|

म्याग्दी :  बेनी नगरपालिका- २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षकशिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित छन्।

कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ। अरुले दिए मात्र खान पाउने  नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन बिताउन बाध्य छन्।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको थियो। आमा विष्णु नेपालीले अर्कैसँग विवाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको बिचल्ली भएको हो।

त्यसैगरी, म्याग्दीको मालिका गाउँपालिका- ७ वाइन्दाफाँटका पुजन फगामीको अवस्था पनि मञ्जुको जस्तै छ।२०७८ कात्तिकमा पुजनका बुबा रिम फगामीको मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसँग बिहे गरेकी र पुजन अहिले साथीहरूको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन्।

त्यस्तै, कक्षा ४ मा अध्ययनरत सृष्टि विक बुबाआमा दुवैले अर्को विवाह गरेपछि आमा बुबा हुँदाहुँदै पनि असहाय बनेकी छिन्। मंगला गाउँपालिकाको पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता विकले अर्को विवाह गरेर अलग अलग भएपछि छोरी सृष्टिको बिचल्ली भएको हो।

यी तीन विद्यालयको असहाय प्रतिनिधि मात्र हुन्। विद्यालयमा अध्ययनरत ७७ मध्ये १४ विद्यार्थीको अवस्था अञ्जु, पुजन र सृष्टिको भन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताए।

‘विद्यालय आफैँ पनि समस्याग्रस्त छ,आन्तरिक स्रोत केही छैन। त्यसमाथि १४-१५ जना असहाय र अति विपन्न परिवारका विद्यार्थीहरू छन्। उनीहरू कहिले भोकै विद्यालयमा आउँछन्,हामीले खानेकुरा किनेर खुवाउँछौँ। कहिले विद्यालयको दिवा खाजाको भरमा ती विद्यार्थीहरूले दिन गुजार्न बाध्य हुन्छन्’, प्रअ पुनले भने, ‘उनीहरूको रुन्चे अनुहार र टिठलाग्दो पोशाक देख्दा साह्रै दुःख लाग्छ।’

‘बुबाको मृत्यु भएका, आमाले अर्कैसँग विवाह गरी गएका साथै आमा र बुबा दुवैको माया नपाएका विद्यार्थीलाई देख्दा कटक्क मन खान्छ’, शिक्षिका घनदेवी घर्तीले भनिन्, ‘कोही मनकारी व्यक्तिले आश्रय दिए वा पढाइलेखाइको खर्च व्यहोरिदिए उनीहरूको भविष्य बन्ने थियो र सहयोगीलाई पनि ठूलो पुण्य मिल्ने थियो।’

विद्यालयमा अध्ययनरत यस्ता असहाय र अति विपन्न बालबालिकाहरूलाई अध्यापनरत शिक्षक शिक्षिकाहरूले बुबाआमाको जस्तै माया दिएर पढाइरहेभएको स्थानीयले बताएका छन्। शिक्षक शिक्षिकाहरूको माया र खाजा खाना पाइने लोभमा यी विद्यार्थीहरू दैनिक रूपमा विद्यालयमा आउँछन्।

अझै दुःखको कुरा त के छ भने कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको बरण्डामा नै सुतेर रात बिताउने गरेको मञ्जु स्वयंले बताइन्। दाइ मजदुरी गर्नुपर्ने कामले कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने र उनी एक्लै हुँदा भोकै बस्नु पर्ने समस्या छ।

‘विद्यार्थीहरू भोकै हुँदाको दिन विद्यालयका शिक्षक शिक्षिकाले आफूले खाजा नखाएर भए पनि खाजामा खर्च हुने रकम ती भोका विद्यार्थीहरूलाई खानेकुरा किनेर खुवाउने गर्नुहुन्छ’, विद्यालयका एक अभिभावकले भने, ‘दुःखी,गरिब र असहायहरूलाई देश विदेशमा रहेका मनकारी व्यक्तिहरूले सहयोग गरेर त्यस्ता व्यक्तिहरूको उद्धार भएको छ,यहाँका यी असहाय बालबालिकालाई पनि कसैले सहयोग गरिदिए कति धर्म हुँदो हो।’

कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थी अध्ययनरत छन्। अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा छन्।

‘सधैँभर शिक्षक शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन, अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ’, बगरफाँट स्थायी घर भै हाल काठमाडौं बस्ने वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले भन्छन्।  अहिले तत्काल ती विद्यार्थीको व्यवस्थापनका लागि सहयोगी मन भएका व्यक्तिहरूको खोजी गरेर सहयोग जुटाउने र त्यस्ता विद्यार्थीलाई राख्नका लागि समुदाय र सहयोगी व्यक्तिहको पहलमा विद्यालयमा नै छात्रवासको व्यवस्था गर्नुपर्ने उनले बताए।

यी असहाय विद्यार्थीहलाई सहयोग गर्न चाहने व्यक्तिहरूले ९८४७६४९८६३ वा ९८६९०२००६१ मा सम्पर्क गर्नसक्ने विद्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.