|

एशियाकप छनोटमा खराब प्रदर्शन गरेको नेपालको फिफा वरीयता समेत एकैपटक ८ स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल १७६ औं स्थानमा पुगेको हो।

बिहीबार सार्वजनिक गरिएको नयाँ वरीयतामा नेपालको वरीयता कमजोर बन्यो। अघिल्लो वरीयतामा नेपाल १६८ औं स्थानमा रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ।

नेपाल भारत र माल्दिभ्सभन्दा पछि रहे पनि अन्य दक्षिण एशियाली राष्ट्रभन्दा अघि रहेको छ।  भारत १०४ औं स्थानमा रहँदा माल्दिभ्स १५६ औं स्थानमा रहेको छ। नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्।

नेपालपछि दक्षिण एशियामा भुटान १८६ औं स्थानमा रहँदा बंगलादेश १९२ औं तथा पाकिस्तान १९६ औं र श्रीलंका २०७ औं स्थानमा रहेका छन्।

फिफा वरीयतामा नम्बर एकमा ब्राजिल रहेको छ। त्यस्तै दोस्रो नम्बरमा बेल्जियम तेस्रो नम्बरमा अर्जेन्टिना रहँदा चौथोमा फ्रान्स र पाँचौँमा इङल्यान्ड रहेका छन्।

अर्जेन्टिनाले वरीयतामा एक स्थान सुधार गरेको हो। त्यस्तै स्पेन छैटौँमा, इटाली सातौँ,  नेदरल्याण्ड्स आठौँ,  पोर्चुगल नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.