|

पहिलोपटक धादिङबाट काठमाडौं आएका सुदामलाई गाडीले मध्यरातमा थानकोटमै छाडिदियो। त्यसपछि कलंकीको गाडी चढेका उनलाई सहचालकले जाम छ भन्दै नैकापमै ओरालिदियो। पहिलो रातमै बिरानो लागेको यो शहरमा दुई दशक बित्न लाग्दा पनि सुदाम  भिज्न सकेका छैनन्। तर, शहरलाई धेरै हदसम्म बुझेका भने छन्।

हिँडिरहनुपर्ने, चलिरहनुपर्ने, एकै ठाउँमा अडिन नसक्ने उनी डेढ दशकदेखि रंगमञ्चमा अल्झिएका छन्। तर, उनको स्वभाव भने फेरिएको छैन। रंगमञ्चमै रहे पनि उनी अभिनयमा मात्रै अल्झिन सकेनन्। उनलाई निर्देशन गर्नुपर्यो। निर्देशनमा मात्रै पनि उनको मन स्थिर छैन। लेख्नु पनि छ, संगीत पनि सिक्नुछ। आफूले गर्ने सिर्जनामा पनि एउटै शैलीमा काम गर्न उनलाई दिक्क लाग्छ। 

नेपाली रंगमञ्चमा उनको परिचय नै बुझ्न नसकिने मान्छे थियो। 'म आफैँलाई पनि त्यस्तो लाग्थ्यो। कसैले 'तँ यस्तो मान्छे होस्' भनेर भनिदिए पनि हुने जस्तो लाग्थ्यो’,उनी भन्छन्, 'तर, अहिले म अलिकति फरक छु भनेर स्वीकार गरिसकेको छु। 

यो बिचमा उनले म्याड म्यान्स डायरी, कोर्ट मार्शल, एकलब्यज लास्ट टेप, हरेक बबाल कुरा लगायत २५ भन्दा बढी नाटक रेड मनसुन, होस्टेल रिटर्न्स, टलकजंग भर्सेस टुल्के, पुरानो डुंगालगायत फिल्ममा अभिनय गरेका छन्। च्यातिएको पर्दा, आन्दोलन र पाँच उनको निर्देशनमा मञ्चन भइसकेका नाटक हुन्। उनको निर्देशन रहेकाे चौथो नाटक 'ऐया माया' मञ्चनको तयारीमा छ। 

उनै रंगकर्मी सुदाम सिकेका अनुभूति, उनकै शब्दमा–

नाटक मञ्चनको मिति नजिकिँदै गर्दा..

यो यात्रा 'म एउटा नाटक बनाउन चाहन्छु' बाट सुरु भएको हो। आफैसँग सम्बन्धित, आफ्नै अभिव्यक्ति भए पनि मञ्चनको मिति नजिकिँदै गर्दा हामीले कसैको लागि बनाएका हौँ, अहिलेसम्म जे बनायौँ त्यो हेर्न कोही आउँदैछ भन्ने भइरहेको हुन्छ।

यति धेरै कलाकारले समय दिएको छ, दर्शक आफ्नो समय र पैसा खर्च गरेर नाटक हेर्न आउनुहुन्छ, नाटकलाई कसरी लिनुहुन्छ होला, मैले भन्न खोजेको कुरामा कतै सम्झौता गरेँ कि, कहीँ चुकेँ कि?, बर्खा सुरु भयो, नाटकले खाजाको पैसा, कलाकारलाई दिने पैसा उठाउला कि नउठाउला? यस्तै यस्तै कुरा दिमागमा खेलिरहेको हुन्छ। 

तर, जसरी केही नभईकन हामीले नाटक बनाउन सुरु गर्यौँ, यहीँ भेटिएका चिजहरू समेट्दै एउटा कथा बुन्यौँ। नाटक तयार भयो यो 'क्रिएटिभ प्रोसेस' मेरा लागि सबैभन्दा महत्त्वपूर्ण र रमाइलो कुरा हो, जुन बाहिर देखिँदैन। 

अभिव्यक्ति र परिचय
२५/३० वटा नाटकमा अभिनय गरेँ। चार वटा नाटक निर्देशन गरेँ। तर अभिव्यक्तिका हिसाबले अभिनय गरेका सबै नाटकबाट भन्दा निर्देशन गरेका नाटकबाट म अभिव्यक्त भएको छु। त्यसमा पनि सबैभन्दा बढी पाँच र यो नाटकबाट। 

'पाँच'ले मेरो एउटा परिचय पनि बनायो। शरीरलाई नै भाषाको रूपमा प्रयोग गरेको यो पहिलो नाटक थियो। तर त्यो ‘युनिक आइडेन्टिटी’लाई सधैँ 'क्यारी' गर्नुपर्छ भन्ने म मान्दिनँ। कसैको अपेक्षा जिम्मेवारीको रूपमा जोडियो भने काम गर्न गाह्रो हुन्छ। 

मान्छेले अपेक्षा गर्छन्। अपेक्षा डाउन भएपछि अर्को पटकदेखि अपेक्षा नै गर्दैनन्। त्यसो भयो भने काम गर्न अलि सजिलो पनि हुन्छ। मेरो काम कसैको अपेक्षा अनुसार सिर्जना गर्नु भन्दा पनि आफूलाई राम्रोसँग अभिव्यक्त गर्नु हो। 

आजकल एउटा सर्जकले उत्कृष्ट सिर्जना गर्नुपर्छ नत्र ऊ सर्जक नै होइन भन्ने खालको 'प्रेसर' बन्ने गरेको देखिन्छ। तर, त्यस्तो हुनु हुँदैन। प्रेसर आउँछ भने पनि लिनु हुँदैन। एउटा सर्जकले ढुक्कसँग सिर्जना गर्न पाउनुपर्छ। गर्नुपर्छ।

शरीर र सुदाम 

म आफूलाई शब्दमा अभिव्यक्त गर्न सक्दिनँ। कतिपय अवस्थामा मेरो भावना के हो, त्यसलाई शब्दमा कसरी भन्ने पनि थाहा हुँदैन। संगीत मैले जानेको छैन। अभिनय गरेर अर्को क्यारेक्टरबाट कति अभिव्यक्त  गरौँ। तर मलाई केही अभिव्यक्त गर्न चाहिँ छ। 

म कसरी राम्रोसँग पोखिन सक्छु त? कुन शैलीबाट म आफूलाई बढी अभिव्यक्त गर्न सक्छु त? भनेर खोज्ने क्रममा मैले शरिरलाई आफ्नो माध्यमको रूपमा भेटेको हो। 

यो अमूर्त छ। सानो 'मुभमेन्ट'ले पनि कहाँ पुर्‍याइदिन सक्छ। यत्तिकै मुभमेन्ट मात्र भयो भने त्यो डान्स जस्तो मात्र देखिन सक्छ कुनै अर्थ नदिन पनि सक्छ। तर यदि तपाईँ आफ्नो शरीरबाट केही अभिव्यक्त गरिरहेको छु भनेर सोच्दै हुनुहुन्छ, केही अभिव्यक्त गर्न खोज्दै हुनुहुन्छ भने अभिव्यक्त हुन्छ।

गुजुल्टिएको धागोलाई मिलाउन गाह्रो हुन्छ तर मिलिराखेको छ भने सजिलै निकाल्न सकिन्छ। धेरै कुरा गुजुल्टिएको धागोजस्तै भएर बसेको छ। अहिलेसम्मको यात्रा त्यसैलाई मिलाएर निकाल्ने प्रयास हो अहिलेसम्मको यात्रा।

 शरीर, शब्द र संगीत
लामो समय भयो अब नाटक बनाउनुपर्छ भनेर म नाटक बनाउँदिनँ। मलाई नाटक बनाउन मन लाग्यो भने बनाउँछु मन लागेन भने बनाउँदिनँ। अहिले मैले पनि नाटक बनाउनेबारे सोच्दै थिएँ तर के बनाउने भन्ने थाहा थिएन। 

यति धेरै 'इस्यु' छ। यति धेरै घटना, दुर्घटना छ। यति धेरै कथा छ, देखाउनका लागि।  एउटा भने अर्को छुट्छ। अर्को भने अर्को छुट्छ। एकापट्टि आफ्नो हुन्छ।त्यसैले मलाई थोरैमा धेरै कुरा भन्नुपर्छ।

एउटा शब्दले मात्रै पनि धेरै माने राख्छ भने बिना शब्दको हाउभाउले त त्यो भन्दा धेरै माने राख्छ। यो फर्मले मलाई आकर्षित गर्नुको एउटा मुख्य कारण यो हो कि यसले एकै पटक धेरै कुरा बोल्न सक्छ। 

अघिल्लो नाटकमा विना संवाद शरिरमा प्रयोग गरेको थिएँ। यसपटक मलाई शब्द र संगीतसँग पनि खेल्नु थियो। मान्छे कुनै एउटा कुरामा 'स्टक' हुन जरुरी छैन। अघिल्लो पटक शरीर मात्रै गरेँ अहिले शरीरसँगै शब्द अनि अलिकति 'म्युजिक' पनि भयो। यो आफ्नै क्राफ्टलाई पोलिस गरिराखेको, अर्को कामको लागि आफूलाई प्रिपियर गरेको पनि हो। सबै सिकाइकै एउटा प्रोसेस हो।

लाइफलेस लाइफ 

ट्राफिकलाई मन लागेको वेला बाटोमा यत्तिकै बसेर लाइसेन्स चेक गर्छ। किन चेक गर्छ? जरुरी छ?  ट्राफिकलाई थाहा छ, सरकारले लाइसेन्स दिन सकेको छैन। लाइसेन्स मात्रै होइन सबै चेक गर्छ। हामीले सोध्न पनि पाइँदैन, किन चेक गर्दै हुनुहुन्छ। यत्तिकै को मान्छे अपराधी हुन्छ?

हामीले यो सबै कुरालाई सामान्यीकरण गर्‍यौँ। लामो समयदेखि कोही अपहेलित भएको छ भने उसको मानसिकता नै अपहेलित नै हुन्छ। कसैले अपहेलनाबाट 'रेस्पेक्ट'मा लग्यो भने यो के गरेको भन्ने हुन्छ, 'कन्फ्युज' हुन्छ। मेरो जीवन यस्तै हो भन्ने बनाइन्छ। 

हामीले आधारभूत आवश्यकता पनि पाइरहेका छैनौँ। शिक्षा, स्वास्थ्य र खानेकुरा पाइएको छैन। ढुक्कसँग हिँड्न पाइरहेका छैनौँ। किन भइरहेको छ भनेर सोच्ने फुर्सद पनि छैन। हामीलाई यस्तै त हो नि भन्ने भइसकेको छ।

माओवादी द्वन्द्व भयो। भूकम्पले त्यत्रो मान्छे मरे।दुधे बालिकादेखि वृद्धासम्म बलात्कृत भएको समाचार सुनिन्छ। एउटा 'स्याड रियाक्ट' गर्यो, सकियो। एउटा केस अलिकति चर्को हुन्छ। मान्छेहरू आन्दोलन गर्न सडकमा जान्छन्। भोलिपल्टदेखि सकियो। उसले न्याय पायो कि पाएन पनि थाहा छैन। 

घर बनिरा'छ, सडक बनिरा'छ, विकास भइरा'छ भनेर बसिरहेका छौँ। तर आफू भने ‘लाइफलेस लाइफ’ जस्तो जीवन बाँचिरहेका छौँ। 

कोही मान्छे काम गरिरहेको छ भने ‘कन्ट्री’लाई ‘कन्ट्रिब्युट’ गरिरहेको छ। ‘सिभिल सर्भिस’ नै किन हुनुपर्‍यो ? हामीले कर तिरिरहेका छौँ भने केही त आउनुपर्‍यो नि बदलामा। छैन। अनि हामीलाई आउनुपर्छ भन्ने अपेक्षा पनि छैन। 

यो सबै देखिरहेको छु। तर गर्न केही सक्दिनँ। एक्लै कहाँ गएर चिच्याएर के हुन्छ? 'लिडरसिप' गरेर केही परिवर्तन गरौँ भन्ने छैन। मेरो लागि बोल्ने ठाउँ, कसैलाई 'इम्प्याक्ट' पार्न चाहन्छु भने मेरो माध्यम भनेको यही हो। यसले गर्न सक्ला, नसक्ला अर्को कुरा भयो तर मैले जानेको मैले गर्न सक्ने यहीँबाट हो। 

सुरुमा ठ्याक्कै यही बनाउने भनेर थाहा थिएन तर बन्दै जाँदा यो राजनीतिक सामाजिक नाटक बनेको छ। म कहीँ न कहीँ जोडिइराखेको छु अनि मेरो सिर्जनामा कहीँ न कहीँ त्यो आउँदो रहेछ। 'इन्टेन्सन' नहुँदा नहुँदै पनि पोखिँदो रहेछ।

चाउचाउ बाँडेर साथी
मेरो बाल्यकाल एक्लो बित्यो। पहिलो कुरो त बाल्यकाल नै भएन। म बच्चा थिएँ तर बाल्यकाल थिएन। घरमा आमा, दिदी त हुनुहुन्थ्यो तर साथी कोही थिएन। घरमा पनि, स्कुल जाँदा पनि, फर्किँदा पनि, स्कुलमै पनि एक्लै। मलाई साथी बनाउन पनि आएन। 

एक पटक कोशिस गरेँ। एक साथी चाउचाउ खाने भनेर 'डिस्कस' गर्दै थियो। मलाई चाउचाउ दिएर साथी बन्ने होइछ कि भनेर चाउचाउ बाँडेर खाएँ। एक वर्ष राम्रो साथी पनि भइयो। ट्युसन पढ्न जाने कुरा हुँदै थियो। मलाई घरबाट जान दिनुभएन। साथीहरू गए। म जान चाहिनँ भनेर उनीहरू भनेर बिच्के। त्यसपछि हामी साथी रहेनौँ। 

अलि ठूलो भएपछि एउटा गाउँमा बनेका छुट्टाछुट्टै समूहलाई जोड्ने प्रयास गरेँ। साल्बास टोल, गैह्री गाउँ, बेसी गाउँ, राना गाउँमा छुट्टाछुट्टै समूह थिए। हिँडेर १०, १५ मिनेट मै पुगिने टोलमा यति धेरै समूह किन चाहियो? 'ठूलो अनि बलिया एउटा समूह बनाऊँ' भनेर मैले प्रस्ताव राखेँ। समूह त जोडिएनन् म आफू भइरहेको समूहबाट पनि निकालिएँ। मान्छेका केही स्वभाव मैले कहिल्यै बुझ्नै सकिनँ। 

काठमाडौं आएपछि पनि लामो समय कोही साथी भएन। जोडिन आउनेहरू आए, जानेहरू गए। जानेलाई 'नजाऊ' पनि भन्न आउँदैन। जोडिन आउनेलाई 'किन आयौ' पनि छैन। 

के लाउने? के खाने?

म अहिले जस्तो छु १६ वर्षे गाउँको बसाइले गर्दा नै हो। अथवा म सधैँ त्यस्तै नै थिएँ कि? मलाई थाहा छैन। कहिलेकाहीँ 'खेल्न जाउँ?' भनेर सोध्थेँ। आमाले दिनुहुन्थेन। नदिएपछि सकियो। कहिल्यै झगडा गरिनँ। कुनै कुरामा जबरजस्ती गरिनँ। खेल्न जान्छु कि जान्छु पनि भनेको छैन। यो चाहियो कि चाहियो पनि भनेको छैन। 

आजसम्म कुन टिसर्ट लगाउने पनि थाहा छैन। कस्तो पाइन्ट लगाउने पनि थाहा छैन। यही खाने भन्ने पनि छैन। जानु छ कहाँ जानु पनि थाहा छैन तर हिँड्नु छ। जे छ लगायो। के छ खायो। हिँड्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.