|

खोटाङ : खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले वडाको सेवा तीन ठाउँबाट पाउन थालेका छन्। भूगोल ठूलो भएकाले वडा कार्यालयसम्म पुग्न नागरिकलाई सास्ती भएपछि तीन ठाउँबाट वडाको सेवा दिन थालिएको हो।

भोर्लेनी, धारापानीका नागरिकलाई वडा कार्यालयसम्म आउन ४ घण्टासम्म लाग्ने गरेको छ। त्यसैले सो क्षेत्रका नागरिकको समस्यालाई मद्देनजर गर्दै हप्ताको सोमबार​ भोर्लेनी गाउँघर क्लिनिकबाट र बुधबार धारापानी स्वास्थ्य एकाइको भवनबाट सेवा दिन शुरु गरिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताए।

पाण्डेले भने, ‘देशमा संघीयता आएको छ, अब गाउँगाउँमा सिंहदरबार भनिएको छ तर वडा कार्यालयको सेवा लिन ४ घण्टा बाटो हिँड्नुपर्थ्यो । त्यसैले नागरिकलाई संघीयताको प्रत्याभूति दिलाउन हामीले हप्ताको १/१ दिन गरेर दुई दिन भोर्लेनी र धारापानीबाट वडाको सेवा दिन थालेका छौँ।’ 

घरनजिकै वडा कार्यालयबाट पाउने सम्पूर्ण सेवा पाउन थालेपछि त्यस क्षेत्रका नागरिक पनि हर्षित छन्। उनीहरू भन्छन्‚ ‘बल्ल हामीले सिंहदरबार गाउँमै आएको महसुस गरेका छौँ।’ डुम्रेधारापानीले त्यस क्षेत्रका नागरिकको स्वास्थ्य समस्यालाई मद्देनजर गर्दै धारापानीमा स्वास्थ्य एकाइ पनि सञ्चालनमा ल्याएर सेवा दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.