|

काठमाडौं :  बाराका अनिलकुमार यादव आइतबार बिहान वैदेशिक रोजगार विभागमा आइपुगे।  विदेश पठाइदिन्छु भन्दै ठगी म्यानपावरले​ लिएको पैसा उठाइदिन अनुनय–विनय गर्दै उनी विभागको ढोकामा पुगेका हुन्।

विश्वभर कोरोना महामारी फैलियो। काठमाडौंको एउटा पसलमा गर्दै आएको काम खोसियो। बिहान बेलुकाको छाक टार्न समस्या भएसँगै उनी विदेश जाने सोच बनाएका थिए।  न विदेश जानका लागि आवश्यक पैसा थियो, न कसरी प्रक्रियामा जाने भन्ने जानकारी नै थियो।  बल्ल बल्ल गाउँका साहुसँग रिनपान गरे। त्यो पैसा पनि काठमाडौंको म्यानपावरले खाइदियो।

सम्पतिको नाममा अहिले उनीसँग ज्यान बाहेक केही छैन। घर जग्गा धितो राखेर गाउँमा साहुसँग लिएको  दुई लाख ऋण  तिर्नसक्ने अवस्था पनि छैन। ‘विदेशबाट कमाएर आएर तिर्ने सोचले ऋण लिएँ। अहिले त्यसैले पोलेको छ’, उनको भनाइ उद्धृत गर्दै विभागका एक कर्मचारीले भने, ‘म्यानपावरले खाएको पैसा नउठे गाउँ नपर्की यतै मरे पनि हुन्छ।’    

यादवले कतारमा लेबरमा काम गर्नका लागि म्यानपावरलाई दुई लाख तिरेका थिए। एक महिनामा विदेश उडाइदिने भनेको काठमाडौंको 'वर्क फोर्स' नामक म्यानपावरले पैसा त असुल्यो, विदेश पठाएन।

सरकारले वैदेशिक रोजगारका लागि ‘फ्रि भिसा’, ‘फ्रि  टिकट’ लागू गरी शुल्क निर्धारण गरेको छ। तर रोजगारीको खोजीमा विदेशिनेमध्ये कमैलाई मात्र यो विषयमा जानकारी छ। यसैले धेरै युवा ठगीमा परेका छन्।

देशमा रोजगार नपाएपछि विदेश जान लागेका सिन्धुपाल्चोकका हरिबहादुर थापा पनि ठगिए। ठगिएको पैसा उठ्ने झिनो आशाका साथ उनी विभाग धाइरहेका छन्।

नेपालमा राम्रो रोजगार नपाएपछि थापाले २०७५ सालमा वैदेशिक रोजगारीमा जाने सोच गरेका थिए। छिमेकीले पोल्याण्डबाट कामको राम्रो अवसर आएकाले त्यहाँ जान सल्लाह दिए। छिमेकीले सम्पूर्ण प्रक्रिया आफैँ गरिदिने आश्वासन दिए। वैदेशिक रोजगारीमा राम्रो कमाउने सोचले  उनी पोल्याण्ड जान तयार भए। ‘विदेश जान चाहिने सम्पूर्ण पैसा आफूसँग थिएन’, थापाले भने, ‘आफन्तसँग ऋण गरेर ८ लाख रुपैयाँ पोल्याण्ड जानका लागि बुझाएँ।’

पैसा बझाएको तीन वर्ष भयो। न त उनी विदेश जान पाए। न त तिरेको पैसा नै फिर्ता भयो। ‘एकातिर विदेश गएर पैसा कमाउने सपना चकनाचुर भयो, अर्कातिर आफन्तसँग  लिएको पैसा तिर्न सक्ने अवस्था छैन’, उनी भन्छन्, ‘यतिबेला म घर न घाटको अवस्थामा छु। अब थप पैसा खर्च गरेर अन्य देश जानसक्ने अवस्था पनि छैन। देशमा बसेर त्यति धेरै ऋण कसरी तिर्नु?’

थापाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीत कार्य भएको हुँदा ऐनको दफा ४३ बमोजिम  उनका छिमेकी दाइ यादव थापाले आफूले तिरेको पैसा फिर्ता गरी कानुनबमोजिम कारबाहीका लागि विभागमा उजुरी दिएको दुई वर्ष बित्यो। तर, कारबाही भएको छैन।

फ्रि भिसा फ्रि टिकट,गुनासो आउँछ,उजुरी आउँदैन

सरकारले  वैदेशिक रोजगारीमा जाने नेपालीलाई सहज बनाउने भन्दै २०७५ सालमा फ्रि भिसा फ्रि टिकट लागू गरेको थियो।  वैदेशिक रोजगारीमा जान १० हजार शुल्क तोकेको थियो। तर,अहिले वैदेशिक रोजगारीमा जाने नेपालीले सरकारले तोकेको शुल्कमा  विदेश उड्न पाएका छैनन्। म्यानपावर व्यवसायीले खाडी मुलुकका लागि दुई लाख रुपैयाँसम्म  असुल्ने गरेका छन्।

यता वैदेशिक रोजगारीमा ठगिएको गुनासो विभिन्न माध्यमबाट आउने गरे पनि विभागमा उजुरी नआएको विभागले जनाएको छ।

बढी शुल्क तिर्नु पर्याे भन्ने उजुरी आएको छैन। विभागका सूचना अधिकारी भुसालले भने,‘बढी पैसा तिरेको उजुरी आउँदैन। पैसा तिरेर विदेश जान नपाएको र भने अनुसारको काम नभएको उजुरी आउँछ।’  यसरी ठगीमा पर्नेले उजुरी नगर्दा पीडकले उन्मुक्ति पाएको उनको भनाइ छ। सरकारले  नीति ल्याउने तर त्यसको प्रभावकारी अनुगमन नगर्दा नेपाली कामदार समस्यामा पर्ने गरेको वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ बताउँछन्।

कुन आर्थिक वर्षमा कति उजुरी?

चालू आर्थिक वर्षको ९ महिनामा विदेश पठाइदिने बहानामा ठगिएका ८३१ उजुरी दर्ता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार ०७७/७८ मा रोजगारीका नाममा ठगिएका ३४९ वटा संस्थागत (म्यानपावर) र व्यक्तिगत ४ सय ३१ वटा उजुरी विभागमा परेका छन्। सोही समयमा १०५ वटा ठगीका मुद्दा अदालतमा दर्ता भएको विभागले जनाएको छ।

२०७६/७७ मा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत र संस्थागत गरी दुई हजार तीनवटा उजुरी विभागमा परेका थिए। २०७५/७६ मा व्यक्तिगत र संस्थागत गरी दुई हजार ३९ वटा उजुरी रोजगार पीडितले दर्ता गरेका छन्।

आर्थिक २०७४/७५ मा २ हजार १२९ वटा उजुरी विभागमा परेको थियो। यसमध्ये एक हजार २८ वटा मुद्दा फर्छ्योट गरेको विभागले जनाएको छ।

यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा दुई हजार ३८३ वटा मुद्दा परेकोमा ८८७ वटा उजुरी फर्छ्योट भएका थिए। यस्तै, आर्थिक वर्ष २०७२/७३ मा २ हजार १ ७२ वटा उजुरी विभागमा दर्ता भएको थियो। जसमध्ये ५२० वटा उजुरी मात्र फर्छ्योट भएको विभागले जनाएको छ।

उस्तै छ कन्सल्टेन्सीको ठगी

गत वैशाखमा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने दुईवटा कन्सल्टेन्सी (शैक्षिक परामर्शदाता) र एक व्यक्तिविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको थियो।  विभागले सवा सात करोड बिगो दाबीसहितको इन्टरनेसनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्राइभेट कम्पनी, जिनियस एजुकेसन एण्ड कन्सल्टेन्सी, कास्कीका सदीक्षा गुरुङ र खिनशोभा गुरुङलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो।

‘उच्चशिक्षाका लागि विदेश जान लागेका विद्यार्थीलाई ठगी गरेको उजुरी आएसँगै  विभागले छानबिन सुरु गरेको थियो', विभागका महानिर्देशक शेषनारायण पौडेल भन्छन्, ‘तर सञ्चालक नेपाल बाहिर बसेर यहाँ धन्दा चलाउँदै आएको पत्ता लागेको छ।'

केही वर्षयता वैदेशिक रोजगारी र उच्चशिक्षाका लागि जानेलाई विभिन्न व्यक्ति तथा संस्थाले  विभिन्न प्रलोभन देखाइ ठगी गर्ने गरेको पाइएको छ।  

एक दर्जनभन्दा बढी उजुरी

इजाजत नलिई सञ्चालन भएका कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको एक दर्जनभन्दा बढी उजुरी दर्ता भएको विभागले जनाएको छ। यसअघि व्यक्तिगत र म्यानपावरले ठगी गरेको उजुरी पर्ने गरे पनि पछिल्लोपटक कन्सल्टेन्सीले ठगी गरेको उजुरी पर्न थालेको  पौडेल बताउँछन्। कन्सल्टेन्सी शिक्षा मन्त्रालयसँग अनुमति लिएर सञ्चालन भएको हुन्छ।

ठगीविरुद्ध उजुरी कहाँ गर्ने भन्ने विषयमा पीडित अन्योलमा पर्ने  गरेका छन्। वैदेशिक रोजगार ऐनको दफा १० र ४३ अनुसार विभागले कारबाही गर्न सक्ने व्यवस्था रहेको पौडेलको भनाइ छ। ठगी बढेसँगै विभागले प्रहरीको समन्वयमा अनुसन्धान शाखा सञ्चालन गरेको छ। यस्तो उजुरी आकर्षित हुने हुँदा विभागले कारबाही गर्न सक्ने महानिर्देशक पौडेलले बताए।

विभागले नेपाल प्रहरीसँगको समन्वयमा उजुरी लिएको छ, जसमा परेको उजुरी विभाग र प्रहरीले अनुसन्धान गर्नेछ। हालसम्म एक दर्जनभन्दा बढी उजुरी परेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.