायीले आफ्नो स्वार्थपूर्ति गर्न नेपालमा उत्पादित चियामा अवरोध खडा गर्दै आएका थिए। नेपाली प्रयोशालामा समस्या, भारतले मागेअनुसार गुणस्तर दिन नसकेको आरोप भारतीय व्यवसायीको छ । लकडाउनअघि दार्जीलिङकी पश्चिम बंगाल राज्यसभा सांसद शान्ता क्षेत्रीले नेपाली चिया गुणस्तरहीन र स्वास्थ्यका दृष्टिले अखाद्य भएको भन्दै तत्काल आयात रोक्न संसदमा माग गरेकी थिइन्। त्यसअघि दार्जीलिङ टी एसोसिएसनले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जीलिङ भ्रमणमा आएका वेला नेपाली चियाको आयात रोक्न आग्रह गरेको थियो।

गत वर्ष मात्रै भारतीय टी बोर्डले नेपालमा उत्पादन भएको चियाको कुनै पनि मापदण्ड नभएको चिठी वाणिज्य मन्त्रालयमा पठाउँदै चिया आयातमा अवरोध सृजना गरेको थियो। भारतले एफएसएसए (आयात) विनियम २०१७  लागू गरेको छ। भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआई) अन्तर्गतका ३४ वटा मापदण्डमध्ये तीनदेखि चारवटा जाँच गर्दा समेत नेपालको चिया गुणस्तरीय नभएको आरोप लगाउँदै आएको थियो। अहिले भारतीय चिया नै विश्व बजारको गुणस्तर अनुसार नपाइएको हो। 

धेरै एफएसएसआई छुट चाहन्छन्

कनोरियाका अनुसार देशमा बेचिने सबै चिया भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआई) को मापदण्ड पूरा गर्नुपर्छ तर धेरैजसो क्रेताले रासायनिक सामग्री उच्च भएको चिया किनिरहेका छन्। एफएसएसआईले तोकेको सीमामा अधिकतम अवशेष स्तर (एमआरएल) बढी भएको र नमिलेको पाइएपछि अप्रिलदेखि मे महिनाको मध्यसम्म लिलामीमा रहेका फस्ट फल्स चिया व्यापारीले किनेनन्। कानुन पालना गर्नुको सट्टा धेरै मानिसले सरकारलाई एफएसएसआई मापदण्ड अझ उदार बनाउन आग्रह गरिरहेको कनोरियाले बताए। 

दार्जीलिङको चिया संकटमा 
भारतमा सबैभन्दा गुणस्तरीय चिया दार्जीलिङको मानिन्छ। नेपाली सीमावर्ती क्षेत्रबाट आयात गरिएको हरियो पत्तीलाई दार्जीलिङका उद्योगले खरिद गरेर आफ्नो ब्रान्ड नाममा बेच्ने गरेका थिए। केही वर्षदेखि दार्जीलिङ टी बनाउने केही उद्योगले नेपालबाट आयात चिया प्रमाणीकरण नभएको भन्दै कारबाही गर्नुपर्ने भारतीय टी बोर्डले माग गरेको थियो।

भारतीय टी बोर्डका अनुसार ३ वर्षमा ६० हजार ३५० टन चिया भारततर्फ निर्यात गरिएको थियो। तीमध्ये २३ हजार ४३० टन फिर्ता भएको थियो। बाँकी रहेको ३६ हजार ९२० टन किलोग्राम चिया आन्तरिक बजारमा बिक्री गरिएको छ। नेपालबाट मात्रै ६ वर्षको अवधिमा ७१ हजार ९ सय टन हरियोपत्ती निर्यात भएको छ। चियाकै कारण दार्जीलिङमा करिब ८ करोड डलर वर्षेनि भित्रिदै आएको छ।

दार्जीलिङ चिया विश्वकै महँगो चियामध्ये एक हो। युरोपेली बजारमा दार्जीलिङको चिया प्रतिकिलो मूल्य ८५० डलरसम्म विक्री हुने गरेको छ। दार्जीलिङ चिया भारतबाट ’पिजीआई’ भनिने ठाउँ विशेषको नाममा युरोपेली संघको मान्यता पाउने भारतको पहिलो खाद्य र कृषि उत्पादन समेत हो। भारतको चियामा अत्यधिक मात्रामा पेस्टिसाइडको प्रयोगका कारण दार्जीलिङबाट अन्तरराष्ट्रिय बजारमा जाने चियामा समेत असर देखिने सम्भावना छ। 

उत्पादनमा दोस्रो‚ निर्यातमा चौथो
चीनपछि भारत विश्वको दोस्रो ठूलो चिया उत्पादन गर्ने देश हो। स्वदेशमा उत्पादन हुने चियाको ८९ प्रतिशत स्वदेशमै खपत हुन्छ। रूस, इरान, युएई, अमेरिका र चीन भारतीय चियाको निर्यातका लागि अग्रणी बजार हुन्। भारतको असम, दार्जीलिङ र नीलगिरी जस्ता स्वादहरू विश्वमा उत्कृष्ट छन्, तिनीहरूको कडा स्वाद र तीव्र सुगन्धका लागि अन्तरराष्ट्रिय बजारमा परिचित छन्।

भारतले चिया निर्यातमा आफ्नो सम्भावनालाई सदुपयोग गर्न सकेको छैन। केन्या (२८ प्रतिशत), चीन (१९ प्रतिशत), र श्रीलंका (१४ प्रतिशत) पछि भारत चिया निर्यातको चौथो ठूलो निर्यातकर्ता देश हो। विश्व निर्यातको ११ प्रतिशत भारतले धानेको छ। 

३ लाख टन निर्यात गर्ने लक्ष्य
सन् २०२१ मा भारतले १ लाख ९५ हजार ९ सय टन चिया निर्यात गरेको थियो। प्रमुख खरिदकर्ताहरू स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सिआइएस) देशहरू र इरान थिए। बोर्डले यो वर्ष ३ लाख टन चिया निर्यात गर्ने लक्ष्य लिएको छ। भारतले सन् २०२१ मा ५,२४६.८९ करोड रुपैयाँको चिया निर्यात गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.