|

बैतडी : बैतडीको पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन्। पाटनले अगामी आर्थिक वर्ष २०७९।०८० लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता राखेर पाटनले नीति तथा कार्यक्रम ल्याएको छ।

कृषि उपजको बजारीकरणका लागि कोल्ड स्टोर निर्माण गरिने, महिनाको १ पटक हाटबजार लगाइने र कृषकहरूलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषिजन्य यन्त्र प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै शिक्षातर्फ अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने, नगरप्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, निजी शिक्षक र बालविकास शिक्षकहरूको अनुदानमा वृद्धि गर्ने, प्रत्येक विद्यालयमा योग शिक्षा लागू गर्ने बताइएको छ।

एक वडा एक मिनी नमुना विद्यालय कार्यक्रम लागू गर्ने, कक्षा १ देखि ८ सम्म नैतिक शिक्षा पाठ्यपुस्तकमा समावेश गरिने, टुहुरा जेहेन्दार, सहिद तथा बेपत्ता तथा घाइते परिवारका छोराछोरीलाई स्टेशनरी सामग्री र छात्रवृत्तिको व्यवस्था गरिने कार्यक्रम समेटिएका छन्। पूर्वाधारतर्फ बाह्रैमास चल्न सक्ने किसिमका बनाउन ग्रामीण सडकलाई प्राथमिकतामा दिइएको छ।

फोहोरमैला व्यवस्थापन केन्द्र, नमुना शहरको कार्यक्रमलाई तीव्रता दिइनेदेखि खानेपानी र विद्युत्‌लाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

भौगोलिक कठिनाइ र विद्यार्थी संख्याको अनुपातलाई हेरेर विद्यालय समायोजन तथा तहगत वृद्धि गर्ने पनि उल्लेख छ। वडाहरूमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने, आगामी ३ वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

धार्मिक तथा सांस्कृतिक विकासका लागि पनि मठमन्दिरको भौतिक विकासका कार्यक्रम पनि लागू गरिने उल्लेख छ। स्वरोजगार कार्यक्रमका लागि सीप विकासका तालिम पनि आयोजना गर्ने उल्लेख छ। सुशासनका क्षेत्रमा पनि विभिन्न कार्यक्रम अघि सारिएका छन्।

कर्मचारीको स्तरोन्नतिका लागि पहल गरिने‚ नगरपालिकाका उत्कृष्ट ३ जना कर्मचारीलाई सम्मान गर्ने र कर्तव्य पालना नगर्ने कर्मचारीलाई दण्डित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट सिलिङ पनि सार्वजनिक गरेको छ। ६४ करोड ४ लाख १८ हजार रुपैयाँ बराबरको बजेट सिलिङ सार्वजनिक गरेको हो। 

दोगडाकेदार गाउँपालिकाले साढे ६४ करोड बजेट ल्याएको छ। आजको गाउँसभाबाट उपाध्यक्ष पार्वती कार्कीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। उनले आगामी आर्थिक वर्षका लागि ६४ करोड ६२ लाख ८२ हजार बजेट छुट्याएको बताइन्।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य, युवा स्वरोजगार लगायतका कार्यक्रमलाई प्राथमिकता दिएको बताइन्। मुख्यगरी बाँझो जमिनलाई सदुपयोग गरी उत्पादनमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

शिक्षातर्फ पनि उच्च शिक्षा अध्ययन गर्ने दलित महिलालाई छात्रवृत्तिको व्यवस्था गरिने जनाइएको छ।

यसैगरी दोगडाकेदार-७ चडेपानीमा रहेको लवलेक खेलमैदानलाई भागरथी खेलमैदान नामकरण गरिने उल्लेख छ। उक्त खेलमैदान निर्माणाधीन छ।

यसैगरी असक्त, अनाथ, असहाय र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी दोगडाकेदारमा १ व्यक्ति २ बोट, १ गाउँ एक नर्सरी कार्यक्रम पनि अगाडि बढाइने उल्लेख छ। शिक्षातर्फकै हेलो दोगडाकेदार हामी विद्यार्थी कार्यक्रम पनि लागू गरिने नीति तथा कार्यक्रममा समावेश गरिएका छन्।

पर्यटन क्षेत्रहरूको प्रवर्धन गरिने र युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाइएको छ। देउलेक केदारलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्ने, निजी सहकारी र सरकारी लगानीमा साबुन उद्योग स्थापना गर्ने, एक वडा एक चक्रपथ रोड, एक टोल एक सडक र एक घर एक धारा, प्रत्येक टोलमा पिसिसिबाटो निर्माण र नमुना कृषकलाई पुरस्कारको व्यवस्था पनि कार्यक्रममा समेटिएका छन्।

सुर्नयाले ४३ करोड २७ लाखको बजेट ल्याएको छ। गाउँपालिकाले शुक्रबार गाउँसभा आयोजना गरेर आर्थिक वर्ष २०७९।८० लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४३ करोड २७ लाख ३४ हजार बजेट गाउँसभामा पेश गरेकी छिन्।

गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा कृषितर्फ युवा रोजगार, आर्थिक समृद्धिका लागि सुर्नया सरकार कार्यक्रम सञ्चालन गरिने, यस्तै उत्पादनलाई बढावा दिन सिँचाइ नपुगेका ठाउँमा सिँचाइको व्यवस्था गरिने, बाँझो जग्गाको एकीकृत तथ्यांक संकलन गरिने, कृषिपकेट क्षेत्रमा उत्पादन भएका कृषि उपजलाई संकलन केन्द्र स्थापन गरी बजारीकरणको व्यवस्था गरिने, हरियाली स्वच्छता कार्यक्रम अन्तर्गत एक घर पाँच फलफूलका विरुवा रोपण कार्यक्रम लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै गाउँपालिकामा विद्युत् महसुल भुक्तानी केन्द्र स्थापना गरिने, विद्युतीकरण गरी अँध्यारोमुक्त सुर्नया गाउँपालिका बनाउने कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

यस्तै शिक्षा क्षेत्रका लागि हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई अनुदान दिइने, कार्यविधि बनाएर सामुदायिक विद्यालय समायोजन गरिने, विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था गरिने विद्यालयस्तरिय स्वास्थ्य सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएका छन्।

शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.