|

बागलुङ : ​नौमती बाजाका लागि चर्चित बागलुङका धेरै गाउँमध्ये सिगानाको लामिचौर एक हो। बागलुङमा युवा पुस्ताको बेवास्ता र पुस्ता हस्तान्तरणको अभावमा नौमती बाजा बिस्तारै लोप हुने अवस्थामा छ। दलित समुदायको संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको त्यति चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको सन्दर्भमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड बन्दै गएको छ।

पाँच वर्षअघि बागलुङको चैते दशैं मेलामा आयोजना गरिएको नौमती बाजा प्रतियोगितामा अब्बल साबित भएपछि सिगानाको नौमती बाजा धेरैले रुचाउन थालेका थिए। माग बिस्तारै बढ्दै गएपछि यहाँका युवाहरूले समेत आम्दानीको स्रोत बनाउन नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन्। पन्चै बाजाको ठूलो रुपलाई नै नौमती बाजा हो। नौमती बाजाको सबैभन्दा जटिल बाजा भनेको सनाई हो। जस्ले सनाई बजाउन आफ्नो सास पुर्‍याउनेदेखि नयाँ पुराना गीतको लय मिलाउने काम गर्छन्। 

सिगाना लामिचौरका २१ वर्षीय लक्ष्मण नेपालीको मुख्य आम्दानीको स्रोत बनेको को छ नौमती बाजा। बाजामा उनले नयाँ तथा पुराना गीत दुरुस्तै मिलाउँछन्। उनले पुर्खाले आर्जेको पेशालाई निरन्तरता दिँदै घर खर्च चलाउन सानै उमेरमा नौमती बाजा बजाउन हिँडेको बताउँछन्। नौमतीका सबै बाजा बजाउन जानेका उनी धेरैजसो सनाई बजाउने गर्छन्।

नेपाली नयाँ तथा पुराना लोक गीतको भाकामा दुरुस्तै सनाई बजाउन जानेका लक्ष्मण नेपालीलाई धेरैले रुचाउनसमेत थालेका छन्। उनले बजाएको सनाईबाट प्रभावित बनेकाले उनलाई थोरै धेरै रकम समेत सहयोग गर्ने गरेको बताए।

‘हामीले कुनै प्रशिक्षण लिएका हैनौं, बाबुबाजे, छरछिमेकमा बजाएको सुनेर बजाउन सिकेको हुँ, तर नयाँ गीत आएपछि नाच्न आउनेले त्यही गीत बजाउन भने त्यसैले नयाँ गीत आउनासाथ सिक्नुपर्छ‚’ परियारले भने‚ ‘हामी जस्ता युवाले अन्य स्थानमा कमै मात्र नौमती बजाउने गर्छन्, हामीले नबजाए पछिल्लो पुस्तामा यो लोप हुन्छ। त्यसैले यसैबाट घरखर्च चलाउँदै पुर्खाको पेशा धान्दै आएका छौं।’

लक्ष्मण नेपाली मात्रै हैन लामिचौर नौमती बाजा समूहमा अधिकांश युवा नै आबद्ध छन्। लामिचौरका दुई समूहमा नौमती बाजा बजाउने कलाकार छन्। जसमध्ये अब्बल बनेको समूह हो सिगाना लामिचौर नौमतीबाजा समूह। नौमती बाजाको संरक्षण गर्दै पुर्ख्यौली पेशा धान्नका लागि समूह गठन गरिएको छ।

अहिले समूहको आफ्नै पोशाक छ भने नौमती समूहलाई बागलुङ जिल्लाको विभिन्न स्थान, म्याग्दी, पर्वत हुँदै पोखरासम्म माग भएको सिगाना लामिचौर नौमती बाजा समूहका अध्यक्ष बाबुराम परियारले बताए। उनले नौमती बाजा बजाउन आफूहरूले युवालाई प्रेरित गर्दै आएको बताए।

‘नौमती बाजा संरक्षण गर्नु छ भने यसैलाई आफ्नो मुख्य आम्दानीको थलो बनाउनु छ‚’ अध्यक्ष परियारले भने‚ ’हामीलाई बाजामा नरसिङ्गाको अत्यन्तै आवश्यकता छ, बाजा बनाउन अलि महङ्गो छ, त्यसैले बाजाविहीन भएकै कारण कतिले यो पेशा छोडेका छन्। स्थानीय सरकारले हामीलाई बाजाहरू सहयोग गरे अझै सहज हुन्थ्यो।’

परियारले बाजा बजाउनका लागि पोखरासम्म पुगेको र उक्त समूहले एक दिनको २० देखि ३० हजारसम्म पारिश्रमिक लिने गरेको छ।

नौमती बाजाको लामिचौरमा मात्रै पुर्खाहरूले ३६ प्रकारको सुर र तालको बाजा बजाएको इतिहास छ। अहिले यहाँका दलित समुदायले १७ प्रकारको सुर तालको बाजा बजाउने गरेका छन्। पछिल्लो समय बागलुङमा सिगानाको बाजा भनेपछि धेरैको ध्यानाकर्षण हुने गरेको छ।

हिजोआज सिगानाको नौमती बाजामा अहिले सबैभन्दा बढी माग भइरहेको लोकभाका प्रकाश सपुतको ‘पिर’ गीतको रहेको नौमती बाजा समूहका हरि परियारले बताए। 

नौमती बाजा ९ वटा बाजाहरूको सामूहिक बाजा हो। यो पञ्चेबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ। यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सनाई र दमाहा २/२ वटा हुन्छन्।

सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। ९ जना वाद्यवादक लोक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिँदै आएको छ। विवाहमा बजाइने नौमती बाजालाई विवाहको सिजनमा भ्याइनभ्याई हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.