|

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ।

समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो।

समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो। तर प्रधानमन्त्री देउवाले अन्तिम समयमा आएर मात्रै आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरूले विभिन्न टिप्पणी गरेका थिए। बैठकले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्। उनले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय अभ्यासमा उचित नदेखिएको ध्यानाकर्षण पनि गराएको बताइन्।

उनले भने‚ ‘अमेरिका भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि सम्माननीय प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा उहाँले अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनु भयो। प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरियो। अनुपस्थित हुने कुरा हाम्रो अभ्यासमा उचित नदेखिएको कुरालाई ध्यानाकर्षण गराउँदछु।’ 

अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलका सांसदले विभिन्न प्रश्न उठाएका थिए भने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीको व्यस्तताका कारण आउन नसकेको बताएका थिए। लामो छलफलपछि गरिएको समितिको निर्णयमा समेत सत्तारुढ दलका सांसदले असहमति जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.