|

रुकुम पूर्व : रुकुमपूर्वमा भूम्या पर्वको रौनक छाएको छ। प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो। 

भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भुमे गाउँपालिकाले जेठ ३१ र आज सार्वजनिक बिदा दिएको छ। यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ। असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको छ। आज रुकुमपूर्व र रोल्पामा भूम्या पर्वकै अवसरमा सार्वजनिक बिदा छ। 

रुकुमपूर्वमा मङ्गलबार बिहानै भूम्या पर्व मनाउने युवायुवती सबै फूल टिप्न लेक उक्लिएका थिए भने साँझको समयमा उनीहरु फूल टिपेर लेकबाट ओर्लिएका छन्। पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ। भूमे पूजाअगावै मारिङ, फूलबारीलगायतका लेकमा फूल टिप्न गएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए। उनका अनुसार मङ्गलबार बिहानै लेकमा भूमि देवतालाई धारधुप गरेर फूल टिप्न आरम्भ गरेसँगै भूम्या सुरु भएको बुभिन्छ।

​भूमे–२ काँक्रीका मदन रोकाका अनुसार अर्नीपानी सगुन बोकेर लेक जानेले ल्याएको रङ्गीविरङ्गी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्ने गरिन्छ। फूल लेकाली देवताको सगुनको रूपमा टिप्ने र ग्रहण गर्ने गरिन्छ। पुजारी गाउँलेले खटाएको हुन्छ। पुजारीले लेकमा धजा, धारधुप तथा अक्षतासहित भूमि देवतासँग गाउँमा राम्रो होस् भनी बाचा कबुल गरेर लेकबाट नै शिरमा रङ्गीविरङ्गी फूल तथा मगर पोशाकमा लहरै लागेर नाच्दै गाउँ झर्छन्। पुजारीले पशुको बलि दिँदा गाउँमा महिलाले ध्वाँसो, खरानी, दशैँमा ढोकामा राखिएको टीका–जमराजस्ता घर लिपपोत गरेर निस्किएको फोहरलाई घर बाहिर फाल्दछन्। त्यसैलाई नै बल हाल्नेसमेत भन्ने गरिन्छ। बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने जनविश्वास छ।

पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ। स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ पनि भनिन्छ। आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरेको स्थानीयवासी शिखर विश्वकर्माले बताउनुभयो। यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ। विगतमा मगरले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन्। 

मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ। सोही पर्वमा जनताको सङ्ख्याको लगत राख्नेजस्ता कामसमेत गरिन्थ्यो। मगर बहुल क्षेत्रमा विशेष पर्वका रूपमा मनाइने यस पर्व रुकुमपूर्वको भूमे गाउँपालिकामा मनाइन्छ। पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि यो पर्व मनाइने गरेको पाइन्छ। 

भूम्या अवसरमा सांस्कृतिक महोत्सव 

रुकुमपूर्वको भूमे गाउँपालिकामा भूम्या पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको छ। पर्वको अवसर पारी ‘हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा, कला संस्कृतिलाई जगेर्ना गर्ने हाम्रो अभियान’ मूल नाराका साथ पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको हो। महोत्सवमा सांस्कृतिक प्रतियोगिता पनि हुने गाउँपालिकाले जनाएको छ।  

महोत्सवमा भूम्या नाच, ढोङ्गे अर्थात् नचारु नाच, मयुर नाच, पैसेरु नाच, फाँक र झोरेली नाच प्रतियोगिता सञ्चालन गरिने भएको छ। भूम्या नाचमा प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्तवना स्थान हासिल गर्नेलाई रु २० हजार पुरस्कार प्रदान गरिने छ। यसैगरी ढोङ्गे अर्थात नचारु नाचमा प्रथम हुनेलाई रु ७५ हजार, दोस्रोलाई रु ५० हजार, तेस्रोलाई रु ३० हजार र सान्तवना स्थान हासिल गर्नेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ।

यसैगरी मयुर नाच, पैसेरु नाच, फाँक नाच र झोरेली नाचमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई समेत पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.