काठमाडौंः राजधानीको टेकुस्थित कौसी थिएटरमा नाटक 'ऐया ! माया' मञ्चन हुने भएको छ। सुदाम सिकेको निर्देशनमा बनेको नाटक असार ७ गतेदेखि मञ्चन हुने भएको हो।
सिकेको निर्देशनमा बनेको यो चौँथो नाटक हो। यसअघि उनको निर्देशनमा 'च्यातिएको पर्दा', 'आन्दोलन' र 'पाँच' मञ्चन भइसकेका छन्। सुरुका दुई वटा नाटक यथार्थपरक शैलीमा बनेका थिए भने तीन वर्षअघि मञ्चन भएको नाटक पाँच भने शारीरिक प्रयोगात्मक नाटक हो। पाँच संवाद विहिन पहिलो नेपाली नाटक पनि हो।
'ऐया! माया'मा शरिर सँगै आवाज र संगीतमा पनि नयाँ प्रयोग गरेको बताएका छन्। यसअघि शरिरमा मात्रै प्रयोग गरेको र यसपटक अभिव्यक्तिका बलिया माध्यम शरिर, शब्द र संगीतको संयोजनमा काम गर्ने इच्छाले नाटक 'ऐया! माया' तयार भएको उनको भनाइ छ।
कुनै समस्याको समाधान र समाज रुपान्तरण होस् भनेर यो नाटक गर्न लागेको होइन। मलाई अभिव्यक्त गर्न मन लागेको कुरा यसरी भन्न खोजेको हो। उनले भनेका छन्, हामी सबै सँधै हतारमा हुन्छौँ। सँधै केही न केही पाउनको लागि दौडिरहेका हुन्छौँ। हरेक दिन ठूला ठूला घटना भइरहेका हुन्छन्। जसलाई अर्का घटनाले छायाँमा पारिरहेको हुन्छ। यो नाटकमार्फत हामीले बिर्सिरहेका कुराहरू सम्झाउन मात्र खोजेको हो।
कथा घेराको प्रस्तुती रहेको नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर शिवाकोटी र मुक्तिको अभिनय रहेको छ। संगीतमा शिवराज जोशी र शर्मिला गुरुङ रहेका छन् भने प्रकाश परिचालकको रुपमा क्षितिज रहेका छन्।
करिब दुई महिना रिहर्शल भएपछि नाटक तयार भएको हो। यतिवेला नाटकको अन्तिम चरणको काम भइरहेको छ। असार ७ देखि मञ्चन सुरु हुने नाटक असार ३२ सम्म सोमबार र मंगलबार बाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार अतिरिक्त शो दिउसो २ बजे पनि मञ्चन हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।