विद्यालय भर्ना अभियान अलपत्र

|

हेटौँडा : सरकारले २०७५ सालमा विद्यालय भर्ना अभियान सञ्चालन गर्यो। कुनै बालबालिका विद्यालय बाहिर रहनु नपरोस् भन्दै सरकारले नै देशैभरी भर्ना अभियान सञ्चालन गरेको थियो।

सरकारले भर्ना अभियान सुरु गरेपछि देशैभर प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री, पालिका अध्यक्ष, वडाध्यक्षदेखि विभिन्न व्यक्तिले अभिभावकत्व ग्रहण गर्ने भन्दै बालबालिकालाई विद्यालय भर्ना गर्न पुर्‍याए। आर्थिक अभावका कारण विद्यालय पुग्न नसकेका बालबालिकाको पढाईको खर्च व्यहोर्ने भन्दै बालबालिकालाई विद्यालयमा भर्ना गर्नेको भीड थियो।

सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्म उच्च पदस्थ नेताहरुले अभिभावकत्व ग्रहण गरेको विषयले चर्चा पायो। ४ वर्षअघि धुमधामसँग अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना भएका कयौं बालबालिका र विद्यालयको सम्बन्ध नै टुटिसकेको छ। तामझाम सहित प्रचारप्रसार गर्दै बालबालिकाको अभिभाकत्व ग्रहण गरेका नेताहरुलाई उनीहरुले आफ्नो सन्तान मानेका बालबालिका कहाँ पुगे भन्ने अत्तोपत्तो छैन।

अभियानको क्रममा विद्यालय पुगेर भर्ना गराएपछि बालबालिकासँगै सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियान अलपत्र परेको छ। भर्ना अभियानमा बालबालिकालाई आफ्नै सन्तान बताउँदै विद्यालय पुर्‍याएका नेताहरु त्यसयता उनीहरुको खबर बुझ्न पनि पुगेका छैनन्।

२०७५ साल वैशाख ५ गते बागमती प्रदेशको तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पनि मकवानपुरका दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गरे। पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको आर्थिक अवस्था कमजोर रहेको तामाङ र सीमान्तकृत चेपाङका छोराछोरीको अभिभावकत्व ग्रहण गर्दै पौडेलले विद्यालय भर्ना गराएका थिए। पूर्व मुख्यमन्त्री पौडेलले मनहरी गाउँपालिका–६ का ६ वर्षीय सञ्जित ब्लोन र जेसिका प्रजालाई सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा १ मा भर्ना गराएका थिए।

पौडेलले त्यतिबेला ती बालबालिका आफ्ना छोराछोरी रहेको भन्दै विद्यालय पोशाक, जुत्ता, स्कुल ब्याग, पुस्तक लगायतका स्टेशनरी सामाग्री पनि खरिद गरेर दिएका थिए। विद्यार्थी भर्नापछि बोल्दै पूर्व मुख्यमन्त्री पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भीर ढंगबाट लिएको भन्दै प्रदेश सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताएका थिए।

शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट सबै बालबालिका वञ्चित हुन नहुने धारणा समेत राखेका थिए। प्रदेश सरकारले नै अभिभावकत्व लिने भनेकाे विद्यार्थी भर्ना अभियानलाई उनी आफैले पूरा गर्न सकेका छैनन्। त्यतिबेला आर्थिक अभावका कारण विद्यालय जान नपाएका बालबालिकालाई मुख्यमन्त्रीले आफ्ना छोराछोरी बनाउँदै विद्यालय भर्ना गराइ दिएपछि उनीहरुको अभिभावक पनि खुशी थिए। तर, त्यो खुशी धेरै लामो समयसम्म टिक्न सकेन।

विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर मोक्तानका अनुसार पूर्व मुख्यमन्त्री पौडेलले ती बालबालिकालाई विद्यालय भर्ना गराए पश्चात एक/दुई पटक मात्रै थप अध्ययन सामग्री उपलब्ध गराएका थिए। त्यसपछि पौडेलले न त बालबालिकालाई आवश्यक सामाग्री उपलब्ध गराए न त उनीहरुको बारेमा चासो नै राखे। ‘विद्यालयमा भर्ना गराएपछि उहाँले एक/दुई पटक उनीहरुलाई पढ्न आवश्यक सामाग्री पठाउनुभयो। एक वर्षसम्म चासो राखेको भएपनि त्यसपछि बालबालिकाको बारेमा सोधखोज नै भएको छैन’, प्रधानाध्यापक मोक्तानले भने। उनले पूर्व मुख्यमन्त्री पौडेलले बालबालिकाबारे चासो नै दिन छोडेपछि उनीहरुको पढाईको लागि आवश्यक पर्ने सामग्री विद्यालयले नै व्यवस्था गरेको बताए।

पछिल्लो समय भने उनीहरु विद्यालय नै आएका छैनन्। मोक्तानले अघिल्लो वर्षमा विद्यालय भर्ना भएर पढेको भएपनि अहिले भने उनीहरु भर्ना नभएको बताए। उनले ती बालबालिका कहाँ पुगे भन्ने जानकारी आफूहरुलाई पनि नभएको भन्दै विद्यालयले खोजी गर्ने बताए। सोही विद्यालयमा बागमती प्रदेशसभा सदस्य ओम ग्लानले पनि सुनिल चेपाङको अभिभावकत्व ग्रहण गरेका थिए। उनले पनि सुनिलको पढाईको लागि ठूलो सहयोग नगरेपनि बेला बखतमा विद्यालयमा बुझ्न भने पुग्ने गरेका छन्। प्रधानाध्यापक मोक्तानले सांसद ग्लान समय समयमा सुनिलको पढाई बुझ्न विद्यालय आउने गरेको बताए।

बागमती प्रदेशको तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पनि दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका थिए। उनले रौतहट घर भएका निराकर रायमाझी र लीलाकर रायमाझीको अभिभावकत्व ग्रहण गरेका थिए। ढुंगेलले उनीहरुलाई हेटौँडा–२ स्थित सिद्धार्थ माविमा भर्ना गराएका थिए।

उनीहरुको पढाई खर्च व्यहोर्ने भन्दै अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराएका ढुंगेलले त्यसयता ती बालबालिकाको खोजी गरेका छैनन्। मन्त्रीका छोराछोरी बनेर विद्यालय भर्ना भएका उनीहरु अहिले कहाँ छन् भन्ने कुरा विद्यालयलाई समेत थाहा नभएको विद्यालयका प्रधानाध्यापक मोहन शर्मा बताउँछन्।

‘मन्त्री ज्यूले अभिभावकत्व ग्रहण गर्छु भनेर दुई बालबालिकालाई विद्यालयमा भर्ना गराउनुभयो। तर, त्यसपछि उहाँले उनीहरुको पढाईमा खासै चासो दिनुभएन। अहिले त हामीलाई पनि उनीहरु कहाँ छन् भन्ने थाहा छैन’, उनले भने। प्रधानाध्यापक शर्माले ती बालबालिकाले अघिल्लो वर्षको परीक्षा समेत दिएका छैनन् भने अहिले भर्ना भएका छैनन्। उनीहरु कहाँ छन् भन्ने कुरा विद्यालयलाई जानकारी समेत नभएको उनी बताउँछन्।

संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि मकवानपुरको दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए। मकवानपुरका महेन्द्र किरण माविमा भर्ना गराउँदै उनले दशवीन थिङ र विश्वास थोकरको अभिभावकत्व लिएका थिए। मन्त्री खतिवडाले पनि बालबालिकाको पढाईको लागि खासै सहयोग गरेका छैनन्। तर, पनि मन्त्री खतिवडाले बेला बखतमा उनीहरुको पढाइको बारेमा भने सोध्ने गरेको विद्यालयका प्रधानाध्यापक राधालाल मण्डलले जानकारी दिए। उनले विद्यालय भर्ना गराएपछि खतिवडा एकपटक पनि ती बालबालिका भेट्न विद्यालय नपुगेको बताए। उनले भर्ना पश्चात आफ्नो सन्तान भनिएका बालबालिकाको पढाईको लागि एकपटक मात्रै खर्च पठाएका थिए। उनीहरु दुवैजना अहिले पनि विद्यालयमा अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.